२०८३ असार २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता

स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि नर्वेजियन राजदूत ड्याग्नी म्योसबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा स्वास्थ्यमन्त्री मेहता र राजदूत म्योसबीच भेटवार्ता भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–नर्वेबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो । यस्तै, नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा नर्वे सरकारले पुर्‍याउँदै आएको सहयोगको नेपालले प्रशंसा गरेको थियो ।

सो अवसरमा मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्र सरकारका प्राथमिकतामा रहेको उल्लेख गर्दै यी क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गरेकी थिइन् ।

राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुरूप स्वास्थ्यलगायतका क्षेत्रमा आगामी दिनमा पनि नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ