२०८२ भदौ ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपेन्द्रले मन्त्रिपरिषद् सिफारिस गरेका नियुक्ति प्रस्ताव फर्काउदैं स्वास्थ्यमन्त्री ढकाल

उपेन्द्रले मन्त्रिपरिषद् सिफारिस गरेका नियुक्ति प्रस्ताव फर्काउदैं स्वास्थ्यमन्त्री ढकाल


काठमाडौ–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न काउन्सिल र अस्पतालका पदाधिकारी नियुक्ति तथा मनोनयनका लागि मन्त्रिपरिषद् पठाएका फाइल फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छन् ।

मन्त्री ढकालले २३ मंसिरमा मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रिपरिषद्बाट प्रस्ताव फिर्ता पठाउन अर्को प्रस्ताव लगेका हुन् । ‘स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा रिक्त रहेका पद नियुक्ति तथा मनोनयका लागि पेश गरेका प्रस्ताव पुर्नविचार गरी पुनः पेश गर्नुपर्ने भएकोले’ प्रस्ताव फिर्ता गर्ने निर्णय भएको उल्लेख छ ।

अघिल्ला मन्त्रीले पेश गरेका नियुक्तिका सिफारिस फिर्ता गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पुष्टी गरे । ‘प्रस्ताव फिर्ता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘केही प्रस्ताव पुर्नविचार गर्नुपर्ने भएको हुँदा मन्त्रीज्यूले फिर्ता गर्ने निर्णय गर्नुभएको हो ।’

पूर्व स्वास्थ्यमन्त्री यादवले रिक्त रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका काउन्सिलका पदाधिकारी र भरतपुर क्यान्सर अस्पतालको अध्यक्षका लागि छुट्टाछुट्टै मितिमा मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले विभिन्न काउन्सिल तथा अस्पतालमा नियुक्ति तथा मनोनयनको लागि फरक फरक मितिमा मन्त्रिपरिषद्मा पठाएका व्यक्तिहरूको नामावली र पद र संस्थाको विवरण

उनले २६ कात्तिक २०७५ मा नेपाल फार्मेसी परिषदको रजिष्टारका लागि धनुषाका विजय यादवलाई सिफारिस गरेका थिए । त्यसैगरी १३ मंसिर २०७५ मा पवित्र ब्रजाचार्यलाई नेपाल मेडिकल काउन्सिलको सदस्यका लागि मन्त्रिपरिषदमा सिफारिस पठाएका थिए भने सोही मितिमा स्वास्थ्य व्यवसायी परिषद्को सदस्य सचिवका लागि विनोदकुमार यादवलाई सिफारिस गरिएको थियो ।

१० चैत्र २०७५ मा डा. महेन्द्रप्रसाद भट्टलाई स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टार नियुक्तिका लागि मन्त्री यादवले सिफारिस गरेका थिए । त्यसैगरी १६ जेठ २०७६ मा नेपाल नर्सिङ्ग परिषदको सदस्यमा मनोनयन गर्न बन्दना थापा, विमला कुमारी शाह र मन्जु यादवको नाम सिफारिस गरेका थिए ।

मन्त्री ढकालले पूर्व स्वास्थ्य मन्त्री यादवले २ बैशाखमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि विनयराज न्यौपानेलाई मनोनयन गर्नका लागि गरेको सिफारिस पनि फिर्ता गर्ने निर्णय गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ