२०८३ असार १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल

जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल


विराटनगर—साँझ परेपछि सुनसरी इटहरी–१५ की ६९ वर्षीया दिलकुमारी खड्काको संसार विस्तारै धमिलिन थाल्थ्यो । उमेर ढल्किँदै जाँदा आँखामा छाएको तुवाँलोले उनलाई आफ्नै घरभित्र हिँडडुल गर्न पनि कठिन हुन्थ्यो । तर, विराटनगर–१५ स्थित रानी आँखा अस्पताल आइपुगेपछि उनको जीवनमा फेरि उज्यालो फर्किएको छ ।

मोतियाबिन्दुले खुम्चिएको उनको दृष्टि अहिले तङ्ग्रिएको छ । अस्पतालले ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्ने थाहा पाएपछि परिवारले उनलाई यहाँ ल्याएका थिए । चिकित्सकले परीक्षण गर्दा मोतियाबिन्दु पुष्टि भयो र लगत्तै शल्यक्रिया गरियो । ‘अहिले त राम्रोसँग देख्ने र हिँडडुल गर्न सक्ने भएँ,’ उपचारपछि प्रसन्न देखिएकी दिलकुमारीले भनिन्, ‘अस्पतालले निःशुल्क उपचार मात्रै होइन, चस्मा र औषधि पनि दियो, म त दंग छु ।’

दिलकुमारी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै विराटनगर–१६ का ७९ वर्षीय बद्रीप्रसाद दाहाल पनि अहिले प्रफुल्ल छन् । मोतियाबिन्दुकै कारण दृष्टि गुमाउने अवस्थामा पुगेका दाहालको पनि अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिएको छ । त्यस्तै, विराटनगरकै ७५ वर्षीय अशोककुमार राई र मोरङको विराटचोककी ७४ वर्षीया द्रोणकुमारी पोखरेलले पनि यस अस्पतालबाट नयाँ दृष्टि पाएका छन् ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार सेवा सञ्चालन गरेको हो । अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाका अनुसार गत फागुन १ बाट सुरु भएको यो अभियानबाट हालसम्म ५० जनाभन्दा बढीले लाभ लिइसकेका छन् ।

‘हामीले ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति, एकल महिला र एकल पुरुषका लागि पनि मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएका छौँ,’ बास्तोलाले भनिन् ।

अस्पतालमा दैनिक झण्डै २०० जना बिरामी आँखा जाँचका लागि आउने गरेका छन् । तीमध्ये दैनिक तीन जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य अस्पतालले राखेको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालको टोलीले बिरामीको उपचार गरिरहेको छ ।

कसरी लिने सेवा ?

यो निःशुल्क सेवा लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साथै, परिचय खुल्ने नागरिकताको प्रमाणपत्र र हालसालै खिचिएको फोटो लिएर आउने जोसुकै लक्षित वर्गले यो सुविधा पाउने अस्पतालले जनाएको छ ।

सामान्यतयाः मोतियाबिन्दुको शल्यक्रिया खर्चिलो हुने भएपनि अस्पतालले शल्यक्रिया, आवश्यक औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराएपछि विपन्न र सहाराविहीन ज्येष्ठ नागरिकलाई ठूलो राहत मिलेको छ ।

उमेरका कारण दृष्टि गुमाएर अँध्यारोमा बस्न बाध्य नागरिकका लागि रानी आँखा अस्पतालको यो मानवीय कार्य अहिले विराटनगर क्षेत्रमा प्रशंसनीय बनेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ