२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, ५२ हजार बालबालिकालाई लगाइने

मोरङमा पोलियोविरुद्धको खोप अभियान १३ जेठबाट, ५२ हजार बालबालिकालाई लगाइने


विराटनगर—मोरङमा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम १३ जेठबाट सुरू हुने भएको छ । २२ जेठसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा मोरङमा ५२ हजार ३५२ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको हो ।

६७२ वटा खोप केन्द्रबाट साढे पाँच वर्षदेखि ८ वर्ष उमेर समूहका ५२ हजार २५२ जना बालबालिकाहरुलाई मोरङमा खोप लगाउने तयारी रहेको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।

मोरङमा १७ वटा स्थानीय तहभन्दा सबैभन्दा बढी बालबालिका विराटनगरमा छन् । विराटनगरमा ११६ वटा खोप केन्द्रबाट १८ हजार ८६४ जना बालबालिकालाई खोप लगाउने तयारी छ । यसैगरी, सुनवर्षीमा ३ हजार ६०१, रंगेलीमा २ हजार ९ सय ८, ग्रामथानमा १ हजार ७५७, बुढीगंगामा २ हजार ९०४, कटहरीमा २ हजार ५७८, धनपालथानमा ३ हजार ५३८, जहदामा ३ हजार १६६, लेटाङ्गमा २ हजार २७७, केरावारीमा १ हजार ६६८, सुन्दर हरैचामा ८ हजार ६०४, बेलवारीमा ४ हजार ३९२, कानेपोखरीमा २ हजार २७९, पथरीशनिश्चरेमा ४ हजार ३१२ र उर्लावारीमा ४ हजार ८२२ जना बालबालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको पूर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सोमबार स्वास्थ्य कार्यालय मोरङले जानकारी गराएको छ । खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वयंसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण गराएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

खोप कार्यक्रम सञ्चालनका लागि ७८३ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । १ हजार ७८ जना स्वयंसेविका परिचालन हुनेछ । देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । यसका लागि १ हजार ६७ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ । विद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने डा. मेहताले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ