काठमाडौं— नेपाल मेडिकल काउन्सिलले देशभर अनुमति नलिई सञ्चालनमा रहेका तथा न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि अनुगमन, नियमन र कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मंगलबार काउन्सिल निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले परिपत्र गर्दै मापदण्ड नपुगेका स्वास्थ्य संस्थाको अनुगमन, नियमन र कारवाही गर्न निर्देशन दिएका हुन् ।
काउन्सिलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य र सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा महाशाखा तथा स्थानीय तहलाई पठाएको पत्रमा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरू कानुनबमोजिम सञ्चालन अनुमति नलिई सेवा सञ्चालन गरिरहेको उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनबाट देखिएको उल्लेख छ ।
त्यस्तै, सञ्चालन अनुमति प्राप्त केही स्वास्थ्य संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण र दर्तावाला योग्य जनशक्तिको अभाव पाइएको काउन्सिलले जनाएको छ ।
दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरुको तत्काल पहिचान गरी तत्काल बन्द वा नियमानुसार कारवाही गर्ने र सञ्चालन अनुमति प्राप्त भएतापनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरुलाई सुधारका लागि निर्देशित गर्ने र सुधार नभएमा नियमानुसार कारवाही गर्न काउन्सिलले भनेको छ ।
