२०८३ साउन १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल

स्वास्थ्य मन्त्रालयले खटाएको जनशक्तिको विषयमा निर्णय गर्न ढिलाइ


काठमाडौं—शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा रहेको गेटा अस्पताल अझै विश्वविद्यालयलाई हस्तान्तरण हुन सकेको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६ साउनमा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न परिपत्र गरेपनि अस्पताल हस्तान्तरण नगरी तत्कालीन निमित्त निर्देशक डा. प्रमोदकुमार यादव बिदा भएर हिडेका छन् ।

नेपाल सरकारको २४ असारमा बसेको मन्त्रिपरिषद बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पताल स्वीकृती प्रदान गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफूले खटाएका १ जना चिकित्सकबाहेक अन्य ३० जना कर्मचारीको हकमा कुनै निर्णय गरेको छैन ।

अस्पतालका सुचना अधिकारी नैनसिंह कार्कीले निमित्त निर्देशक फर्ता भइसकेको र अस्पताल हस्तान्तरण भइनसकेको बताए । ‘स्वास्थ्य मन्त्रालय मातहतका ३० जना कर्मचारी कार्यरत भएपनि ५ जना अध्ययन बिदामा रहेकाले २५ जना अस्पतालमै कार्यरत हुनुहुन्छ,’ उनले भने ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ३०० शय्याको शिक्षण अस्पतालसँगै चालु शैक्षिक सत्रमै चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरु संचालन गर्ने तयारी गरिरहेको छ । विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ ।  विश्वविद्यालयले एमबीबीएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइसकेको छ।

चिकित्सा शिक्षा आयोगले जारी गरेको एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर अनुसार चिकित्सा शिक्षाको स्नातक तहको सिट निर्धारण असोज दोस्रो हप्तासम्म गर्ने जनाएको छ । सिट निर्धारणभन्दा अगाडि भदौ तेस्रो हप्तासम्म शिक्षण संस्थाको अनुगमन हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

विश्वविद्यालयले चिकित्सा शैक्षिक कार्यक्रमको संचालनको लागि शैक्षिक जनशक्तिको व्यवस्थापनको कार्यसमेत अघि बढाएको छ । ८ फागुन २०८२ मा गरिएको चिकित्सा शिक्षाका प्राध्यापक/सह—प्राध्यापकसँगै उप प्राध्यापक गरी ७७ जनशक्ति माग गरेको थियो । सो विज्ञापनअनुसार ३ प्राध्यापक र १४ सह—प्राध्यापकको अन्तिम नतिजा सार्वजिनक गरेको छ ।

विश्वविद्यालयले अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, प्राविधिक तथा प्रशासनिक कर्मचारीको व्यवस्थापनसमेत अघि बढाएको छ । संगठन तथा व्यवस्थापन स्वीकृत भइसकेकाले आवश्यकताअनुसार कर्मचारी पदपूर्तिका लागि शीघ्र विज्ञापन गर्ने तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ