काठमाडौं—चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सिमुलेसन शिक्षाको महत्व बढिरहेका बेला नेपालमा यसको सम्भावना, चुनौती र प्रयोगबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । अक्टोबर ७ देखि ९ सम्म तीन दिन ग्लोबल सर्जरी सिमुलेसन नेटवर्क (जीएसएसएन) र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा उक्त सम्मेलन काठमाडौंमा सञ्चालन हुनेछ ।
‘सिमनोभा २०२६ : सिमुलेसन शिक्षा, स्वास्थ्य सेवा नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना हुन लागेको हो । सम्मेलनको पहिलो दुई दिन ७ र ८ अक्टोबरमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा आयोजना हुनेछन् भने ९ अक्टोबरको मुख्य सम्मेलन तथा विशेष कार्यक्रमहरू वीर अस्पतालमा हुनेछ । सम्मेलन मिश्रित स्वरूपमा सञ्चालन हुनेछ ।
सिमुलेसन शिक्षाले विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई वास्तविक बिरामीमा अभ्यास गर्नुअघि सुरक्षित वातावरणमा सीप सिक्ने, गल्तीबाट सुधार गर्ने र आपत्तकालीन परिस्थितिको सामना गर्ने अवसर प्रदान गर्छ । चिकित्सा शिक्षा, शल्यचिकित्सा सीप, आपतकालीन उपचार, बिरामी सुरक्षा तथा समूहगत कार्यक्षमता विकासमा यसको प्रयोग विश्वका विभिन्न देशमा विस्तार हुँदै गएको छ ।
नेपालमा भने सिमुलेसन शिक्षाको अभ्यास अझै प्रारम्भिक चरणमा रहेको भए पनि पछिल्ला वर्षहरूमा यसप्रति चासो बढ्दै गएको छ । सीमित स्रोतसाधन भएको नेपालमा महँगा अत्याधुनिक उपकरणमा मात्र निर्भर नभई स्थानीय स्रोत, कम लागतका सामग्री, डिजिटल प्रविधि तथा सिर्जनात्मक अभ्यासमार्फत प्रभावकारी सिमुलेसन विकास गर्न सकिने विषय सम्मेलनको महत्वपूर्ण बहस बन्नेछ ।
सिमनोभा २०२६ ले नेपालमा सिमुलेसन शिक्षा सम्बन्धी संवादलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य राखेको छ । सम्मेलनमा चिकित्सा शिक्षा, शल्यचिकित्सा सीप प्रशिक्षण, कम लागतमा विकसित स्वास्थ्य प्रविधि, नवप्रवर्तन, अनुसन्धान तथा विश्वव्यापी सहकार्यका विषयमा प्रस्तुति र छलफल हुनेछन् ।
त्यस्तै, सहभागीहरूले सैद्धान्तिक छलफलसँगै व्यवहारिक तथा सीपमा आधारित गतिविधिमा सहभागी हुने अवसरसमेत पाउनेछन् । सम्मेलनले नेपालका विद्यार्थी, चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, अनुसन्धानकर्ता तथा स्वास्थ्य शिक्षा र नवप्रवर्तनमा रुचि राख्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय विज्ञ तथा संस्थासँग संवाद गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
‘नेपालमा सिमुलेसन शिक्षाको विकासका लागि स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधनअनुसार आफ्नै मोडल विकास गर्नुपपर्छ,’डा. विश्वविख्यात कार्कीले भने्, ‘विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीलाई लक्षित कम लागतका सिमुलेसन तथा सीप प्रशिक्षणका पहलहरूले सिमुलेसन शिक्षा महँगा उपकरणसहितको प्रयोगशालामा मात्र सीमित नरहेको सन्देश दिने प्रयास हाम्रो हुनेछ ।’
सिमनोभा २०२६ ले नेपालमा सिमुलेसन शिक्षाको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे खुला संवाद गर्दै आगामी पुस्ताका स्वास्थ्यकर्मीको शिक्षा तथा प्रशिक्षणलाई सुरक्षित, व्यावहारिक र नवप्रवर्तनमुखी बनाउन योगदान पुर्याउने अपेक्षा आफूहरुको रहेको उनले जानकारी दिए ।