२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा ७ महिनादेखि खानेपानी अभाव

हुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा ७ महिनादेखि खानेपानी अभाव


जुम्ला—हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्य चौकीका कर्मचारी र सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

स्वास्थ्य चौकीमा विगत सात महिनादेखि खानेपानीको समस्या छ । गाउँपालिका केन्द्रसमेत रहेको उक्त स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि हाल वर्थिङ सेन्टरमा सुत्केरी हुँदै आएकी सुत्केरीले सास्ती खेप्नु परेको छ ।

गत साउनदेखि यता स्वास्थ्य संस्थामा १ सय ९२ जना सुत्केरी भएका छन् । सबैलाई पानीको व्यवस्था नभएपछि अर्को वडा नंं. २ बाट ग्यालेनमा ल्याएको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उक्त संस्थामा सुत्केरी भएकी जुनदेवी ऐडीले गुनासो गरिन् । स्वास्थ्य चौकीको धारामा पानी नआएपछि लुगा धुन र पिउनलाई निकै कठिनाइ भएको उनले बताइन् ।

त्यसैगरी, सोही स्वास्थ्य संस्थामा सुत्केरी भएकी अर्की सुत्केरी कनकौरा रावलले पनि उस्तै समस्या भएको बताइन् । उक्त स्वास्थ्य संस्थामा पानीको अभाव भएको भन्दै वडाध्यक्ष दिलबहादुर फडेरालाई पहलका लागि अनुरोध गर्दासमेत सुनुवाइ नगरेको सोही स्वास्थ्य चौकीकी निमित्त प्रमुख अनमी सुस्मिता फडेराले बताइन् ।

विशेषगरी उक्त स्वास्थ्य संस्थाको वर्थिङ सेन्टरमा पानीको अभाव हुँदा बाहिरबाट आएका सेवाग्राहीलाई समस्या हुने गरेको अनमी फडेराको भनाइ छ । सो विषयमा वडा अध्यक्ष फडेरासँग बुझ्दा उनले अविरल वर्षाले मुहान बगाएपछि समस्या भएको बताए । समस्या समाधानका लागि प्रयास गरिरहेको अध्यक्ष फडेराको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ