काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दक्षिण कोरियाको सोल नेशनल युनिभर्सिटीसँगको सहकार्यलाई ‘अस्पतालजन्य संक्रमण’का विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ९ साउनमा गंगालाल र सोल नेशनल युनिभर्सिटीका डाक्टरहरुको उक्त एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी दिर्नेशक डा. रविन्द्र भक्त तिमलाले जानकारी दिए ।
गंगालालमा भएको उक्त गोष्ठीमा अस्पतालजन्य संक्रमण न्यूनीकरणका उपायबारे छलफल भएको थियो । यस्तै, कार्यशालामा दक्षिण कोरियाबाट आएका पाँच जना विशेषज्ञ चिकित्सक तथा गंगालालका चिकित्सकबीच संक्रमण नियन्त्रणका नवीनतम अभ्यास, अनुभव आदान—प्रदान र प्रविधि हस्तान्तरणबारे विस्तृत छलफल गरेका थिए ।
‘गोष्ठी निकै लाभदायक र उपयोगी भयो,’ डा. तिमलाले भने, ‘त्यहाँबाट प्राप्त निष्कर्षलाई अस्पतालमा क्रमशः कार्यान्वयन गर्दै लैजान्छौं ।’
यसअघि दक्षिण कोरियाको जे.डब्लु. ली ग्लोबल मेडिकल सेन्टरबाट आएका प्रख्यात बाल मुटु शल्यचिकित्सक प्रोफेसर वुङ–हान किम र गंगालालका चिकित्सकहरूको संयुक्त टोलीले जटिल मुटुरोगबाट पीडित सात बालबालिकाको सफल शल्यक्रिया सम्पन्न गरेको थियो । शल्यक्रियापछि सबै बालबालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको केन्द्रले जनाएको छ।
‘यो अन्तर्राष्ट्रिय सहकार्य र प्रविधि हस्तान्तरणले गंगालाललाई अझ गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको मुटु उपचार सेवा प्रदान गर्न सक्षम बनाउनेछ,’ डा. तिमलाले भने ।