काठमाडौं—नेपाल औषधि आयातकर्ता संघ (मियान)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन ३ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सोमबार संघले औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई भेटेर उक्त औषधि तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
संघले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य उपचार तथा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यले आफ्ना सदस्य औषधि आयातकर्ता तथा सम्बन्धित संस्थाहरूबाट औषधि र स्वास्थ्य सामग्री संकलन गरेको थियो।
विभागका महानिर्देशक भट्टराईलाई हस्तान्तरण गरेपछि मियानका अध्यक्ष पवन आचार्यसहितको टोलीले राहत तथा उद्धार कार्यमा प्रयोग हुने गरी विभागलाई उपलब्ध गराएको औषधि तथा स्वास्थ्य सामाग्रीको बोधार्थ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई बुझाएको थियो ।

संघका अनुसार कोलेरा, टाइफाइड, ज्वरो तथा अन्य विपद्पछिको स्वास्थ्य उपचारमा आवश्यक औषधि र तथा स्वास्थ्य सामाग्री सरकारलाई उपलब्ध गराइएको हो ।
बाढीबाट प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र प्रभावित नागरिकलाई शीघ्र तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरी सामग्री वितरण गरिने संघले जनाएको छ ।