काठमाडौं—औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार विश्व फार्मासिस्ट दिवसको अवसरमा देशभरका फार्मासिस्ट तथा औषधि क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालालाई शुभकामना दिँदै उनले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
यस वर्षको विश्व फार्मासिस्ट दिवसको अन्तर्राष्ट्रिय नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ । महानिर्देशक भट्टराईले उक्त नाराले ‘स्वस्थ नेपाल’ निर्माणका लागि नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो सम्बन्ध राख्ने उल्लेख गरेको छ ।
‘सशक्त र दक्ष फार्मासिस्ट नै सबल औंषधि प्रणाली र समग्र स्वास्थ्य सेवाका मेरुदण्ड हुन् र सबल औषधि प्रणाली नै स्वस्थ नेपाल निर्माणको बलियो आधार हो,’ महानिर्देशक भट्टराईले भनेका छन्, ‘विश्व फर्मासिष्ट दिवस २०२६ को अवसरमा प्रत्येक बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी औषधिको पहुँच तथा सहज उपलब्धता गर्न गराउन सम्पूर्ण सरोकारवालाहरुलाई एकीकृत प्रतिवद्धताका साथ सदाझैं अघि बढ्न, सहकार्य र समन्वय हुन हार्दिक आग्रह गर्दछु ।’
महानिर्देशक भट्टराईले औषधिको तर्कसंगत प्रयोग, प्रतिजैविक औषधिको विवेकपूर्ण तथा जिम्मेवार प्रयोग, औषधि सुरक्षा निगरानी, औषधि प्रयोगको सुरक्षा, बिरामी परामर्श र उपचारमा बिरामीको निरन्तर पालना (Treatment Adherence) जस्ता क्षेत्रमा फार्मासिस्टको नेतृत्वदायी भूमिका आवश्यक रहेको जनाएका छन् । त्यस्तै, डिजिटल स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता, टेलिफार्मेसी, फार्माकोजेनोमिक्स, उन्नत औषधि उत्पादन, क्लिनिकल फार्मेसी अभ्यास, नियामकीय अनुपालन, असल नियामकीय अभ्यास तथा व्यावसायिक नेतृत्वजस्ता नयाँ क्षेत्रमा फार्मासिस्टको क्षमता विकासमा उनले जोड दिएका छन् ।
विभागले युवा फार्मासिस्टलाई अनुसन्धान, प्रमाणमा आधारित अभ्यास र व्यावसायिक नेतृत्वमा सक्रिय हुन आग्रह गरेको छ । साथै, बिरामी सुरक्षा, औषधिको गुणस्तर, नक्कली औषधि नियन्त्रण, जोखिममा आधारित पोस्ट–मार्केटिङ सर्भिलेन्स तथा एन्टीमाइक्रोबियल रेसिस्टेन्ट (AMR)जस्ता विश्वव्यापी चुनौती सामना गर्न नियामक निकाय, उद्योग, अस्पताल र विश्वविद्यालयबीच थप सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ।
यस्तै, औषधिबाट प्राप्त हुने स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारितामा उल्लेखनीय सुधार ल्याउन फार्मेसी पेशा र फार्मासिस्टको पहिचान अझ सुदृढ हुँदै गएको विभागको भनाइ छ । फार्मासिस्टहरूले आफ्नो ज्ञान, सीप, व्यावसायिक आचरण तथा सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्दै नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक तथा स्वयं फार्मासिस्ट समुदायबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा विभागले जोड दिएको छ ।
