२०८३ साउन ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी

चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी


काठमाडौं—चिकित्सा शिक्षा आयोगको रिक्त चार वटा महत्वपूर्ण निर्देशक पदका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ । आयोगको चार वटा प्रभावशाली निर्देशनालयको रिक्त चार निर्देशक पदका लागि १२ जना चिकित्सकहरु मैदानमा छन् ।

आयोगको मापदण्ड तथा प्रत्यायन, योजना, समन्वय र प्राज्ञिक उन्नय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी चार वटा निर्देशनालय छन् । चार वटै निर्देशनालयमा निर्देशक पद रिक्त छन् ।

रिक्त निर्देशक पदका लागि आयोगले २६ असारमा आवेदन माग गरेको थियो । आवेदकहरुमध्येबाट योग्यता, कार्य अनुभव र सोचपत्रको मूल्याङ्कनमा उत्कृष्ट १२ जना प्राध्यापक डाक्टरहरुको अन्तिम सूची आयोगले सार्वजनिक गरेको छ ।

अन्तिम सूचीमा परेका १६ जनालाई आयोगले ८ साउनमा अन्तर्वार्ताका लागि बोलाइएको छ । अन्तर्वार्ताबाट समेत उत्कृष्ट भएका चार जना आयोग चार वटा निर्देशनालयको निर्देशक बन्नेछन् ।

आयोगको चार वटा निर्देशक पदका लागि प्रतिस्पर्धामा चिकित्सा क्षेत्रका अनुभवी तथा प्रशासनिक अनुभव भइसकेका विज्ञ चिकित्सकहरु प्रतिस्पर्धामा छन् ।अनुभवी र प्राज्ञिक चिकित्सकरुको दौडले आयोगको निर्देशकको प्रतिस्पर्धालाई रोचक बनाइदिएको छ ।

अनुभवी अनुहारहरूको वर्चस्व

१. प्रा.डा. दयाराम पोखरेल
बारबर्दिया—४ बर्दियाका प्रा.डा. पोखरेल बायोकेमेष्ट्रीका प्राध्यापक हुन् । उनी हाल मणिपाल मेडिकल कलेजमा प्राध्यापकका साथै बायोकेमेष्ट्री विभागका प्रमुख छन् ।

२. प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ
काठमाडौंका प्रा.डा. दिपेन्द्र श्रेष्ठ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापक हुन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ उनी यसअघि वीर अस्पतालको विभागीय प्रमुख समेत रहिसकेका अनुभवी चिकित्सक हुन् ।

३. प्रा.डा. दिलिप शर्मा
भक्तपुरका प्रा.डा. शर्मा वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनीवीर अस्पतालको निर्देशक, चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारजस्ता चिकित्सा शिक्षाका प्रमुख प्रशासनिक पदहरू सफलतापूर्वक सम्हालिसकेका अनुभवी चिकित्सक हुन् ।

४. प्रा.डा. विनोदकुमार यादव
महोत्तरी औरहीका प्रा.डा. यादव मेडिकल बायोकेमिस्ट्रीका प्राध्यापक हुन् । उनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारको रूपमा प्रशासनिक नेतृत्व सम्हालिरहेका छन् ।

५. प्रा.डा. मृगेन्द्र अमात्य
ललितपुर निवासी प्रा.डा. अमात्य चिकित्सा क्षेत्रका वरिष्ठ प्राध्यापक तथा विभिन्न स्वास्थ्य सेवा एवं शिक्षण संस्थामा लामो समयदेखि आवद्ध विशेषज्ञ चिकित्सक हुन् ।

६. प्रा.डा. रविन्द्रमान श्रेष्ठ
ललितपुरका प्रा.डा. श्रेष्ठ पिपुल्स कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल हुन् । अर्थोडोन्टिस्टका प्राध्यापक उनले नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका थिए । काउन्सिलका पूर्व सदस्य तथा स्वास्थ्य एवं चिकित्सा शिक्षा क्षेत्रका लामो प्राज्ञिक अनुभव भएका प्राध्यापक हुन्— उनी ।

७. प्रा.डा. विष्णुप्रसाद शर्मा
ललितपुरका स्थायी वासिन्दा प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पाटन अस्पतालका पूर्व निर्देशक समेत हुन् । त्यहाँ उनले लामो समय प्राध्यापन पनि गराएका थिए । प्रा.डा. शर्मा अहिले नेपाल मेडिकल कलेजमा डेन्टल डाइरेक्टरका रुपमा कार्यरत छन् । केही समय उनी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सक्रिय थिए । प्रा.डा. शर्मा अनुभवी चिकित्सक तथा प्राज्ञका गनिन्छन् ।

८. प्रा.डा. संघरत्न बज्राचार्य
काठमाडौंका प्रा.डा. बज्राचार्य चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको पूर्व निर्देशक हुन् । उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को फर्माकोलोजीका प्राध्यापक हुन् ।

९. प्रा.डा. सञ्जयकुमार श्रेष्ठ
काठमाडौंका प्रा.डा. श्रेष्ठ चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका अनुभवी प्राध्यापक तथा आयोगका विभिन्न कार्यकारी पदहरूको प्रतिस्पर्धामा निरन्तर सक्रिय विज्ञ हुन् ।

१०. प्रा.डा. सन्ध्या चापागाई आचार्य
भक्तपुरको मध्यपुर थिमी निवासी प्रा.डा. सन्ध्या वीर अस्पतालकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । उनी नेपाल मेडिकल काउन्सिलमा सरकारबाट मनोनित पूर्व सदस्य रहिसकेकी महिला प्राज्ञिक व्यक्तित्व हुन् । वीरको क्लिनिकल कोर्डिनेटर, एकेडेमिक कोर्डिटरसमेत रहिसकेकी उनी आयोगको निर्देशकको प्रतिस्पर्धामा रहेकी एक्ली महिला उम्मेदवार हुन् ।

११. प्रा.डा. सुरज बज्राचार्य
काठमाडौंका प्रा.डा. बज्राचार्य किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालका पूर्व निर्देशक हुन् । हाल उनी स्टार अस्पतालको अस्पताल निर्देशकका रुपमा कार्यरत छन् । अर्थोपेडिक्सका प्राध्यापक प्रा.डा. बज्राचार्य स्वास्थ्य संस्थामा उच्च प्राज्ञिक तथा चिकित्सकीय अनुभव भएका प्राध्यापक हुन् ।

१२. प्रा.डा. शैलेश प्रधान
ललितपुर महालक्ष्मीका प्रा.डा. प्रधान चिकित्सा शिक्षा क्षेत्रका दक्ष प्राध्यापक एवं विभिन्न प्राज्ञिक समितिहरूमा अनुभव संगालेका विज्ञ चिकित्सक हुन् । उनी काठमाडौं मेडिकल कलेजको प्याथोलोजी विभागका हेड तथा प्याथोलोजीका प्राध्यापक हुन् । प्रा.डा. प्रधान नेपाल मेडिकल एशोसिएसनका एक कार्यकालका कार्यकारी समिति सदस्य पनि रहिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ