विराटनगर—विराटनगर—५ बरगाछीस्थित लाइफ गार्ड अस्पतालको अति संवेदनशील मानिने शल्यक्रिया कक्ष (ओटी) भित्रै दुई सञ्चालक चिकित्सकबीच कुटपिट भएको छ । उपकरण प्रयोगको विषयलाई लिएर भएको विवादमा एक चिकित्सकले अर्काको टाउकोमा मोबाइल प्रहार गरी घाइते बनाएका हुन् ।
अस्पतालका सेयर सदस्य समेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले सर्जन डा. अभिषेक चौधरीलाई ओटीभित्रै आक्रमण गरेका हुन् । १० भदौको यो घटना गुपचुप राख्न खोजिए पनि प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो ।
अस्पताल स्रोतकाअनुसार एपेन्डिसाइटिसको शल्यक्रियाका लागि बिरामीलाई ओटीमा लगेर डा. चौधरी शल्यक्रियाको तयारीमा जुटेका थिए । सोही समयमा अर्का चिकित्सक डा. इकबाल ‘सी–आर्म’ (स्क्रिनिङ मेसिन) प्रयोग गर्ने विषयलाई लिएर विवाद गर्दै त्यहाँ प्रवेश गरेका थिए । विवादकै क्रममा डा. इकबालले हातमा रहेको मोबाइल फोनले डा. चौधरीको टाउकोमा प्रहार गरेका थिए ।
प्रहारबाट टाउकोमा चोट लागेका डा. चौधरी घाइते भएपछि ओटीमा रहेका अर्का सर्जन डा. सरोज राजवंशीले बिरामीको शल्यक्रिया सम्पन्न गरेका थिए । घटनाका बेला डा. चौधरीकी श्रीमती एवं एनेस्थेसिया विशेषज्ञ डा. इसितालगायत अन्य स्वास्थ्यकर्मीहरू समेत त्यहीँ उपस्थित थिए ।
चिकित्सकबीचको झगडा जिल्ला प्रहरी कार्यालय मोरङसम्म पुगेको थियो । प्रहरीमा उजुरी परेपछि डा. इकबालले आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागेपछि दुई पक्षबीच मिलापत्र भएको मोरङ प्रहरीले जनाएको छ । घाइते डा. चौधरीले ओटीभित्रै आफूमाथि आक्रमण भएको पुष्टि गरेपनि अहिले मिलापत्र भइसकेकाले थप बोल्न चाहेनन् ।
अस्पतालका अध्यक्ष इन्द्र भुजेलले भने एउटै उपकरण दुईतिर प्रयोग गर्नुपर्ने बाध्यताका कारण सामान्य असमझदारी मात्र भएको दाबी गरे । ‘मेसिन लिने र दिने क्रममा विवाद भएको हो । अहिले चिकित्सकहरूबीचको असमझदारी मिलिसकेको छ,’ भुजेलले भने ।
आरोपित डा. अहमद यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका छन् । २०८१ जेठमा स्वास्थ्य बीमामा आबद्ध बिरामीसँग नियम विपरीत ४० हजार रुपैयाँ अतिरिक्त रकम मागेको खुलेपछि लाइफ गार्ड अस्पतालको बीमा कार्यक्रम नै बन्द भएको थियो । कुल ९ जना सेयरधनी रहेको यस अस्पतालमा डा. इकबाल र डा. चौधरी दुवैको १०–१० प्रतिशत लगानी छ ।