काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र नेपाली कांग्रेसका महामन्त्री गगन थापा निकट भनेर चिनाउँदैं आएका औषधि आयातकर्ता देवराज लामिछानेको ‘सफल स्वास्थ्य सेवा प्रा.लि.’ले गुणस्तरहीन जीवनरक्षक औषधिको ठूलो परिणाम नेपालमा अवैध रुपमा बेचबिखन गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागबाट लाइसेन्स खारेज गरिएको गुणस्तरहीन जीवनरक्षक औषधि (एन्टीबायोटिक इन्जेक्सन) ‘सेफ्ट्राजोन’ (भेलक्सोन—१) जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै बजारमा बेचबिखन गर्ने गरेको पाइएको हो ।
मंगलबार औषधि व्यवस्था विभागले सफल स्वास्थ्य सेवा प्रा.लि.को गोदाममा छापा मारेपछि बिरामीको जीवनसँग प्रत्यक्ष सरोकार भएको औषधिजस्तो संवेदनशील विषयमा सफलले गम्भीर खेलवाड गरेको भेटिएको हो । छापा मार्ने क्रममा सो औषधि ल्याएर केही भायल बजारमा बिक्री वितरण गरेको बिल विभागको टोलीले जफत गरेतापनि बाँकी औषधि भने गोदाममा पाइएको छैन ।
भारतबाट ल्याइएको सो औषधिको प्रज्ञापनपत्रमा २ लाख ५० हजार भायल (६२६ कार्टुन) नेपाल भित्रिएको देखिन्छ । तर, १ लाख भायल मात्र बजारमा गएको देखिन्छ । जुन राष्ट्रिय ट्रमा सेन्टर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीगणेश ड्रग हाउस, मनकामना डिष्टिब्युटर्स, काइनेटिक फर्मा, भैरव फर्मास्युटिकल्स, त्रिशक्ति मेडिसिन डिष्टीब्युर्स र मिलिनियम ड्रग्स हाउसलाई बिक्री वितरण गरिएको पाइन्छ । जसमा श्रीगणेशमा २१ र २८ साउनमा औषधि बिक्रीको बिलिङ भएको विभागले जफत गरेको बिलमा छ भने त्रिशक्तिमा २१ साउनमा, २३ साउनमा भैरव फर्मास्युटिकल्समा र १ भदौंमा काइनेटिक फर्मास्युटिकल्समा औषधि बिक्रीको बिलिङ भएको कागजातमा छ ।
जबकी सफल स्वास्थ्य सेवा प्रा.लि.को औषधि आयात गरेको ‘भेलिङ्गटन हेल्थकेयर इण्डिया’को ‘सेफ्ट्राजोन’ बिक्री वितरण लाइसेन्स औषधि व्यवस्था विभागले गुणस्तरहीन पाइएपछि गत २० जेठमा खारेज गरिदिएको थियो । लाइसेन्स खारेज भएपछि सफल स्वास्थ्य सेवा प्रा.लि.ले २१ जेठमा उक्त लाइसेन्स औषधि व्यवस्था विभागमा बुझाएको थियो । लाइसेन्स रद्ध भएपछि त्यसको सार्वजनिक सूचना प्रकाशन गरेर बजारमा रहेको औषधि रिकल गर्नुपर्ने र जानकारी दिनुपर्ने प्रावधान छ ।
तर, सघन उपचार कक्ष (आईसीयु)मा जटिल प्रकृतिका बिरामीमा प्रयोग गरिने यो औषधि गुणस्तरहीन प्रमाणित भएर लाइसेन्स खारेज भएपछि पनि औषधि व्यवस्था विभागले भने सार्वजनिक सूचना जारी नगरेर ‘गुपचुप’ राखेको थियो । विभाग स्रोत अन्य औषधि रिकल गर्दा सार्वजनिक सूचना जारी गर्ने औषधि व्यवस्था विभाग नेतृत्वले यो संवेदनशील औषधिको लाइसेन्स खारेजीको सन्दर्भमा अपनाएको गुपचुप प्रवृत्तिलाई आश्चर्यजनक बताउँछ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने क्राइटेरिया मिट नगरेका प्रडक्टहरु डि—रजिष्टर्ड गरिने बताए । ‘क्राइटेरिया मिट नगरेपछि डि—रजिष्ट्रर्ड हुन्छ । गम्भीर प्रकृतिको हानी हुने प्रमाणित भएमा तत्काल बजारबाट रिकल हुन्छ । ‘सेफ्ट्राजोन’को विषयमा मैले विस्तृतमा बुझिसकेको छैन, भोलिसम्ममा रिपोर्ट आउँला अनि विस्तृतमा थाहा हुन्छ ।’
विभागको लाइसेन्स खारेजीको निर्णय ‘गुपचुप’ राख्ने ‘आश्चर्यजनक’ कदमको फाइदा उठाउँदैं सफल स्वास्थ्य सेवा प्रा.लि.ले गुणस्तरहीन औषधि नेपाली बजारमा ल्याउने काम जारी राख्यो । परिणाम नै मान्नुपर्छ, २७ असारमा अवैध रुपमा उसले प्रभु बैंकबाट एलसी निकालेर र वीरगन्ज भन्सारबाट पास समेत सेटिङ मिलाएर दुई लाख ५० हजार डोज ‘सेफ्ट्राजोन’ नेपाली बजारमा भित्र्यायो । भित्र्याउने मात्रै नभएर उसले खुल्मखुल्ला त्यो औषधिलाई नेपालका दुई प्रमुख अस्पताल र केही डिष्टीब्युटर्सहरु कहाँ पुर्याउन सफल भयो । धेरै बिरामीले उपचार सेवा लिने दुई सरकारी स्वास्थ्य संस्थाहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० हजार भायल र राष्ट्रिय ट्रमा सेन्टरमा समेत उक्त गुणस्तरहीन औषधि पुर्यायो । त्यसबाहेक अन्य विभिन्न डिष्टिब्युटर्सहरुमा पनि गुणस्तरहीन ‘सेफ्ट्राजोन’ पुर्याउने काम उसले लाइसेन्स खारेज भएको तीन महिनापछि अर्थात (१ भदौं)सम्म जारी राख्यो ।
लामिछानेको कम्पनीमा छापा मार्दै विभागको टोली
यो रहस्य त्यतिबेला उद्घाटित भयो—जब मंगलबार औषधि व्यवस्था विभागको निरिक्षण टोलीले सफल स्वास्थ्य सेवा प्रा.लि.को कलंकीस्थित गोदाममा छापा मार्यो । त्यहाँबाट विभागको टोलीले गुणस्तरहीन औषधि हात नपारेपनि उसले दुई लाख ५० हजार भायल गुणस्तरहीन ‘सेफ्ट्राजोन’ भारतबाट अवैध रुपमा ल्याएर १ लाख भायल अस्पताल र डिस्टिब्युटर्सहरु कहाँ पुर्याएको बिल तथा कागजात फेला पा¥यो । त्यसबाहेक १ लाख ५० हजार भायल ‘सेफ्ट्राजोन’ कहाँ लुकाइएको छ भन्ने अझै खुलेको छैन ।
तर, सफल स्वास्थ्य सेवा प्रा.लि.की सञ्चालक रहेकी लामिछानेकी श्रीमती सुधा अधिकारी लामिछानेले विभागले उठाएको मुचुल्कामा ‘सेफ्ट्राजोन’ भारतबाट ल्याएको स्वीकार गरेर हस्ताक्षर गरेकी छन् । तर, बुधबार हेल्थआवाजसँग छोटो सम्पर्कमा आएका उनका श्रीमान देवराज लामिछानेले भने जे—जति कुराहरु भएका छन् ती सबै झुट भएको दावी गरे । ‘जे—जति कुरा भएका छन्, ती सबै झुट हुन्,’ उनले हेल्थआवाजसँग भने, ‘सबै कुरा औषधि व्यवस्था विभागलाई बुझाइसकेको छु । यो सबै नियोजित हो ।’
निरिक्षणमा गएका विभागका बरिष्ठ औषधि व्यवस्थापन किरण बज्राचार्यले गुणस्तरहीन अवैध औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा छापा मारिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘रिन्यूमा फेल भएको औषधि भारतबाट ल्याएर बेचबिखन भइरहेको जानकारी पाएपछि हामीले छापा मारेको हो,’ उनले भने, ‘कागजपत्र जफत भएका छन् औषधि ल्याएको प्रशस्त प्रमाणहरु देखिन्छ तर कहाँ—कहाँ छ भन्ने कुरा छानविनकै क्रममा छ । त्यो केही दिनमा सबै थाहा हुन्छ ।’
प्रभु बैंक र भन्सारमा सेटिङका आशंका
‘सेफ्ट्राजोन’ भन्सार जाँचपासकाे प्रज्ञापनपत्र
विदेशबाट सामान आयात गर्नका लागि एलसी (लेटर अफ क्रेडिट) जारी गर्नुपर्छ । आयातकर्ता र निर्यातकर्ताबीचको लेनदेनलाई भरपर्दो, सुरक्षित बनाउनका लागि आयातकर्ताले बैंकबाट एलसी खोल्छन् । एलसी खोल्नुपूर्व आयातकर्ताको फर्म सम्बन्धी कागजपत्र, उसले विदेशबाट सामान भित्र्याउनका लागि लिएको अनुमति पत्रलगायतका कुराहरु बैंकहरुले केलाउँछन् ।
अब यहाँ प्रश्न उठ्छ—भारतबाट ‘सेफ्ट्राजोन’ आयात गर्नका लागि प्रभु बैंकलाई एलसी खोल्नका लागि सफल स्वास्थ्य सेवा प्रा.लि.ले कसरी मनायो । जबकी, भेलिङ्गटन हेल्थकेयर इण्डियाको ‘सेफ्ट्राजोन’ ल्याउनका लागि औषधि व्यवस्था विभागले दिएको अनुमति पत्र २० जेठमा खारेज भइसकेको थियो । जानकार स्रोतकाअनुसार सफलले ‘सेफ्ट्राजोन’ ल्याउनका लागि १८ असारतिर प्रभु बैंकबाट एलसी खोलाएको थियो । त्यतिबेला सफलसँग उक्त गुणस्तरहीन औषधि आयातका लागि विभागले इस्यु गरेको अनुमति पत्रसमेत खारेज भइसकेको थियो ।
त्यसो भए सफलले कुन कागजका आधारमा प्रभु बैंकलाई एलसी खोल्नका लागि राजी गरायो ? के उसले कागज कीर्ते गर्यो ? के नक्कली अनुमति पत्र तयार गर्यो ? त्यसमा गम्भीर छानविनको आवश्यकता देखिएको विज्ञहरु बताउँछन् ।
एलसी खोलिसकेपछि समान आयातको प्रक्रिया अगाडि बढ्छ । त्यो सामान भन्सारमा आइपुग्छ । भन्सारबाट सामान पास गराउनुपर्छ । वीरगन्ज भन्सारबाट पनि सफल स्वास्थ्य सेवा प्रा.लि.ले गुणस्तरहीन दुई लाख ५० हजार (६२६ कार्टुन) भायल ‘सेफ्ट्राजोन’ सजिलै भित्र्याएको छ । अब वीरगन्ज भन्सारमाथि प्रश्न खडा हुन्छ—भन्सारमा कुन आयात अनुमति पत्र पेश गरियो ? कसरी भन्सारबाट त्यो छुट्याइयो ? विज्ञहरु यसमा सेटिङ भएको हुन सक्ने आशंका व्यक्त गर्छन् । तर, यो प्रश्न पनि गम्भीर छानविनबाट मात्रै निरुपण हुने देखिन्छ । गुणस्तरहीन औषधि विक्री वितरणको यो अवैध कारोबारको घटनामा प्रभु बैंक र वीरगन्ज भन्सारको भूमिकामाथि पनि अनुसन्धानमा आवश्यक देखिन्छ ।
गगन—प्रदीसँगको हिमचिमले ‘हिम्मत’
सफल स्वास्थ्य सेवा प्रा.लि. देवराज लामिछानेको कम्पनी हो । तर, यो कम्पनीका कागजातअनुसार उनकी श्रीमती सुधा अधिकारी लामिछानेको स्वामित्वमा छ । विभागको निरिक्षण टोलीसँग पनि सुधाले नै अवैध रुपमा गुणस्तरहीन ‘सेफ्ट्राजोन’ ल्याएको स्वीकार गरेर विभागले उठाएको मुचुल्कामा हस्ताक्षर गरिसकेकी छन् ।
यति ठूलो परिणाममा अवैध औषधि विदेशबाट ल्याएर बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने गरी कारोबार गरिरहेका लामिछानेको शक्ति के हो ? हेल्थआवाजले यसमाथि खोजविन गरेको थियो । जसमा देवराज लामिछाने वि.सं. २०७४ सालमा गगन थापा स्वास्थ्य तथा जनससंख्यामन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका थिए । उनी त्यतिबेला स्वास्थ्य मन्त्रालयअन्तर्गत आयुर्वेदतर्फका कर्मचारीका रुपमा कार्यरत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमाण्ड प्रदीप पौडेलले सम्हालेपछि देवराज पुनः स्वास्थ्य मन्त्रालयको हर्ताकर्ता बनेको स्रोत बताउँछ । मन्त्री पौडेललाई औषधि र आयुर्वेदका विषयमा सल्लाह दिने काम पनि देवराजले गर्दै आएको मन्त्री निकट स्रोत बताउँछ । देवराजले फेसबुकका राखेका तस्विरहरुले पनि महामन्त्री थापा र पौडेलसँगको उनको बाक्लै हिमचिम रहेको देखाउँछ । यही हिमचिमले उनलाई अवैध काम गर्न हिम्मत दिएको व्यवसायीहरु दावी गर्छन् ।
मंगलबार जब देवराजको सफल स्वास्थ्य सेवा प्रा.लि.ले लाइसेन्स खारेज भइसकेको गुणस्तरहीन औषधिको अवैध कारोबार गरिरहेको पर्दा खुल्यो, त्यसपछि उनी संकटमा परेका छन् । यसले देवराज त संकटमा परेका छ नै, स्वास्थ्यमन्त्री पौडेललाई समेत अप्ठ्यारोमा पारेको मन्त्रालय निकट स्रोत बताउँछ ।