काठमाडौं—भोटेकोशी बाढीपछि सुरुङबाट १० दिनपछि उद्धार गरेर अस्पतालमा उपचार गरिरहेका बिरामीको आईसीयुमा अन्तर्वार्ता लिएको विषय संसदमा पुगेको छ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले प्रतिनिधिसभामा बोल्दैं आईसीयुको संवेदनशीलता नबुझेर टिआरपीका लागि अन्तर्वार्ता लिएको भन्दैं आलोचना गरिन् ।
उनले मानिसको स्वास्थ्य स्थितीप्रति आईसीयु अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्था रहेको बिरामीहरुको छुट्याइएको विशेष कक्ष भएको बताइन् । ‘यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ,’ उनले भनिन्, ‘बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्र भेटघाट गर्न दिइन्छ । तपाईको बिरामी नाबालक नै किन नहोस् विशेष निश्चित प्रोटोकल अनपाएर मात्र भेटघाटको समय छुट्याइएको हुन्छ ।’ तर, दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको उनको भनाइ थियो ।
सांसद बाँस्तोलाले मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट कुनै इन्टरभ्यू र कुनै भ्यूज नहुने बताइन् । ‘मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ । त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आईसीयुमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लीजेन्सका बहुआयामिक विषयलाई समेटेर छिट्टै मेडिकल नेग्लीजेन्स ऐन पनि लागु गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
दुई दिन सञ्चारकर्मी सुरजसिंह ठकुरीले युट्युब च्यानल ‘इन्साइड द बंकर’का लागि त्रिशुली थ्री एको सुरुङबाट उद्धारपछि उपचाररत दुई जना बिरामीको आईसीयु कक्षमै अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्ता अहिले चर्को विवादमा परेको छ ।
सांसद बाँस्कोटाले संसदमा जे भनिन्…
आज म यहाँ यस्तो विषय उठाउन खोजिरहेको छु, जसले हाम्रो संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ । त्यो प्रश्न केवल मिडियाकर्मी, स्वास्थ्यकर्मी वा सञ्चारजगत मात्रै होइन् आम मानिसको स्वास्थ्य स्थितीप्रति हाम्रो बुझाइ के छ भन्ने विषयको पनि संवेशीलतातामाथि प्रश्न गर्छ ।
यो प्रश्न आईसीयु अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्था रहेको बिरामीहरुको छुट्याइएको विशेष कक्ष हो । यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ ।
बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्र भेटघाट गर्न दिइन्छ । तपाईको बिरामी नाबालक नै किन नहोस् विशेष निश्चित प्रोटोकल अनपाएर मात्र भेटघाटको समय छुट्याइएको हुन्छ । तर, दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ ।
यसले केही प्रश्नहरु खडा गरेको छ, ती प्रश्नहरु अस्पतालमा उपचाररत बिरामी अझ आईसीयुमै अन्तर्वार्ता लिनु र लिन स्वीकृती दिनु कति इथिकल प्रायक्टिस हो । विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ? किनभने हामीले देखेका छौं सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरी बिरामीको पहिलो अवस्था भने उसको भाइटल ठीक छ कि छैन भनेर स्वास्थ्यकर्मीले उपचार गर्नुपर्छ । तर, हामी मिडिया तेस्र्याएर सवाल जवाफमा उत्रिन्छौ । यसलाई पनि एउटा पत्रकारिताको संवेदनशीलता माथि ठूलो प्रश्न उठाएको छ ।
आईसीयु संवेदनशीलता, उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको प्रोटोकल कसरी मेन्टेन गर्ने, त्यो आईसीयुमा अन्तर्वार्ता लिने दुई बिरामीमात्र हुनुहुन्थ्यो कि आईसीयुमा अन्य बिरामी पनि हुनुहुन्थ्यो । अन्य बिरामीहरु पनि हुनुहुन्थ्यो भने उहाँहरुको जीवन रिस्कमा राख्न मिल्छ कि मिल्दैन् । अन्तर्वार्ता लिनका लागि क्यामरा, क्यामरा म्यानदेखि लिएर विभिन्न व्यक्तिहरुको त्यहाँ उपस्थिती हुने गरिन्छ । यो आफै एउटा क्रिटिकल केयर युनिट हो । त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कति संवेदनशील भएर एक घण्टाको अन्तर्वार्ता दियौं यो आफैमा प्रश्न चिन्ह छ । सम्बन्धित निकाय र चिकित्सकहरु कति गम्भीर बने बनेनन् स्वीकृती दिने अवस्थामा यो पनि एउटा ठूलो विषय भएर आएको छ ।
मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट कुनै इन्टरभ्यू र कुनै भ्यूज हुँदैन । मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ । त्यसैले म सरकारसँग के माग गर्न चाहन्छु भने अस्पतालमा उपचाररत बिरामी अझ आईसीयुमै अन्तर्वार्ता दिनुपर्ने यस्तो किसिमका मेडिकल नेग्लीजेन्सका बहुआयामिक विषयलाई समेटेर छिट्टै मेडिकल नेग्लीजेन्स ऐन पनि लागु गर्नुपर्ने हुन्छ ।