२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’

४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’


काठमाडौं—पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।

सन् २९२० मा ८६९ जना, सन् २०२१ मा १३२६ जना, सन् २०२२ मा १९५४ जना र सन् २०२३ मा २३१८ जनाले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएको काउन्सिलको तथ्यांकमा छ । असुरक्षा, न्यून पारिश्रमिक, अवसरको कमीजस्ता कारण पछिल्ला वर्षहरुमा नेपालबाट विदेशिने चिकित्सकहरुको संख्यामा निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ ।

‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिने यो संख्या विशेषज्ञता अध्ययन (रेजिडेन्ट वर्क), फेलोसीप र काम गर्नका लागि आवश्यक पर्छ । कुनै पनि देशमा चिकित्सकले बिरामीलाई छोएर गर्ने उपचारका लागि सम्बन्धित देशको आधिकारिक नियांमक निकायबाट ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ माग्ने गरिन्छ ।

नेपाल मेडिकल काउन्सिलकाअनुसार विदेशमा अध्ययन गर्न, फेलोसीप गर्न वा काम गर्न जाने चिकित्सकले अन्य सबै प्रक्रिया पूरा गरेर सो देशमा जाने निश्चित भएपछि ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिने गरेका छन् । नेपालमा पनि सरकारी सेवामा बढुवा हुनका लागि काउन्सिल दिने यो प्रमाणपत्र अनिवार्य गरिएको छ । विदेश जाने चिकित्सकका हकमा सम्बन्धित चिकित्सकले निवेदन दिएपछि काउन्सिलले नै चिकित्सक जाने देशको नियांमक निकायलाई यो सर्टिफिकेट पठाइदिन्छ ।

पछिल्ला चार वर्षमा सबैभन्दा बढी अमेरिकाका लागि १ हजार ८८८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् । यस्तै, दोस्रोमा बेलायतका लागि १ हजार ५७८ जना, तेस्रोमा माल्दिभ्सका लागि १ हजार ४६७ जना, भारतका लागि ५१३ जना, अष्ट्रेलियाका लागि ४०३ जना, युएईका लागि ३४६ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएको काउन्सिलको तथ्यांकमा छ ।

क्यानडाका लागि ८३ जना, जर्मनीका लागि ६१ जना, कतारका लागि ३६ जना, सिंगापुरका लागि १४ जना, ब्रुनाईका लागि १४ जना, आयरल्याण्डका लागि १२ जना, डेनमार्कका लागि ११ जना, हङकङका लागि ९ जना, साउदीका लागि ३ जना, बंगलादेशका लागि १ जना, बेल्जियमका लागि १ जना र अन्य देशका लागि २८ जनाले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।

काउन्सिलको प्रगति विवरण २०७९/८० बाट

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ