२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकुन डाक्टरलाई के स्वास्थ्य समस्या छ, कसलाई देखाउँछन् ?

कुन डाक्टरलाई के स्वास्थ्य समस्या छ, कसलाई देखाउँछन् ?


नेपालका चिकित्सकहरुले आफूलाई विदेशमा भन्दा स्वदेशमै स्वास्थ्य उपचारमा विश्वास हुने गरेको बताउँछन् । उनीहरु स्वदेशकै चिकित्सकसँग स्वास्थ्य जाँच गराउँछन् । धेरैजसो चिकित्सकहरु सुगर र प्रेसरको समस्याबाट पीडित छन् । नियमित औषधिको सेवन गरी बिरामीको स्वास्थ्य उपचारमा खट्ने गरेका छन् ।

डा. जागेश्वर गौतम

स्त्री तथा प्रसुती रोग विशेषज्ञ
परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल

मलाई ब्लड प्रेसरको समस्या छ । प्रेसरका कारण मैले ५ वर्षदेखि निरन्तर औषधि सेवन गरिरहेको छु । प्रेसरका कारण कहिलेकाहीं निकै समस्या हुने गर्छ । प्रेसरभन्दा बाहेक कुनै रोग अहिलेसम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेललाई नियमित स्वास्थ्य परीक्षण गराउँदैं आएको छु ।

डा. रमेश सिंह

अर्थोपेडिक सर्जन
नेपाल मेडिकल कलेज

विगत तीन वर्षदेखि मलाई सुगर र प्रेसरको समस्या देखिएको छ । नियमित औषधि सेवन गरिरहेको छु । म हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँछु । यसबाहेक अरु कुनै पनि रोग लागेको छैन । नेपाल मेडिकल कलेजका डा. प्रमोद क्षेत्री र युएन पाठकलाई नियमित स्वास्थ्य परीक्षण गराउँछु । नेपालभन्दा अन्त गएर स्वास्थ्य जाँच गराएको छैन । नेपालको चिकित्सकको जति विश्वास लाग्छ विदेशका चिकित्सकको विश्वास त्यति मात्रामा छैन ।

डा. ढुण्डिराज पौडेल

नाक, कान, घाटी रोग विशेषज्ञ

२०५६ सालदेखि मलाई ब्लड प्रेसरको समस्याले सताएको छ । मेरो परिवारमा पनि प्रेसरको समस्या भएकाले त्यसको प्रभाव मलाई परेको हो । प्रेसर भएको जानकारी पाएदेखि नियमित औषधि सेवन गरिरहेको छु । विभागीय डाक्टरहरुबाटै हरेका वर्ष स्वास्थ्य परीक्षण गराउछु ।

डा. लोचन कार्की

बरिष्ठ फिजिसियन
वीर अस्पताल

अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन्, जसले औषधि खानु परोस । नियमित बिरामीको स्वास्थ्य उपचारमा खटिएका कारण ढाड दुख्ने समस्या भने छ । ढाड र गर्धन दुख्छ तर, औषधि सेवन गर्नुपरेको छैन । आफै फिजिसियन भएकाले स्वास्थ्य परीक्षण गराएर रिपोर्ट हेर्छु । पछिल्लो समय ब्लड प्रेसर बढ्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउँछु ।

डा. मानबहादुर केसी

बरिष्ठ, मुटुरोग विशेषज्ञ

मलाई स्वास्थ्यमा कुनै समस्या छैन । गाउँमा जन्मेको खेलेका कारणले पनि होला अहिलेसम्म स्वास्थ्यमा समस्या देखिएर औषधि खाएको छैन । घर परिवारमा कसैलाई रोग छैन । मुटु रोग विशेषज्ञ भएका नाताले पनि प्रत्येक वर्ष मुटु सम्बन्धी सम्पूर्ण जाँच गराउँछु । कुर्सीमा नियमित बसेका कारण र अप्रेशनमा उभिनु परेकाले जोर्नी दुख्ने समस्या छ । मैले शिक्षण अस्पताल महाराजगञ्जका अर्थोपेडिक डा. दिनेश काफ्लेलाई नियमित स्वास्थ्य जाँच गराउँदै आएको छु ।

डा. भोला रिजाल

बरिष्ठ, स्त्री रोग विशेषज्ञ
नेपाल मेडिकल कलेज

नियमित स्वास्थ्य परीक्षणका बेला मुटुमा समस्या देखिएपछि मैले तत्काल उपचार गर्ने निर्णय लिए । नेपालमा सक्षम चिकित्सक र उपकरण भएका कारण मेरो उपचार मुटु रोग विशेषज्ञ डा. भरत रावल, डा. लव जोशी र डा यादव भट्टले गरे । अहिले मुटुमा कुनै समस्या छैन । मेरो ढाड दुख्ने समस्या छ । यसका लागि पनि डा. गौरवराज ढकालले हेरेका छन् ।

प्रा.डा जगदीश अग्रवाल

डिन, आईओएम

मेरो ढाँड दुख्ने समस्या छ । तर, हाल केही कम भएको छ । आजसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । आफै चिकित्सक भएको हिसाबले सामान्य तथा जाँच आफैबाट हुन्छ । फरक विधाको स्वास्थ्य जाँच गर्नु परेको खण्डमा साथीहरुलाई देखाउँछु । विशेषत मैले हाडजोर्नी सम्बन्धी चिकित्सकलाई देखाउँदै आएको छु । यसअघि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीलाई देखाउँछु ।

डा. सरोजप्रसाद ओझा

मानसिक रोग विशेषज्ञ
टिचिङ हस्पिटल

मलाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचाप भएको लामो समय भएको छ । म नियमित औषधि सेवन गर्दै आएको छु । मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. रत्नमणि गजुरेल डा. ओममूर्ति अनिल, डा. यादव भट्ट र डा. दिवाकर शर्मासँग नियमित स्वास्थ्य जाँच गराउँछु । उच्च रक्तचापबाहेक कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

डा. भरतकुमार यादव

फिजिसियन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

मलाई ब्लड प्रेसरको समस्या छ, त्यसबाहेक अरु कुनै पनि समस्या देखिएको छैन । म अरुभन्दा भिन्न छु । मेरो स्वास्थ्य परीक्षण कहिले गराउने भनेर एकिन हुँदैन । आफू फिट छु त्यसैले दुई तीन वर्षमा एक पटक चेक गराउँछु । मलाई पाँच वर्ष अगाडिबाट प्रेसर देखिएको छ । नियमित औषधि भने खाने गरेको छु । नेपालमै राम्रा र सक्षम चिकित्सक भएका कारण स्वास्थ्य उपचारका नाममा विदेश जादिनँ । पाटन अस्पतालमा कार्यरत फिजिसियन डा. आशिष श्रेष्ठसँग आवश्यक परे स्वास्थ्य जाँच गराउँछु । दिनभर फ्रेस बन्नका लागि अस्पताल हाता भित्र बिहान ‘मर्निङ वाक’ गर्छु ।

डा. प्रेमराज ज्ञवाली

यूरोलोजी तथा ट्रान्सप्लान्ट विज्ञ
टिचिङ हस्पिटल

मलाई सुगर, प्रेसरको समस्या छ । दुई वर्षदेखि निरन्तर औषधि सेवन गरेको छु । मेरो स्वास्थ्य परीक्षण डा. रत्नमणि गजुरेल, डा. ज्योति भट्टराई, डा. यादव भट्टले गर्दै आएका छन् । उनहरुको स्वास्थ्य परीक्षण भने मैले गर्दै आएको छु । नेपालमा राम्रा चिकित्सक र उपकरण भएकाले विदेश जादिनँ ।

डा. केदारनरसिंह केसी

छातिरोग विशेषज्ञ

मेरो पारिवारिक रोगका रुपमा देखिएको भनेको ढाँड दुख्ने समस्या हो । त्यसबाहेक अहिले सम्म कुनै समस्या देखिएको छैन । खसीको मासु बढी खाएको खण्डमा युरिक एसिड बढ्छ । आफै केयर गर्छु । संसारका अन्य विकसित देशकाभन्दा कम चिकित्सक नेपालमा छैनन्, त्यसैले गर्दा म नेपालकै चिकित्सकलाई प्रत्येक ६ महिनामा स्वास्थ्य जाँच गराउँछु । विदेश गएर उपचार गर्दा ठूलो मान्छे भइदैन् । मेरो स्वास्थ्य परीक्षण डा. मानबहादुर केसी, डा. राजीवराज भण्डारी र यादव देव भट्टसँग गराउँदै आएको छु ।

डा. अनिल भट्टराई

मुटु रोग विशेषज्ञ
मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर

मलाई अहिलेसम्म कुनै समस्या देखिएको छैन । सुगर, प्रेसर सबै ठिक छ । हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँछु । आफै चिकित्सक भएका कारण रिपोर्ट अरुलाई देखाउनु पर्दैन । अरुलाई देखाउनु कुनै त्यस्तो रोग देखिएको छैन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ