काठमाडौं—मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले तीन वटा सेवा विस्तार गरेको छ । २३ मंसिरबाट अस्पतालले औपचारिक रुपमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।
‘यही हप्ताबाट निकै आवश्यकता खटकिरहेको न्यूरो सर्जरी, आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी सेवा विस्तार गरेका छौं,’ अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले भने, ‘बच्चाको मसलमा देखिने समस्या हामीले अत्याधुनिक मेसिनबाट हुने गरी व्यवस्था मिलाएका छौं । यो मेसिन नेपालमा हामीसँग मात्र छ ।’
अस्पतालले अत्याधुनिक सागेर सिक्वेन्सिङबाट आनुवंशिक परीक्षण सेवा सुरु गरेको हो । आनुवंशिक परीक्षणका लागि निजामती कर्मचारी अस्पतालमा क्लिनिक जेनेटिक्स डा. रुपेशकुमार मिश्रको टिम छ ।
यस्तै, अस्पतालले बालबालिकाहरुका स्नायु सम्बन्धी पेडियाट्रिक न्यूरोलोजी सम्बन्धी सेवा समेत सुरु गरेको छ । यो सेवा डा. दिपक मोक्तानले सेवा दिने निजामती कर्मचारी अस्पतालले जनाएको छ ।
अस्पतालले न्यूरो सर्जरी सेवालाई पनि प्रारम्भ भएको जानकारी दिएको छ । न्यूरो सर्जन डा. सुशील मोहन भट्टराई निजामती कर्मचारी अस्पताल सेवा दिनेछन् । डा. भट्टराई यसअघि वीर अस्पतालमा थिए ।
मुलुकमा प्रमुख अस्पतालहरुमध्येमा पर्ने निजामती कर्मचारी अस्पताल वि.सं. २०६४ सालमा स्थापना भएको हो । सुरुमा निजामती कर्मचारीहरुको विभागीय अस्पतालका रुपमा स्थापित यो अस्पताल अहिले सर्वसाधारणका लागि पनि प्रमुख रोजाइमा पर्दै आएको छ ।
