२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा जाँच गर्नभन्दा रिपोर्ट लिन बढी खर्च !

वीर अस्पतालमा जाँच गर्नभन्दा रिपोर्ट लिन बढी खर्च !


काठमाडौं- वीर अस्पतालमा क्यान्सरको उपचार गर्न झापादेखि आएकी ज्ञानु घिमिरेले पुर्जी लिएको आधा घण्टापछि डाक्टरसँग भेट गर्न पाइन्। डाक्टरले उनलाई विभिन्न खालका रगत जाँच गर्न सिफारिस गरे। सबैखालको जाँच गर्दा ४ हजार लाग्यो।

तर, जाँच गरेको रिपोर्ट लिन भने केहि दिन कुर्नु पर्यो। त्यो कुराइमा जाँच गर्न लागेको खर्चभन्दा अस्पताल आउजाउ गर्न र काठमाडौंमा खान, बस्न बढी लाग्यो। ‘जाँच गराउँदा ४ हजार रुपैयाँ लाग्यो, झापादेखि काठमाडौंको यात्रा गर्दा त्यसभन्दा बढी खर्च भयो,’ उनले भनिन्, ‘अझै बढी यहाँ अस्पताल धाउँदा र खानबस्नमा खर्च भएको छ।’

त्यस्तै, पेप्सीकोला निवासी सोनु श्रेष्ठ दमको उपचार गराउन गत १ माघमा काठमाडौंको वीर अस्पताल पुगिन् । करिब २० मिनेटको पखाईपछि उनको स्वास्थ्य परीक्षण भयो । परिक्षण गरेको भोलिपल्ट मात्र उनले रिपोर्ट पाइन् ।

उपचारमा लगभग आठ हजार रुपैयाँ खर्च गरेकी उनले भनिन्, ‘उपचारको खर्च त छदै छ रिपोर्टको लागि थप १ दिन कुर्दा २ हजार रुपैयाँ खर्च भयो। रिपोर्ट लिन आउँदा भाडा, लामो समय कुर्दा पानी खाजा गरेर त्यति रुपैयाँ लाग्यो। रिपोर्ट चाँडै आएको भए  थप २ हजार खर्च हुने थिएन।’ सोनुसँगै अरु २ जना साथीहरु पनि आएका थिए। उनीसँगै आएका साथी मध्य एक पेशाले शिक्षिका हुन्। उनी त्यस दिन अफिस जान पाइनन्।

त्यसै दिन मधुमेहको जाँच गराउन अस्पताल पुगेकी कोटेश्वर बस्ने लक्ष्मी बुढाथोकीले करिब आधा घण्टा पछि परिक्षण गराइन। र चिकिसकले सिफारिस गरे बमोजिम विभिन्न परिक्षण गराउन नमुना दिइन। तर, उनको रिपोर्ट लिन १ दिन कुर्नुपर्ने त्यहाँका कर्मचारीले बताए। यसरी रिपोर्ट लिनको लागि १ दिन कुर्नुपर्ने भएकोले जाँच गरेको भन्दा बढी खर्च गाडी भाडा, खाजा इत्यादिमा हुने लक्ष्मीले गुनासो पोखिन।

यो व्यथा उनीहरुको मात्र हैन यस्ता थुप्रै बिरामीहरुको हुने गरेको छ। सस्तो, सुलभ र भरपर्दो जाँच हुने भएकोले न्यून वर्गदेखि मध्यम वर्गका व्यक्तिहरु सरकारी अस्पताल धाउने गर्छन। उपचार राम्रो भए पनि उपचारमा हुने ढिलाइ र उपचार खर्चभन्दा बढी अन्य खर्च बढी हुने गुनासो प्रायको हुने गर्छ। अझ उपत्यका बाहिरबाट धाउने बिरामीहरुलाई निकै समस्या हुने गर्छ। नयाँ ठाउँमा बस्ने बाँस र गाँसको व्यवस्था गर्न नै कठिन पर्ने हुँदा रिपोर्टको लागि धेरै समयसम्म कुर्दा धेरै नै समस्या हुने गर्छ।

यदि जाँच गरेको एकैदिनमा रिपोर्ट आउने व्यवस्था भएको भए टाढाबाट आउने विरामीहरुले धेरै कठिनाई भोग्न नपर्ने झापाकी ज्ञानु बताउँछिन्। वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अहिले भैरहेकै जनशक्ति र अस्पतालमा आउने चापका कारण एक दिन मै रिपोर्ट दिन सम्भव नभएको बताउँछन। ‘जन शक्ति कम भएका कारण एक दिनभरिको रिपोर्टहरु तयार गरेर राखिन्छ,’  उनी भन्छन्, ‘रिपोर्ट एनालाइसिस गरेर सबै रिपोर्ट भोलिपल्ट वितरण गरिन्छ।’ जनशक्ति साधन थप गर्न सके एकैदिनमा रिपोर्ट दिन सकिने उनको भनाइ छ।

 (प्रशिक्षार्थी)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ