काठमाडौं—बालाजुस्थित १०० शय्याको सिल्भरलाइन अस्पतालको व्यवस्थापन श्रीदीप ग्रुप प्रा.लि.ले लिएको छ । श्रीदीपले अस्पताललाई उत्कृष्ट सुपरस्पेसियालिटी अस्पतालका रुपमा विकास गर्ने योजनाका साथ व्यवस्थापन लिएको हो ।
सिल्भरलाइनका मालिक तथा व्यवसायी उमेश श्रेष्ठले सिल्भर लाइन अस्पतालको व्यवस्थापन श्रीदीप ग्रुप प्रा.लि.लाई दिएको पुष्टि गरे । श्रीदीप ग्रुपमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ, उनकी श्रीमती स्वरुपा श्रेष्ठलगायतको स्वामित्व छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका व्यवसायी श्रेष्ठले नेपाल क्यान्सर अस्पताल संचालनको अनुभवका आधारमा व्यवस्थापन दिएको जानकारी दिए । ‘उहाँहरुले नेपाल क्यान्सर हस्पिटल राम्रोसँग चलाएको अनुभव भएकाले त्यो हस्पिटल पनि चलाउनुस् भनेर व्यवस्थापन दिएको हो,’ श्रेष्ठले हेल्थआवाजसँग भने । सिल्भरलाइनलाई सुपरस्पेसियालिटी हस्पिटलका रुपमा चलाउन श्रीदीप ग्रुपलाई आग्रह गरेको पनि उनले बताए ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा श्रीदीप समूहका डा. सुदीप श्रेष्ठले केही महिनाअघि नै आफूहरुले सिल्भरलाइनको व्यवस्थापन सम्हालेको जानकारी दिए । ‘हामीले केही महिनाअघिबाटै सिल्भरलाइनको व्यवस्थापन सम्हालेका छौं,’ डा. श्रेष्ठले भने, ‘बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा दिने उद्देश्यले हामीले व्यवस्थापन लिएका हौं ।’
प्राइम लोकेसन, वरपर राम्रो सुपरस्पेसियालिटी हस्पिटलको अभाव र ठूलो प्रोपर्टी भएकाले पनि सिल्भरलाइनलाई आफूहरुले उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न चाहेको डा. श्रेष्ठले जानकारी दिए । ‘मेन लोकेसनमा छ, त्यहाँ वरपर सुपरस्पेसियालिटी हस्पिटल छैन, ठूलो प्रोपर्टी छ,’ उनले भने, ‘स्थानीय समुदायलाई उत्कृष्ट सेवा सुविधासहितको गुणस्तरीय उपचार पस्किने छौं ।’
सिल्भरलाइनलाई मुख्यतयाः रगत र रगत सम्बन्धी सम्पूर्ण रोगहरुको उपचारका गर्ने केन्द्रका रुपमा आफूहरुले विकास गर्न चाहेको उनको भनाइ छ । ‘नेपालमा सिभिल अस्पतालमा मात्रै बोनम्यारो ट्रान्सप्लान्ट छ, बिरामीहरु ठूलो संख्यामा क्यूमा छन्, विदेश जानुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले सिल्भरलाइनमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने गरी हामीले काम गरिरहेका छौं ।’ उनले बोनम्यारो ट्रान्सप्लान्टका लागि काम भइरहेको बताउँदैं ८ महिनाभित्रमा उक्त कार्यक्रम सुरु गर्ने तयारी रहेको समेत बताए ।
त्यसबाहेक सिल्भरलाइनलाई श्रीदिप ग्रुप प्रा.लि.ले ट्रमा केयर, एडभान्स अर्थोपेडिक्सलगायतका सेवाहरुका लागि उत्कृष्ट सेन्टर बनाउने लक्ष्य लिएको छ । सिल्भरलाइनको व्यवस्था श्रीदीपले लिएसँगै अस्पतालको प्रबन्ध निर्देशकका रुपमा स्वरुपा श्रेष्ठले समग्र अस्पतालको व्यवस्थापकीय नेतृत्व सम्हालेकी छन् । उनी नेपाल क्यान्सर अस्पतालकी समेत सह—संस्थापक निर्देशक हुन् ।
११ रोपनी क्षेत्रफलमा फैलिएको जनमैत्री अस्पतालको आफ्नै ६ तले भवन छ । सिल्भरलाइन अस्पतालअन्तर्गत आफ्नै नर्सिङ कलेजसमेत सञ्चालनमा छ । यसअघि जनमैत्री अस्पतालका नाममा रहेको उक्त अस्पताल व्यवसायी श्रेष्ठले सिल्भर लाइन अस्पतालका नाममा चेन अस्पताल बनाउने उद्देश्यका साथ किनेका थिए ।