२०८३ साउन ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने

वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने

इमर्जेन्सीलाई १५० शय्यामा विस्तार गर्ने र फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र इम्प्लान्टमाथि पनि निगरानी राख्न सुझाव


काठमाडौं—मुलुककै जेठो वीर अस्पताल सुधारका लागि सुझाव दिन गठित समितिले हालको वीर अस्पताललाई सिटी अस्पतालका रुपमा विकास गर्नुपर्ने सुझाव दिएको छ । बैशाख २०८२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदन उपाध्यायको नेतृत्वमा बनाएको वीर अस्पताल सुधार समितिले हालको स्थान र संरचनाबाट सेवा विस्तार पर्याप्त नभएको यथार्थतालाई ध्यानमा राख्दैं वीरलाई सिटी अस्पतालका रुपमा विकास गर्न सुझाव दिएको हो ।

‘वीर अस्पतालको छविलाई थप उचाइमा पु¥याउनका लागि हालको स्थान र संरचनाबाट सेवा विस्तार गर्न पर्याप्त नभएको यथार्थलाई ध्यानमा राखी हालको स्थानलाई जनरल र सबस्पेसियालिटी सेवा दिने गरी सिटी अस्पतालका रुपमा विकास गर्ने,’ विज्ञहरु समेत समेटिएको उक्त समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ । डा. उपाध्याय नेतृत्वको समितिले विभिन्न शीर्षकमा सुझाव दिइएको छ । हेल्थआवाजले यो समाचारमा प्रतिवेदनमा ‘स्वास्थ्य सेवा’ शीर्षकमा दिइएका सुझावहरुलाई मात्र समेटिएको छ ।

समितिको प्रतिवेदनमा इमर्जेन्सी सेवामा सहज पहुँचका लागि ट्रमाबाहेक १०० देखि १५० शय्यासम्म विस्तार गर्नुपर्ने, यसका लागि इमर्जेन्सी विभागलाई थप स्रोत साधन सम्पन्न बनाउनुपर्ने उल्लेख छ । यस्तै, अस्पतालमा हुने भिडभाडलाई कम गर्न अनलाइन सेवा प्रयोगकर्तामैत्री बनाउने, जनरल र रिफरल काउन्टर वृद्धि एवं व्यवस्थित गर्ने, पर्याप्त साइन पोष्टहरुको व्यवस्था गर्ने र हेल्थ डेक्सलाई प्रभावकारी बनाउँदैं संख्या वृद्धि गर्ने सुझाव समितिको प्रतिवेदनमा छ । समितिले अन्तरंग सेवालाई प्रभावकारी बनाउन न्यूनतम सेवा मापदण्डअनुसार डाक्टर, नर्स र स्वास्थ्यकर्मीको व्यवस्थासँगै भौतिक पूर्वाधार र औजार उपकरण व्यवस्था गर्नुपर्ने प्रतिवेदन दिएको छ ।

यस्तै, समितिले अस्पताललाई अन्तर्राष्ट्रियस्तरको र सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गर्न भक्तपुरस्थित दुवाकोटमा भौतिक संरचना निर्माण गरी सेवा प्रवाह गर्नुपर्ने सुझाव समेत दिएको छ ।

रेफरलको समस्या समाधान गर्नका लागि वीर अस्पतालले जनरल सेवा, सव स्पेसियालिटी सेवा र सुपरस्पेसियालिटी सेवाहरुलाई छुटयाउन आवश्यक रहेको समितिको निष्कर्ष छ । त्यसका लागि योजनामा रहेको दुवाकोट संरचनालाई सुपरस्पेसियालिटी र विशुद्ध रेफरलमा आधारित अस्पतालका रुपमा विकसा गर्नुपर्ने समितिको सुझाव छ ।

समितिले विशेषज्ञ सेवामा प्रभावकारिता ल्याउन विशेषज्ञ सेवा दिइरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरुसँग क्लिनिकल कोलाब्रेसन गर्ने, व्यवस्थापन, सेवा र अनुसन्धानमा गुणस्तरीयता कायम गर्न गुणस्तरीय व्यवस्थापन र पेसेन्ट सेफ्टी विभाग गठन गर्न, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, दीर्घकालीन वित्तिय व्यवस्था, जवाफदेहिता र सहकार्यका लागि अस्पताल व्यवस्थापन बोर्डको आवश्यकताको बारेमा उचित निर्णय गर्न पनि सुझाइएको छ ।

यस्तै, समितिले फार्मेसीलाई अस्पताल फार्मेसीको अवधारणामा विकास गर्ने, सेवाग्राहीको युनिक आईटी तयार गरी हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिष्टम (एचएमआईएस)सँग जोड्ने, फार्मेसीलाई केस लोडका आधारमा विभिन्न युनिटमा विस्तार गर्ने सुझाव पनि दिएको छ । ‘यसो गर्दा फार्मेसीलाई विभागका रुपमा विकास गर्ने र यसको नेतृत्व क्लिनिक फर्माकोलोजी (एमडी फर्माकोलोजी)ले गर्ने,’ समितिको प्रतिवेदनमा छ, ‘विभागबाट प्रदान गरिएका सेवाको विवरण र आम्दानीको अवस्था अस्पताल व्यवस्थापन र मन्त्रालयलाई ड्यासबोर्डमार्फत जानकारी गराउने ।’

यस्तै, प्याथोलोजी र रेडियोलोजी विभागबाट प्रदान गरिने सेवाहरुलाई समेत एचएमआईएससँग पूर्ण रुपमा एकीकृत गर्न सुझाव दिइएको छ भने बिरामीहरुका लागि प्रयोग गर्ने सबै प्रकारका मेडिकल इम्प्लान्ट, स्टेन्टहरुको नाम, उत्पादन गर्ने कम्पनी, गुणस्तर, नेपालको आधिकारिक बिक्रेता र मूल्यसहितको विवरण उपलब्ध हुने गरी अस्पताल व्यवस्थापन र मन्त्रालयलाई ड्यासबोर्डमार्फत जानकारी गराउनुपर्ने उल्लेख छ ।

अस्पतालमा कार्यरत कर्मचारी, सेवाग्राही र भिजिटरलाई स्वच्छ र गुणस्तरीय खानाको व्यवस्था सहज रुपमा गर्न क्यान्टिन विभिन्न स्थानमा विस्तार गर्न पनि सुझाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको बलियो सरकार बनेसँगै वीर अस्पतालमा तीब्र सुधारको अपेक्षा गरिएको छ । ‘अहिले बलियो सरकार छ, स्वास्थ्य मन्त्रालयको ऐना भनेको वीर अस्पताल हो,’ स्वास्थ्य मन्त्रालय निकट स्रोतले भन्यो, ‘यतिबेला त्यो समितिले दिएका सुझावहरु कार्यान्वयनमा ल्याउन सकेमा त्यसले स्वास्थ्य क्षेत्रमै नयाँ सन्देश जान्थ्यो ।’

(नोटः समितिले स्वास्थ्य शिक्षा, कर्मचारी व्यवस्थापनलगायतका विषयमा दिएका सुझाव अर्को श्रृखलामा प्रकाशित हुनेछ । स.)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ