काठमाडौं—वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए)को आव्हानमा देशभरका अस्पतालहरुमा ओपीडी सेवा दोस्रो दिन पनि बन्द भएको छ । बुधबार संघको आव्हानमा देशभरका अस्पतालहरुमा ओपीडी सेवा चिकित्सकहरुले बहिष्कार गरेका छन् ।
यसअघि मंगलबार पनि देशभरका अस्पतालहरुमा चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेका थिए । काठमाडौंका ठूला सरकारी अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, विराटनगरको कोशी अस्पताल, नारायणी अस्पताल, लुम्बिनी अस्पताल, भेरी अस्पतालजस्ता ठूला सरकारी अस्पतालहरूमा ओपीडी सेवा पूर्ण रूपमा बन्द रहँदा बिरामीको बिचल्ली भएको छ ।
कतिपय अस्पतालको ओपीडी टिकट काउन्टरमा ‘सेवा बन्द’ को सूचना टाँसिएको छ । स्वास्थ्यजस्तो अत्यावश्यक क्षेत्रमा सेवा अवरुद्ध हुँदा टाढा–टाढाबाट आएका बिरामीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।
ओपीडी सेवा बन्दसँगै नेपाल चिकित्सक संघले बुधबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा चिकित्सकहरुले नारायणी घटनाको दोषीलाई कारवाही गर्नुपर्ने, चिकित्सकहरुको सुरक्षा गर्नुपर्नेलगायतका माग गरेका छन् ।
गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि बिरामीको मृत्युपछि आक्रोशित भिडले कुटपिट गरेको थियो । उक्त कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मंगलबारदेखि देशभर आन्दोलित छन् ।