२०८१ मंसीर २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालको निर्देशकमा सत्ता साझेदारका दुवै उम्मेदवार विवादित भएपछि तेस्रो व्यक्ति खोजिदैं

गंगालालको निर्देशकमा सत्ता साझेदारका दुवै उम्मेदवार विवादित भएपछि तेस्रो व्यक्ति खोजिदैं


काठमाडौं—शहीद गंगालाल हृदयरोग केन्द्रको निर्देशक पद शुक्रबारबाट खाली भएसँगै नयाँ निर्देशकका लागि दौड सुरु भएको छ । ६ पुसमा निवर्तमान निर्देशक डा. चन्द्रमणि अधिकारीको चार वर्षे कार्यकाल सकिएसँगै निर्देशका लागि सत्ता साझेदार दल नेकपा माओवादी र नेपाली कांग्रेस निकट चिकित्सकहरु दौडमा लागेका छन् ।

डा. अधिकारीको कार्यकाल सकिएकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कसको नाम सिफारिस गर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. विकास देवकोटा लामो समय छलफलमा बसेका थिए । लामो छलफल चलेपनि कसलाई निर्देशकमा सिफारिस गर्ने भन्ने टुंगो भने लागेन । त्यही कारण बैठक सकिनासाथ दुई चिकित्सकको सिफारिस गर्ने भन्दैं मिडियामा ‘ट्रायल’ गरिएको थियो ।

‘मिडिया ट्रायल’ गर्नुको कारण दुवै चिकित्सक उमेर हद बढाइएका कारण विवादमा तानिएकाहरु थिए । उनीहरुको दुवै जनाको मुद्धा अहिले पनि सर्वोच्चमा विचाराधीन छ । त्यही कारण मन्त्रालयले उनीहरुको नाममा एक पटक ‘मिडिया ट्रायल’ गरेको थियो ।

गंगालालको निर्देशकका लागि नेपाली कांग्रेस नेतृ आरजु राणाका भाइ भूषण राणाका साथी डा. रवि मल्ललाई निर्देशक बनाउन माथिल्लो तहबाट दबाब आएतापनि उनी आफैले नमानेको स्रोतको दावी छ । नेकपा माओवादीका नेताहरु भने डा. अरुण मास्केलाई निर्देशक बनाउन लागिरहेका छन् । माओवादी नेता तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट मानिएका डा. मास्के यसअघि माओवादीकै पालामा चार वर्षका लागि निर्देशक भएका थिए ।

तर, काम गर्न नसक्ने भन्दै दुई वर्षमा नै राजीनामा गरिदिएका थिए । ‘यसअघि पनि अवसर पाउनुभएको हो,’ गंगालाल स्रोतले भन्यो, ‘काम गर्न नसक्ने भनेर दुई वर्षमै राजीनामा दिनुभएको हो फेरि के इच्छा राख्नुभएको होला अचम्म लाग्यो ।’

डा. मल्लले निर्देशक हुने निर्देशक हुने कडा अडान नराखेपनि अर्का चिकित्सक डा. रामेश कोइरालाले भने इच्छा देखाएका थिए । उनले सामाजिक संजालमा नै कांग्रेस नेतृ डा. आरजुका कारण आफू निर्देशक हुन नपाउने र आफू राजीनामा दिने मनस्थितीमा पुगेको पोष्ट सामाजिक संजाल एक्समा गरेका छन् । एक्समै अर्को ट्वीट गर्दै यदि डा. मल्ललाई निर्देशक बनाउने हो भने आफू पूर्ण रुपमा सहयोग गर्न तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।

यसअघि पनि पटक—पटक कांग्रेस सभापति शेरबहादुर देउवा र आफू विरुद्ध सामाजिक संजालमा बोलेको भन्दै डा. मल्लले निर्देशक हुन नमाने बरु अरुलाई बनउने तर डा. कोइरालालाई नदिने अड्डी डा. आरजुले कसेको उनी निकट स्रोत बताउँछ । ‘स्वास्थ्यमन्त्री बस्नेतले देउवाको कुरा काट्न सक्नुहुन्न,’ स्रोत भन्छ, ‘त्यो भएपछि डा. कोइरालाको च्याप्टर क्लोज भयो भन्दा पनि हुन्छ ।’

तर, डा. मल्लले हेल्थआवाजसँग आफू कार्यकारी निर्देशक संस्थाभित्रबाटै हुनुपर्ने पक्षमा रहेको र त्यसैमा लागिरहेको बताए । ‘हस्पिटलभन्दा बाहिरको ल्याउँदा प्रतिष्ठित संस्थामा असर पर्छ,’ उनले भने, ‘मैले साथीहरु सल्लाह गरेर यहीभित्रबाट दुई वा तीन जनाको नाम पठाउन आग्रह गरिरहेको छु ।’ उनले आफ्नो पनि उक्त भूमिका लागि आकांक्षा रहेको तर अन्यमा सहमति हुने अवस्थामा बाधक नबन्ने संकेत गरे ।

डा. मल्ल र डा. मास्के केन्द्रको ऐनअनुसार उमेर हदका कारण लिनुपर्ने अनिवार्य अवकासका कारण विवादमा छन् । ऐन विपरित उमेर हद थपिएको भनेर दुवैका विषयमा सर्बोच्च अदालतमा मुद्धा विचाराधीन रहेको छ ।

यसअघिका स्वास्थ्य मन्त्री भवानी खापुङ गंगालाल अस्पताल संचालन समिति अध्यक्ष भएका बेलामा केही विधाका चिकित्सकहरुको उमेर हद ६३ बनाउने विवादास्पद निर्णय गराएका थिए । सो निर्णय नभएको भए दुवै जना अनिवार्य अवकासमा गइसकेका हुन्थे ।

कार्यकारी निर्देशकको दौडमा रहेका दुवै जना उमेर हद विवाद रहेको, आफूनिकट डा. मल्लले इच्छा नदेखाएको र डा. मास्केको यसअघि पनि अवसर पाएर काम गर्न नसकेको भन्ने आरोप लागेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत तेस्रो व्यक्ति खोजीमा लागेको उनको सचिवालयका एक सदस्यले बताए । ‘दुई जनाको कुरा आएको छ, एक जनाले त म हुन्न भनिसक्नुभएको छ,’ उनले भने, ‘अर्को डा. मास्केको विषयमा मन्त्रीज्यू पोजेटिभ हुनुहुन्न, पहिले अवसर पाएर पनि बीचैमा छोड्नुभएको रहेछ ।’

सचिवालयका ती अधिकारीकाअनुसार मन्त्रीले भने निवर्तमान निर्देशक डा. चन्द्रमणि अधिकारीलाई नै दोहो¥याउन चाहेका छन् । ‘मन्त्रीको इच्छा अहिलेकै निर्देशक दोहो¥याउन पाए हुन्थ्यो भन्ने छ,’ उनले भने ‘तर, हिजो एमालेको पालामा नियुक्त भएको हुँदा माथिबाट सिग्नल पाउन गाह्रो छ ।’

डा. मल्ल र डा. मास्के क्लिनिकल रुपमा राम्रा चिकित्सक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ