काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको तत्काल स्वास्थ्य तथा अन्य अत्यावश्यक आवश्यकता सम्बोधन गर्न दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्तकालीन कोषबाट १ लाख ५० हजार अमेरिकी डलर आपत्तकालीन सहयोग उपलब्ध गराएको छ ।
नेपालमा पछिल्लो समय भएका सबैभन्दा गम्भीर विपत्तिमध्ये एक मानिएको भोटेकोशीको बाढीबाट प्रभावित समुदायको उद्धार तथा स्वास्थ्य प्रतिकार्यका लागि उक्त रकम प्रयोग गरिने डब्लूएचओले जनाएको छ ।
डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश वुद्धले भने, ‘आपत्तकालीन सहयोग रकमले तत्काल आवश्यक प्रतिकार्यका प्राथमिकताहरू पूरा गर्न सहयोग गर्नेछ । प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासमा डब्लूएचओ नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ ।’
यसअघि १० भदौंमा बाढी आएको केही घण्टामै डब्लूएचओले अत्यावश्यक आपत्तकालीन स्वास्थ्य सामग्री परिचालन गरी प्रभावित क्षेत्रमा पठाएको थियो । ती सामग्रीमा करिब १० हजार मानिसको तीन महिनासम्मको स्वास्थ्य आवश्यकतामा उपयोग गर्न सकिने अन्तरनिकाय आपत्तकालीन स्वास्थ्य किट तथा बहुउद्देश्यीय टेन्टसमेत रहेका थिए ।
तत्कालीन आवश्यकताको आधारमा डब्लूएचओले प्रभावित क्षेत्रमा सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य स्वास्थ्य सामग्री पनि थप परिचालन गरेको जनाएको छ ।
नेपाली सरकारी अधिकारीहरुकाअनुसार पछिल्लो विवरणअनुसार बाढीका कारण ७३० भन्दा बढी मानिसको मृत्यु, करिब २ हजार ५०० जना बेपत्ता, २०० भन्दा बढी घाइते भएका छन् भने ७४ जना उपचाररत छन् ।
बाढीबाट बागमती र गण्डकी प्रदेशका छ जिल्लामा करिब १० हजार घरपरिवारलाई तत्काल राहत आवश्यक रहेको अनुमान गरिएको छ । ती क्षेत्रहरूमा ठूलो जनधनको क्षति, विस्थापन तथा स्वास्थ्य संस्थालगायत महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।
सबैभन्दा बढी प्रभावित रसुवा जिल्लाका चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धादिङका दुई स्वास्थ्य संस्था आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सडकमा क्षति पुगेका कारण धादिङ र त्रिशूलीका दुई अस्पतालमा पहुँच अवरुद्ध भएको छ । पहुँच कठिन भएका क्षेत्रमा विस्थापित जनसंख्यासम्म पुग्नु अझै चुनौतीपूर्ण रहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्लूएचओले सरकार तथा साझेदार संस्थाहरूसँग नजिकबाट सहकार्य गर्दै स्वास्थ्यसम्बन्धी प्रतिकार्यलाई समन्वय गर्ने, रोग निगरानी प्रणाली सुदृढ गर्ने, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्ने तथा देखा पर्न सक्ने स्वास्थ्य जोखिम पहिचान र न्यूनीकरण गर्ने कार्य गरिरहेको छ । सम्भावित स्वास्थ्य जोखिममा डुबानबाट हुने मृत्यु, चोटपटक, झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी रोग, पानी तथा खानाबाट सर्ने रोग र कीटजन्य रोग लगायतका समस्या रहेका छन् ।
यसैगरी, आफन्त गुमाउनु, घर तथा जीविकोपार्जनका साधन नष्ट हुनु, विस्थापन र भविष्यप्रतिको अनिश्चितताले प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक कल्याणमा समेत गम्भीर असर पार्न सक्ने डब्लूएचओले जनाएको छ।