काठमाडौं—नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहबीच हरिदासले मन्त्री खनालसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
यसअघि एक वर्षसम्म नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिको रूपमा कार्य गरिसकेका श्रीलंकाली नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिको रूपमा कार्यभार सम्हालेका हुन् ।
हरिदासको एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम र मानवीय सहायताका क्षेत्रमा २३ वर्षभन्दा बढी लामो अन्तर्राष्ट्रिय अनुभव रहेको छ।
औपचारिक प्रमाणपत्र बुझ्ने क्रममा मन्त्री खनाल र नवनियुक्त प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबिचको बलियो साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक समानता एवं तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको थियो। साथै, नेपालको बदलिँदो जनसाङ्ख्यिक परिदृश्यलाई सम्बोधन गर्न र समावेशी तथा दिगो विकासका लागि जनसाङ्ख्यिक तथ्याङ्क प्रणाली र विश्लेषणलाई सुदृढ बनाउने महत्त्वमा जोड दिइएको थियो ।
त्यसक्रममा परराष्ट्रमन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरूलाई अघि बढाउन र स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिने उल्लेख गरे । नेपालले बदलिँदो जनसाङ्ख्यिक प्रवृत्तिलाई सम्बोधन गरिरहेको यस अवस्थामा जनसाङ्ख्यिक परिवर्तन र जनसङ्ख्याको गतिशीलतालाई विकास योजनाहरूमा एकीकृत गर्न युएनएफपीएलगायत साझेदारहरूसँगको रणनीतिक सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकासका प्राथमिकताहरू तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलनको कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्याए । राष्ट्रिय जनसंख्या प्रणालीलाई सुदृढ गर्नका लागि सरकार तथा सरोकारवाला साझेदारहरूसँग मिलेर काम गर्ने स्पष्ट पार्दै उनले नेपाल हाल एक महत्त्वपूर्ण जनसाङ्ख्यिक मोडमा रहेको र दिगो विकासका लागि परिवर्तनको लाभ उठाउने ठूला अवसरहरू रहेको औँल्याए ।
हरिदासले जनसाङ्ख्यिक सूचना एवं ज्ञानलाई सुदृढ गर्न, महिला, किशोरी र युवाहरूको अधिकार तथा छनोटको रक्षा गर्न, र जनसङ्ख्याको गतिशीलताले समावेशी एवं दिगो विकासमा योगदान पुर्याउने कुरा सुनिश्चित गर्न नेपाल सरकारसँगको युएनएफपीएको साझेदारीलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको समेत उल्लेख गरे ।
युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। यसले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार ल्याउन, लैङ्गिक समानताको प्रवर्द्धन गर्न, युवाहरूलाई सशक्त बनाउन, जनसङ्ख्या तथ्याङ्क प्रणालीलाई सुदृढ गर्न र विकासको मूल प्रवाहमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न राष्ट्रिय प्रयासहरूमा सहयोग पुर्याउँदै आएको छ ।