२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन हुने, विश्वका १ सय ५० चिकित्सक विराटनगरमा आउने

चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन हुने, विश्वका १ सय ५० चिकित्सक विराटनगरमा आउने


विराटनगर—प्रदेशको १ को राजधानी विराटनगरमा ‘साउथ एसियन फेडरेशन अफ युरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञहरुको उपस्थितिमा शुक्रबार र शनिबार ‘साउथ एसियन फेडरेशन अफ युरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो । यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

उक्त सम्मेलनमा नेपालसहित विश्वका एक सय ५० जना वरिष्ठ स्त्री रोग विशेषज्ञ जम्मा हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसुति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था नेसोग पूर्व क्षेत्रीय शाखाको संयुक्त आव्हानमा दक्षिण एसियालीसहित विभिन्न मुलुकका वरिष्ठ स्त्री रोग विशेषज्ञ आउने भएका हुन् ।

सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत रहने छन् । विराट मेडिकल कलेजका अध्यक्ष तथा वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने जानकारी दिए ।

यस क्षेत्रमा काम गर्ने चिकित्सकले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धीका विषयमा प्रकाशन र आफ्नो अनुभव आदान—प्रदान गर्ने तथा महिलामा लाग्ने रोगका विशेषमा जनचेतना फैलाउने सम्मेलनको मुख्य उद्धेश्य रहेको उनको भनाइ छ । फागुन १० गते शनिबार विशेषज्ञ चिकित्सकबाट प्रतिवद्धतासहितको स्वेतपत्र जारी हुने कार्कीले बताए । ‘यस सम्मेलनबाट महिलाको स्वास्थ्य अवस्थाका विषयलाई लिएर अति नै प्रतिष्ठित र विशिष्ट अभियान चालिने छ,’ उनले भने, ‘त्यस क्रममा महिलामा देखा परेका विभिन्न जटिल रोगको शल्यक्रिया निःशुल्क गरिने छ ।’ उनकाअनुसार २० जना महिलाको जटिल खाले शल्यक्रिया निःशुल्क गर्ने योजना बनेको छ ।

कार्कीले विश्वका वरिष्ठ स्त्री रोग विशेषज्ञले आफ्नो अनुभव साटासाट गर्दै शल्यक्रियामार्फत महिलामा देखिएको समस्याको निदानको प्रयास गर्नेछन् । उनका अनुसार पिसाब चुहिने, पिसाब बन्द हुनेलगायतका महिलासँग सम्बन्धी विभिन्न खाले समस्याको जटिल खाले शल्यक्रिया हुने छन् । विश्वका स्त्री रोग विशेषज्ञले अहिलेसम्म दुई युवतीकोे र तीन जनाको पिसाब चुहिने समस्याको अन्त्यका लागि शल्यक्रिया गर्ने तय भएको उनको भनाइ छ । त्यो बाहेक महिलाको पिसाब बन्द हुने, आङ खस्नेलगायतका समस्याको जटिल खाले शल्यक्रिया विश्वका चिकित्सकको उपस्थिति र प्रत्यक्ष संलग्नतामा विराट मेडिकल कलेज भित्रै हुने कार्कीले बताए । ‘शुक्रबार दिनभर शल्यक्रियामा व्यस्त रहेर सबै चिकित्सक साँझबाट भने सम्मेलनमा सहभागी हुनेछन्,’ उनले भने, ‘यसलाई हामीले महिलाको स्वास्थ्य समस्या समाधानको विशेष अवसरका रुपमा उपयोग गर्नुपर्छ ।’

डा. कार्कीले फेडरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. विनित मिश्रसहित पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, भारत, अस्टे«लिया, सिंगापुरलगायतका मुलुकका चिकित्सक सम्मेलनमा भेला हुने जानकारी दिए । उनका अनुसार भेलामा अन्य मुलुकका एक सय र नेपालका ५० जना वरिष्ठ स्त्री रोग विशेषज्ञ रहने छन् ।

कार्कीले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ट प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिए । ‘नेपालमा मेडिकल टुरिजमको विकासका लागि यस्ता कार्यक्रमले मद्धत गर्छ,’ उनले भने, ‘वर्षौदेखि रोगसँग लडिरहँदा पनि निको नभएर पीडित बनेका महिलाले पनि सहज र निःशुल्क उपचार पाउने छन् ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ