२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशल्यक्रिया गर्दागर्दै विरामीको मृत्यु, डडेलधुरा अस्पताल तोडफोड

शल्यक्रिया गर्दागर्दै विरामीको मृत्यु, डडेलधुरा अस्पताल तोडफोड


अमरगढी–विरामीको मृत्युपछि डडेलधुरा अस्पतालमा स्थिती तनावग्रस्त बनेको छ । सुत्केरी भएको १४ दिनपछि शुरु भएको पाठेघरको रक्तश्राव (सेकन्डरी पोस्टपार्टम हेमोरेज) नरोकिएपछि २५ वर्षीया गीता ताम्राकारको शुक्रबार अपरान्ह ५:१५ मा पाठेघरको शल्यक्रियाका क्रममा मृत्यु भएको थियो ।

विरामीको मृत्युपछि उपचारमा संलग्न चिकित्सकहरुले लापरवाही गरेको भन्दै आफन्तहरुले प्रदर्शन गर्नुका साथै डडेलधुरा अस्पतालमा तोडफोड समेत गरेका छन् । डडेलधुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले विरामीको मृत्युपछि आक्रोशित आफन्तले अस्पतालको बहिरंग, आकस्मिक, काउन्टरलगायतका ठाउँमा तोडफोड गरेको बताए । ‘चिकित्सक बस्ने क्वार्टरमा समेत ढुंगामुढा हुन थालेपछी हामी अहिले त्यहाँबाट भागेर सुरक्षित स्थानमा लुकेर बस्न बाध्य भएका छौं,’ डाक्टर कँडेल हेल्थ आवाजसँग भने ।

बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीको ठूलो संख्या सुरक्षामा खटिएको छ । डडेलधुराका डिएसपी डम्बरबहादुर केसीले विरामीको मृत्युपछि उपचार प्रक्रियामा डाक्टरहरुले लापरवाही गरेको भन्दै विरामीका आफन्तहरु तोडफोडमा उत्रिएको बताए । उनका अनुसार गलत गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विरामीका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । हालसम्म कसैलाई पक्राउ गरिएको छैन । अहिले स्थिती नियन्त्रणमा छ। अस्पतालमा प्रहरीले सुरक्षा दिईरहेको छ,’ उनले भने । डिएसपी केसीले विरामीका आफन्त, सुरक्षा निकाय र सरोकारवालाहरु बसेर छलफल गरिरहेको पनि उल्लेख गरे ।

के भएको थियो घटना
१७ जेठमा अमरगढी–६ छचोडकी गीता ताम्राकारलाई सामान्य गर्भवती हुन नसकेपछि अस्पताल लगियो । सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने अवस्था `सेफालोपेल्भिक डिस्प्रोपोर्सन´ भएको एकिन गरेपछि डडेलधुरा अस्पतालका स्त्री तथा प्रसुती रोग चिकित्सक डा. नवराज जैसीले त्यही दिन उनको अप्रेसन गरेर सुत्केरी गराए ।

५ दिन अस्पताल राखेर २४ गते उनलाई डिस्चार्ज गरियो । त्यसपछि फलोअपका लागि हिजो ३० गते उनी अस्पताल आइन् । फलोअपमा आउँदा योनीबाट अलि–अलि रक्तश्राव भएको गीताले उपचारमा संलग्न चिकित्सकलाई बताएकी थिइन् । चिकित्सकले त्यसपछि उनको भिडियो एक्सरे गरे । अप्रेसन गरिएको ठाउँ सामान्य भइसकेको थिएन्, घाउ नसुकेकाले भिडियो एक्सरे गर्दा पनि सामान्य रगतमात्रै देखियो । ‘भिडियो एक्सरेमा थोरैमात्र रगत देखिएको थियो, अप्रेसन गरेको थोरै समय भएकाले अवस्था सामान्य भइसकेको थिएन,’ डा. कँडेलले भने ।

भिडियो एक्सरेपछि गीता घर फर्किइन् । घर गइसकेपछि फेरि दिउँसो २ बजेतिर गीतको योनीबाट रगत बग्यो र पुनः रोकियो । रोकिएपछि उनका आफन्तले उनलाई अस्पताल ल्याएनन् । ३१ गते शुक्रबार विहान ९ बजे मात्र उनलाई अस्पताल ल्याइयो । अस्पताल ल्याउँदा गीताको अत्यधिक रक्तश्राव भएर `हाईपोभोलेमिक सक´को अवस्था भइसकेको थियो ।

अस्पताल ल्याइ पु¥याउँदासम्म उनको स्वास्थ्य अवस्था जटिल भैसकेको उपचारमा संलग्न डा. कँडेल बताउँछन् । ‘विहान ९ बजे पुग्नुभयो, उहाँको योनीबाट रक्तश्राव भइरहेको थियो, रक्तचाप नाप्न सकिने अवस्था थिएन, विरामी जटिल अवस्थामा हुनुहुन्थ्यो । १० बजेबाट उपचार सुरु गरियो । हामीले सलाइन दियौं, भित्र र बाहिरबाट रगत मगाएर १० पेन्ट रगत दियौं । तर, रक्तश्राव नरोकिएपछि रोक्न सकिने थप प्रक्रियाहरुको प्रयास थाल्यौं,’ उनले भने ।  उनले त्यसपछि पनि आफूहरुले सबै संयन्त्र प्रयोग गरेर विरामीलाई बचाउने प्रयास गरेको बताए ।

डाक्टरहरुले जति गर्दा पनि विरामीको अवस्था नर्मल हुन नसकेपछि एयर लिफ्टिङ गर्ने प्रयासहरु समेत भए । सडकबाट विरामीलाई धनगढी पुर्याउन सकिने अवस्था नरहेको डा. कँडेल बताउँछन् । ‘यस्तो अवस्थामा धनगढी रिफर गर्न सकिदैन थियो,’ उनले भने, ‘हेलिकप्टरमार्फत एयर लिफ्ट गर्ने कुरा भयो तर त्यो सम्भव भएन । सबैमा म आफैले प्रयास गरेको छु ।’ त्यसका लागि धनगढीस्थित प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय गरिएको उनको दाबी छ ।

तर, मन्त्रालयले हेलिकप्टर पठाउन नसक्ने जनायो । त्यो सम्भव नभएपछि विरामीलाई नेपाली सेना र अन्य काठमाडौमा रहेका हेलिकप्टर कम्पनीका हेलिकप्टर प्रयोग गरेर उद्धार गर्नुपर्थ्यो । त्यसका लागि पनि विरामीको अवस्था जटिल भइसकेकाले पर्याप्त समय थिएन । त्यसपछि डा. कँडेलसहितको टोलीले रक्तश्राव रोक्न पुनः पाठेघरको शल्यक्रियाको प्रयासमा जुट्यो । अन्तिम विकल्पका रुपमा त्यही मात्र रहेपछि विरामीका गीताका श्रीमान धर्मराज ताम्राकारले पुनः शल्यक्रिया गर्ने सहमति दिए । तलमाथि परेमा आफै जिम्मेवारी हुने भन्दै `डेथ अन टेबल´ भनिने मन्जुरीनामामा पनि हस्ताक्षर गरे ।

१० पेन्ट रगत दिइयो, सलाइन पनि दिइयो । अप्रेसनकै क्रममा रगत जम्ने प्रक्रिया सुरु भएको र साँझ ५ः१५ मा उनको मुटुको चाल रोकिएको डा. कँडेलले बताए । विरामी बचाउन सबै प्रयास असफल भएपछि अस्पतालले गीताको मृत्यु भएको जानकारी विरामीका आफन्तलाई गरायो । त्यसलगतै विरामीका आफन्तहरु तोडफोड र प्रंदर्शनमा उत्रिएका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ