विराटनगर -कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अस्पतालहरूको भौतिक पूर्वाधार सुधार, विशेषज्ञ सेवाको विस्तार तथा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ ।
सरकारले प्रदेश मातहतका अस्पतालहरूलाई न्यूनतम ५० शैय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । विराटनगरस्थित शैलजा आचार्य कोशी प्रादेशिक अस्पतालमा ‘हृदय केन्द्र’ स्थापना गरी मुटुरोग सेवा सञ्चालनका लागि पूर्वाधार विकास गरिने नीति लिइएको छ ।
साथै, उक्त अस्पतालमा आकस्मिक सेवा, डायलाइसिस तथा प्रसूति सेवाको विस्तार गरिने उल्लेख छ ।
धनकुटामा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाइने
स्वास्थ्य शिक्षातर्फ धनकुटामा चिकित्साशास्त्र (मेडिकल) विधाको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । साथै, मनमोहन प्राविधिक विश्वविद्यालयलाई वैज्ञानिक अनुसन्धान तथा आविष्कार केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ ।
कोशी सरकारले क्षयरोग नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘एआई एक्स–रे’ सेवा विस्तार गर्ने जनाएको छ । यस्तै, मानसिक रोग, लागूऔषध दुर्व्यसन तथा आत्महत्या रोकथामका लागि सरकारी र निजी क्षेत्रको साझेदारीमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने नीति समेटिएको छ ।
उच्च मातृ तथा नवशिशु मृत्युदर घटाउन रणनीतिक स्थानमा रहेका बर्थिङ सेन्टरहरूको व्यवस्थापन तथा एकीकरण गरिनेछ । नवजात शिशुका लागि अस्पतालहरूमा एसएनसियु र एनआइसियुसेवाको सुदृढीकरण तथा विस्तार गरिने लक्ष्य राखिएको छ । बालबालिकाको समग्र स्वास्थ्य तथा पोषण सुधारका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
मानव, वातावरण र पशु स्वास्थ्यलाई एउटै दृष्टिकोणबाट सम्बोधन गर्न सरकारले ‘वान हेल्थ एप्रोच’ को अवधारणा अघि सारेको छ । साथै, आयुर्वेद, होमियोप्याथी तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई सुदृढ गरिनेछ । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँगको सहकार्यमा प्रादेशिक आयुर्वेद अस्पतालको क्षमता विकास गरिने नीति लिइएको छ ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानलाई समुदायस्तरसम्म विस्तार गर्दै नसर्ने रोगको रोकथामका लागि स्क्रिनिङ तथा जोखिम मूल्याङ्कन गरिनेछ । विद्यालयस्तरदेखि नै जनस्वास्थ्य प्रवर्द्धन गर्न ‘विद्यालय नर्सिङ सेवा’ लाई निरन्तरता दिइने उल्लेख छ ।
त्यसैगरी, ज्येष्ठ नागरिकका लागि ‘स्वस्थ बुढ्यौली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरी उनीहरूको जीवनयापन सहज बनाइने सरकारको योजना छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्दै अनुसन्धान तथा महामारी पुष्टि गर्ने प्रमुख केन्द्रका रूपमा विकास गरिने संकल्प पनि कोशी सरकारले गरेको छ ।