के तपाईंमा दिसा आउँदा रोक्ने बानी छ ? वा कब्जियतको समस्या छ ? यदि यस्तो छ भने समयमै आफ्नो बानी परिवर्तन गर्नुहोस् । दिसा लामो समयसम्म रोक्नेहरूमा मलद्वारको मांसपेशी च्यातिने समस्या हुनसक्छ ।
मलद्वारको मांसपेशी च्यातिने समस्यालाई सुरुवाती अवस्थामा सामान्य नै लिइन्छ । यसले ज्यानै त लिँदैन । तर, दैनिकीलाई प्रत्यक्ष असर पार्छ र समयमै पहिचान र उपचार नगरे अल्सर हुने जोखिमसमेत हुनसक्छ ।
यसका लक्षण र कारण
यो समस्याको सुरुआती अवस्थामा मलद्वारमा च्यातिएको घाउमा पोल्ने, छुराले घोचेजस्तो महसुस हुने, दिसा बस्दा रगत तप–तप चुहिने, आलो रगत देखिने लक्षण हुन्छन् । दिसा बस्न गाह्रो हुन्छ र दिसा बसिसकेपछि पनि पोलिरहने हुन्छ ।
कडा खालको दिसा आउने वा कब्जियत भएका व्यक्तिमा यो समस्या हुनसक्छ । यस्तै दिसा रोक्ने बानी छ भने मलद्वारको मांसपेशी च्यातिने समस्या हुनसक्छ । दिसा रोक्दा त्यसमा भएको रस आन्द्राबाट सोसिन्छ र दिसा कडा भइदिन्छ । सुरुआती कडा दिसा गर्दा मलद्वारको नरम मांसपेशीलाई घाउ बनाउँदै आउँछ ।
त्यसैले दिसा रोक्ने र कब्जियतको समस्या आउन दिनुहुँदैन । यस्तै महिलाहरुमा गर्भवती अवस्थामा तथा डेलिभरी वा नर्मल डेलिभरीको बेलामा मलद्वारको मांसपेशी च्यातिन सक्छ । यस्तै आन्द्राको रोग भएको अवस्थामा पनि मलद्वारमा चिरा परेका घाउ हुनसक्छन्, जसलाई ‘एनल फिसर’ भनिन्छ ।
पाइल्स र यो रोगमा के फरक छ ?
पाइल्स र च्यातिएको घाउमा फरक छ । पाइल्स हुँदा कम दुख्छ । पायल्सको पनि भित्री, बाहिरी र अड्किएको अर्थात् थ्रोम्बोज्ड हेमोरोइड भन्छौं । अड्कने भएकाले थ्रोम्बोज्ड हेमोरोइड एकदमै दुख्छ । पाइल्स भएपछि त्यो थुनिँदा दबाब सिर्जना हुन्छ र दुख्छ । साधारणतया पाइल्स कमै दुख्छ । पायल्समा आउने रगत दुखाइ भएर आउने होइन ।
अनि अलिकति रंग पनि परिवर्तन हुन्छ । जमेको जस्तो रगत हुन्छ । पायल्समा दिसा बसेपछि रगत आउने हुन्छ । फिसरमा मुख्य समस्या भनेको नै दुख्ने हो । दिसा गर्न गाह्रो हुने, दिसा गरेपछि रगत चुहिने, भर्खरै काटिएर आएको आलो रगतजस्तो देखिने, तपतप चुहिने र दुखाइ बढी हुने समस्या हुन्छ ।
दिसा गर्दा रगत चुहिनेबित्तिकै पाइल्स भयो भन्ने बुझाइ जनमानसमा हुन्छ । ओपीडीमा आएका बिरामी पनि पाइल्स भयो भनेर आउनुहुन्छ । तर, हेर्दा फिसर भएको हुन्छ । फिसरमा चाहिँ मांसपेशी पनि देखिन्छ । त्यसलाई हामीले स्किन ट्याग भन्छौं । स्किन ट्याग भनेको फिसर हुने, निको हुने र फेरि फिसर हुने हो । मानिसहरु दिसामा रगत देखिने बित्तिकै उपचारमा आउँदैनन् ।
सुरुमा घरायसी विधि अपनाउने भएकाले उपचारमा आउँदा ढिला हुन्छ, मलद्वारको वरपर निको भइसक्छ र निको भएको ठाउँमा स्किन ट्यागहरु बनिसकेको हुन्छ । त्यसपछि बिरामीले दिसा सफा गर्दा मासुको डल्ला महसुस गरेपछि पाइल्स भयो भनेर अस्पताल आउँछन् । तर वास्तवमा एनल फिसर भएको हुन्छ । जनमानसमा यो भ्रम धेरै देखेको छु । रगत बग्नेबित्तिकै स्किन ट्याग महसुस गरेर पाइल्स भयो भन्ने गरिन्छ । तर मलद्वारको मांसपेशी च्यातिएको हुन्छ ।
यो समस्याको उपचार कसरी ?
च्यातिएको घाउ दुई प्रकारको हुन्छ—एउटा एक्युट र अर्को क्रोनिक । समस्या भएको ६ हप्ताभित्रको अवस्था छ भने एक्युट एनल फिसर भनिन्छ । त्योभन्दा बढी समय भएको अवस्थाचाहिँ क्रोनिक एनल फिसर हो । एक्युट एनल फिसरलाई सुरुमा मेडिकल म्यानेजमेन्ट गरिन्छ, जसअनुसार बिरामीलाई उनीहरुको खानपानको शैली परिवर्तन गराउन कोसिस गर्छौं । जस्तै फाइबर युक्त खाना र प्रशस्त पानी पिउन सुझाव दिन्छौं । व्यक्तिको तौल हेरेर पानी दिनमा ३ लिटरसम्म निर्धारण गरिन्छ । यस्तै तातोपानीमा मलद्वार डुबाएर बस्न पनि सल्लाह दिन्छौं । यसलाई हामी कन्जरभेटिभ म्यानेजमेन्ट वा मेडिकल म्यानेजमेन्ट पनि भन्छौं । यो समस्या भएका बिरामीले खानपानमा अनुशासनमा बस्नु पर्छ । तर यति गर्दा पनि ठिक भएन भने मलद्वारमा लगाउने मल्हम दिइन्छ । पहिला साधारण मल्हम दिन्छौं ।
त्यसले पनि भएन भने अलि उच्च डोजको औषधि दिइन्छ । हाइ डोजको मलहमले रिंगटा लाग्ने, टाउको दुख्ने हुनसक्ने भएकाले यस्तो उपचार गर्दा अस्पतालमा नै अब्जरभेसनमा राखेर हेर्छौं । मेडिकल म्यानेजमेन्टमा खानपानमा ध्यान दिने, बाफ लिने र औषधीको प्रयोग गर्ने कुराहरु पनि पर्छन् । औषधीले पनि निको भएन भने त्यसपछि हामी सर्जिकल म्यानेजमेन्टमा जान्छौं । सर्जिकल म्यानेजमेन्टमा स्किन ट्याग छ भने स्किन ट्याग निकाल्ने, च्यातिएको घाउको लागि ल्याटरल इन्टरनल स्फीनटेरोटोमी–एलआइएस सर्जरी गर्छौं । जुन ओपन वा अहिले आएको नयाँ विधि लेजर सर्जरीबाट पनि गर्न सकिन्छ ।
यो समस्या पछि बल्झिन्छ कि बल्झिँदैन ?
सुरुआतमा मेडिकल म्यानेजमेन्टले बिरामी निको हुन्छन् । तर अनुशासनमा भने बस्नुपर्छ । अर्थात् उच्च फाइबर युक्त खानेकुरा खानुपर्छ । प्रतिनियुक्त खाना वा रातोमासु, चिल्लो, पिरो धेरै खानु हुँदैन ।
झोलिलो खानेकुरा तथा पानी प्रशस्त पिउनुपर्छ । खानपानमा अनुशासनमा बस्ने हो भने समस्या बल्झिन दिँदैन । तर, अनुशासनमा नबस्ने, रोग ठिक भयो भनेर धेरै माछामासु खाने वा चिल्लो पिरो नबार्ने हो भने फेरि बल्झन सक्छ ।
सर्जिकल म्यानेजमेन्टले गर्दा पनि तत्काल समस्या बल्झिन दिँदैन । खानपान र जीवनशैली अनुशासित भएन भने मलद्वारमा पहिला एक ठाउँमा च्यातिएको छ भने अर्को पटक अर्को ठाउँमा च्यातिन सक्छ ।
उपचारपछि पनि बल्झिरहने अवस्थामा कस्ता जटिलता निम्तिन सक्छन् ?
यो समस्या च्यातिएको घाउ हो । शरीरमा कुनै पनि घाउ हुँदा आफैँ निको हुन्छ र स्किन ट्यागहरु देखिने हुन्छ । धेरै फिसर भइसकेपछि कहिलेकाँही धेरै रगत बग्ने समस्या पनि हुनसक्छ, जसले गर्दा धेरै रक्तस्राव भएर हेमोग्लोबिन कम भएर आकस्मिक उपचारमा समेत आउन गरेको पनि पाएका छौं । कहिलेकाही एनल स्टेनोसिस पनि भइदिन सक्छ ।
यसको समयमै उपचार गरिएन भने रक्तश्राव हुने, बिरामीको दैनिक जीवनमा असर पर्ने हुन्छ । मलद्वारमा मासुका डल्लाहरू आउँछन् । दिसा बस्न गाह्रो हुने र दिसा बस्नै डराउने, दिसा होला भनेर खानासमेत खान छोड्ने समस्या समेत निम्तिनसक्छ । यसको समयमै उपचार गरिएन भने धेरै ठूलो अल्सर हुनसक्छ ।
दिसा गर्दा गाह्रो हुने, पोलिरहने, घोचेजस्तो हुने समस्या छ भने पहिला त दिसा पातलो हुने औषधि नै दिनुपर्छ । यस्तै मनतातो पानीमा बिहान–बेलुका दिनमा दुईपटक बस्नुपर्छ । मलद्वारमा औषधि लगाउनुपर्छ । कहिलेकाही दुखाइ कम हुने औषधि पनि दिन्छौं । यो समस्या कम गर्न फाइबर युक्त खानेकुरा नै बढी खानुपर्छ ।
महिलाहरुमा गर्भवती अवस्था वा सुत्केरी हुँदा हुने समस्यामा त यसलाई रोक्न सकिँदैन । यस्तै आन्द्रामा घाउ हुने वा आन्द्रा च्यातिएको अवस्थामा एनल फिसर देखिनसक्छ । यसका लागि प्राथमिक उपचार गर्ने र कोलोनोस्कोपी गरेर थप परीक्षण र उपचारहरू गर्नुपर्छ । तर, खानपिनको कारण हुने समस्यालाई भने रोक्न सकिन्छ । त्यसैले खानपानमा नै ध्यान दिएर यो रोग लाग्नै नदिने उपाय अपनाउन सकिन्छ ।
र, अन्त्यमा…
मुखलाई मात्र होइन, मलद्वारलाई पनि ख्याल गरौँ । कुनै समस्या आएपछि उपचार गराउनुभन्दा पहिला खानपान र जीवनशैलीमा ध्यान दिएर आफूलाई अनुशासित राखौँ । प्रोटिनमात्र नभइ फाइवरयुक्त खानेकुरा पनि खाने बानी बसालौँ ।
(डा. गिरी नर्भिक अस्पतालका कन्सल्टेन्ट जी आई सर्जन हुन् ।)