काठमाडौं—नेपाल मेडिसिटीमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ । ८ जेठमा पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको सफल कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपणमध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ ।
प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको थियो । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्य गरेर नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
‘हामी उपचारका लागि दुईपटक भारत गएका थियौं तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नै पर्छ भनेपछि हामी झन् आत्तियौं र नेपाल नै फक्र्याैं,’ कलेजो दाता आयुष कार्कीले भने ।
उनले नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आएको बताए । ‘कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेका हौं । नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुप¥र्यो । यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुबै खर्च हुने थिएन,’ उनले भने ।
अस्पतालका अध्यक्ष डा. महतोले मल्टीडिसिप्लिनरी टिम भएका कारण कलेजो प्रत्यारोपण सफल भएको हो । ‘नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो,’ अस्पतालका अध्यक्ष डा. महत्तोले बताए ।
नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिदकुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।
‘ईश्वरबहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो । उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए । उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुवै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ,’ डा. श्रेष्ठले भने ।
कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ । ‘हामीले बिरामीको शल्यक्रिया गर्नुअघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौं । बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौं,’ कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बताए ।
नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधैं समर्पित छ ।