काठमाडौं—स्वदेशी ग्याप एनालाइसिस गर्ने संस्थालाई बाइपास गर्दै विदेशी निकायबाट प्रादेशिक प्रयोगशालाहरू र तीन वटा संघीय अस्पतालका प्रयोगशाला ग्याप एनालाइसिस गराउने तयारी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्राविधिक सहयोगमा गर्न लागिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र संघीय अस्पतालका प्रयोगशालाहरूको ग्याप एनालाइसिस गर्ने जिम्मा भारतीय निजी कम्पनी क्युएआईलाई दिएको छ ।
जबकी उक्त काम गर्ने नेपालमै स्वदेशी स्वायत्त निकाय एईआरएसएससी सक्रिय छ । एईआरसीसीले नै प्रयोगशालाहरूको सर्वोच्च निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ग्याप एनालाइसिसको काम गरेर आईएसओ प्रमाणित गरेको हो । यसले नेपालमा झण्डै एक दर्जन प्रयोगशालाको एक्रिडिटेसन गरेर आईएसओ प्रमाणित गरिसकेको छ । आईएसओ १५१८९ प्रयोगशालाको गुणस्तर सुनिश्चित गर्नका लागि गरिन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आईएसओ एक्रिडिटेसनको काम भइरहेकाले आफूलाई कसले गर्दैछ भन्ने जानकारी नभएको बताए । ‘डब्लूएचओको प्राविधिक सहयोगमा हामीले प्रादेशिक र केही संघीय अस्पतालको प्रयोगशाला ग्याप एनालाइसिस गराउँदैंछौं,’ उनले भने, ‘उहाँहरु (डब्लुएचओ)ले क्युएआईलाई कसरी छान्नुभयो हामीलाई जानकारी भएन ।’ उनले यसबारेमा डब्लूएचओबाटै जानकारी लिन आग्रह गरे ।
तर, विश्व स्वास्थ्य संगठन नेपाल कार्यलयका अधिकारीहरु भने नेपाल सरकारले गरेको काम भएको, कसलाई गराउने र कसरी गराउने अधिकार नेपाल सरकारको अधिकार क्षेत्रभित्र रहेको विषय भन्दै औपचारिक रुपमा बोल्न तयार छैनन् । एक अधिकारीले अनौपचारिक रुपमा भने, ‘नेपाल सरकारले गर्ने काममा विश्व स्वास्थ्य संगठनले टेक्निकल रुपमा मात्र सहयोग गर्ने तर कसलाई गराउने र कसरी गराउने अधिकार नेपाल सरकारको हो । नेपाल सरकारले गरिरहेको काममा बोल्नु उपयुक्त हुँदैन ।’
नेपालमा आइल्याकअन्तर्गतको एप्याकको नेपाली बडीका रुपमा एईआरएसएससी आईएसओ एक्रिडिटेसन गर्ने स्वायत्त निकाय हो । तर, सरकारले नेपाली निकायलाई बाइपास गर्दै ग्याप एनालाइसिसका लागि भारतीय निजी कम्पनी भित्र्याएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डब्लूएचओको सहयोगमा एक्रिडिटेसनका लागि ग्याप एनालाइसिसको काम लगभग एक चरण सकेको डा. भट्टले जानकारी दिए । ‘ग्याप एनालाइसिसको काम हामीले एक चरण सकिसकेका छौं,’ उनले भने, ‘ग्याप एनालाइसिसका क्रममा भेटिएका कमजोरीहरु सुधार गरेर हामी एक्रिडिटेसनमा जान्छौं ।’
ग्याप एनालाइसिसअन्तर्गत प्रयोगशालाले प्रयोग गर्ने सिष्टम, उपकरण, कार्यविधि, जनशक्ति, दस्तावेजीकरण, गुणस्तर व्यवस्थापन प्रणालीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेल खान्छ कि खादैन भन्ने हेरिन्छ । यसमार्फत कमजोरी पत्ता लगाउने र सुधारका उपाय खोज्ने, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) पूरा गर्ने, गुणस्तर सुधार गर्ने, निरन्तर सुधार, रणनीतिक योजना निर्माण र जोखिम नियन्त्रणजस्ता कार्यहरु गरिन्छ ।
अहिले सात वटा प्रादेशिक प्रयोगशाला, वीर अस्पताल, कोशी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला एक्रिडिटेसन गरिदैछ । यसैगरी, प्रसूति गृहको प्रयोगशाला भने जर्मन सहयोगमा ग्याप एनालाइसिस गर्न लागिएको डा. भट्टले बताए ।
भूल सुधारः यस अघि ग्याप एनालाइसिस हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । –सं