२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगफंगल्स इन्फेक्सनले निम्त्याउँछ छालामा समस्या

फंगल्स इन्फेक्सनले निम्त्याउँछ छालामा समस्या


कपालमा जस्तै हाम्रो छालामा पनि फंगल्स संक्रमणका कारण विभिन्न समस्याहरु देखा पर्छन् । जसमध्ये दुबी र दाद पनि एक हो । जसले छालाको माथिल्लो तहमा मात्रै आक्रमण गर्ने हुन्छ । दाद एक प्रकारको ढुसी हो । यसलाई ‘टिनिया इन्फेक्शन’ पनि भनिन्छ । यसैगरी सेतो दुबीलाई मेडिकल क्षेत्रमा ‘इट्रयार्टी बर्सिकुलर’ पनि भनेर चिनिन्छ ।

व्यक्ति तथा बालवालिकामा देखा पर्ने यस्ता समस्याहरु टाउको, दाह्री वरपर, नङ, मुख, कान, काखी, काँप (गुम्सिएर बढी पसिना आउने भाग) तथा औलाको चेपचेपजस्ता शरीरको जुनसुकै भागमा पनि आउन सक्दछन् । तर, बालवालिकामा भने दादको रुपमा टाउकोमा फुस्रो हुन गई चाँयाको रुपमा यो समस्या देखा पर्ने हुन्छ । बढीजसो गर्मीयाम र वर्षयाममा शरीरको छालामा देखा पर्ने यस्ता समस्याहरु निम्न कारण देखा पर्ने गर्दछन् ।

  • शरीरलाई गुम्साएर खुल्ला हावाको पहुँचबाट टाढा राखेमा
  • अत्याधिक तापक्रम
  • बाहिरी आद्रता बढेको खण्डमा
  • इन्फेक्सनको कारण

उपचार तथा बच्ने उपाय

यी रोगहरुबाट बच्नको निमित्त सर्वप्रथम हामीले यी रोगहरु अरुमा नसरोस् र अरुबाट आफूमा पनि नसरोस् भनेर संयमता अपनाउनु पर्दछ । हामीले शरीरका भागहरुलाई गुम्सन नदिने र गुम्सिएको भागमा पाउडरको प्रयोग गर्नाले पनि यी रोगबाट बच्न सकिन्छ ।

इन्फेक्सनबाट सर्ने यी रोगहरुका निम्ति शरीरको कुन भागमा यसले आक्रमण गरेको छ, त्यसको विचार गर्नु पर्दछ । यस्ता समस्याहरु देखिएका खण्डमा चिकित्सकको सल्लाह बिना नै कुनै पनि मल्हम तथा औषधिको प्रयोग गर्नु उचित हुँदैन ।

हिजोआज औषधिहरुमा विभिन्न स्टीमुलेटहरु मिसावट भएर आउने गरेको छ । तसर्थ, हामीले बजारमा उपलब्ध त्यस्ता विभिन्न नाम गरेका औषधिहरुलाई चिकित्सकको सल्लाह बिना प्रयोग गरेको खण्डमा त्यसले नकरात्मक असर पारी फैलिदै जाने पनि हुन्छ । जसबाट उपचारको समय सँगसँगै खर्च पनि बढ्दै जाने हुन्छ । तसर्थ हामीले यस्ता समस्याहरु देखिएको खण्डमा सम्बन्धित चिकित्सकको परामर्श लिएर मात्र सोही अनुरुप औषधिको सेवन गर्नुपर्दछ ।

 

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ