२०८२ जेठ ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

स्वास्थ्य कार्यविधि र सिन्डीकेट छिटो सेवाका बाधक भएको अनुभव


पोखरा—गण्डकीको ‘प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल’का निर्देशक डा. विकास गौचनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा भएको छ । जोखिमपूर्ण अवस्थामा अस्पतालको जिम्मेवारी सम्हालेका डा. गौचनले करिब ५२ महिना अस्पतालको नेतृत्व गरे ।

प्राध्यापकको रुपमा उनी राप्ती जान लागेका हुन् । कोभिड—१९ महामारीको बेला तत्कालीन लायन्स अस्पताललाई गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्वमा लिई ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ बनाएको थियो ।

‘कोभिड—१९ महामारीमा भर्ना गरेर गरिने उपचार र भ्याक्सिनमा हामी सफल भएका छौं । जनरल ओपीडी सेवा, फिजिसियन सेवा उपलब्ध छ । मिर्गाैला डायलाइसिस, भिडियो एक्स—रे, एक्स—रे, ल्याब सेवा छ,’ उनले भने, ‘भवन निर्माण सम्पन्न भएपछिको अवस्थामा सिटी स्क्यान, एमआरआईलगायतका सेवा सञ्चालन गर्न पनि सकिने दीर्घकालीन योजना हो ।’ अस्पतालले दैनिक ३५ जनाले डायलाइसिस सेवा लिने गरेका छन् भने कुल १ सय जनाले सेवा लिइरहेका छन् ।

यद्यपि अस्पतालको आफ्नै रक्त सञ्चार केन्द्र स्थापना र शल्यक्रिया सेवा सुरु गर्ने लक्ष्य भएपनि पूरा गर्न नसकेको उनले बताए । उनले भने, ‘भवन निर्माण अस्पतालको नियन्त्रण बाहिरको कुरा हुँदो रहेछ । संघीय आयोजना कार्यान्वयन इकाई मातहत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन बनिरहेको छ,’ डा. गौचनले थपे, ‘जुन १८ महिनामा सक्नुपर्ने थियो । ४ वर्षभन्दा बढी भयो । सहरी विकास तथा भवन मातहत निर्माण भइरहेको अस्पतालको भवन भने ५५/६० प्रतिशत जति काम भएको होला, जेठसम्मका लागि म्याद थप भएको छ, बाँकी काम एक महिनामा सकिने देखिँदैन ।’ अस्पताल भवन १ वर्षअघि म्याद थप भएको थियो । बजेट तथा कानुननै समयमा काम सक्न बाधक बनेको अनुभव उनले सुनाए ।

नीति नियममा सुधार गर्ने हो भने मात्रै सरकारी अस्पतालको अवस्था सुध्रने डा. गौचनको भनाइ छ । ‘आम जनताको स्वास्थ्य उपचार खर्च घटाउन सरकारी अस्पतालको भूमिका एकदमै ठूलो छ । अस्पताल व्यवस्थापन सम्बन्धी निर्देशिकाहरुलगायत समग्रमा नीति नियममा नै सुधार गर्नुपर्छ । समग्रमा भन्दा अस्पताल व्यवस्थापन, टेन्डरलगायत सबैमा आम नागरिकलाई छिटो र गुणस्तरीय सेवा दिनुपर्छ भनेर बनाइएकै छैन । जस्तो कि कुनै कुनै कर्मचारीको पोस्ट खाली भयो, अर्काे आउन ५/६ महिना लाग्छ, त्यो अवधिका लागि करारमा राखौं न भन्दा प्रक्रिया लामो छ,’ उनले भने । नीतिगत सुधार नै महत्वपूर्ण भएको उनको भनाइ छ ।

अस्पताल व्यवस्थापन निर्देशिका जटिल भएकाले कार्यविधिगत हिसाबले सुधार गर्नुपर्नेमा उनी जोड दिन्छन् । बायोमेडिकल टेक्निसियन र इन्जिनियरको दरबन्दी एकदमै कम छ । आधा घण्टामा हुनुपर्ने काम २/३ दिन लाग्ने गरेको उनको अनुभव छ ।

अस्पतालमा प्रयोग हुने एमआरआई, एक्स—रे, सिटी स्क्यानलगायत उपकरणमा सिन्डिकेट भएका कारण आम नागरिक सेवाबाट पटक—पटक बञ्चित हुनुपर्ने र दुःख भोग्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘जुन कम्पनीको मेसिन छ, त्यही कम्पनीको जनशक्ति काममा लगाउनुपर्छ नत्र हुँदै हुँदैन, लागत खर्च पनि उनीहरुले भने अनुसार दिनुपर्‍यो, छिटो पठाइदिनुस् भन्दै पर्खनुपर्‍यो,’ डा. गौचनले भने ।

अस्पताल बसाइँ सुखद् नै रहेपनि कार्यविधि, नीति नियमगत समस्याका कारण सोचेजस्तो छिटो—छरितो सेवा दिनमा भने कठिनाइ महसुस भएको उनले बताए । तथापि आम नागरिकको स्वास्थ्य सेवामा विश्वास बढाउन डा. गौचन सफल भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ