काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन् । आइतबार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको क्याबिनेट बैठकले स्वास्थ्यमन्त्रीमा डा. मिश्रालाई सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्रीमा नियुक्ति हुने निश्चित भएपछि उनले आइतबार नै स्वास्थ्य सेवाको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् ।
स्वास्थ्य सचिव हुने लाइनमा रहेकी उनी स्वास्थ्य सचिव भने बन्न सकिनन् । निवर्तमान स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य सचिव नियुक्ति आफूलाई अन्याय गरेर डा. विकास देवकोटालाई सचिव बनाइएको भन्दै असन्तुष्ट बनेकी थिइन् ।
स्वास्थ्य सचिव नियुक्तिमा मन्त्रीसँग बढेको यही असन्तुष्टीका कारण उनी झण्डै ६ महिना लामो समय विदामा बसेकी थिइन् । पौडेल स्वास्थ्य मन्त्रीबाट हटेसँगै बिहीबारबाट ६ महिनाभन्दा बढी लामो बिदा टुंग्याउँदैं उनी मन्त्रालयमा हाजिर भएकी थिइन् ।
१२ औं तहकी डा. संगीता जेन—जीको आन्दोलनको बलमा बनेको सुशील कार्की नेतृत्वको अन्तरिम सरकारको प्रभावशाली स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगको समधुर सम्बन्ध पनि उनी स्वास्थ्यमन्त्रीमा सिफारिस हुनुको प्रमुख कारण मानिएको छ ।
यस्तै, सर्वोच्चका पूर्व न्यायाधीस अनिल सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री र संञ्चारकर्मी जगदीश खरेललाई सूचना, सञ्चार तथा प्रविधी मन्त्रीमा सिफारिस गरिएको छ ।