२०८३ भदौ २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यलर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ


काठमाडौं—विद्यार्थी, शिक्षक, कर्मचारी तथा आगन्तुकहरूलाई सहज, गुणस्तरीय र आवश्यकताअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले फ्रन्टलाइन अस्पताल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार भएको समझदारीअनुसार एलबीईएफ परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ नामक स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ ।

उक्त क्लिनिकको व्यवस्थापन फ्रन्टलाइन अस्पतालले गर्नेछ।क्लिनिकमार्फत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा परिसरमा आउने आगन्तुकहरूलाई दैनिक रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिक हरेक दिन बिहान ७ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुनेछ ।

क्लिनिकमा फ्रन्टलाइन अस्पतालले दैनिक रूपमा स्वास्थ्य सहायक उपलब्ध गराउनेछ । स्वास्थ्य सहायकले आधारभूत स्वास्थ्य जाँच तथा स्वास्थ्य सहायता प्रदान गर्नुका साथै आवश्यक स्वास्थ्यसम्बन्धी समन्वय, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन र अभिलेख राख्ने कार्य गर्नेछन् ।

कुनै पनि स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था आइपरेमा आवश्यकताअनुसार फ्रन्टलाइन अस्पतालले अन कल इमर्जेन्सी एम्बुलेन्स सेवा तथा चिकित्सकीय सहयोग उपलब्ध गराउनेछ । साथै, आपसी समझदारीका आधारमा आवश्यक औषधि, मेडिकल उपकरण तथा अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस सहकार्यअन्तर्गत फ्रन्टलाइन अस्पतालले लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि समय–समयमा स्वास्थ्य सचेतना कार्यक्रम तथा स्वास्थ्य शिक्षा सत्रहरू सञ्चालन गर्नेछ । स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीमार्फत आवश्यक जानकारी तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

त्यसैगरी, आवश्यकता परेको अवस्थामा लर्ड बुद्ध एजुकेशन फाउण्डेसन परिवारका सदस्यहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरू विशेष तथा छुट दरमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । आयोजना हुने विभिन्न कार्यक्रम, समारोह तथा विशेष गतिविधिहरूमा आवश्यकताअनुसार चिकित्सकीय सहयोग तथा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन पनि फ्रन्टलाइन अस्पतालले सहयोग गर्नेछ ।

यस सहकार्यले शैक्षिक संस्थाभित्र विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप व्यवस्थित बनाउनुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

‘सञ्जीवनी बाई फ्रन्टलाइन’ क्लिनिकको औपचारिक उद्घाटन फ्रन्टलाइन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोक वर्धन, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान तथा कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले संयुक्त रूपमा गरेका छन् ।

उद्घाटन कार्यक्रममा फ्रन्टलाइन अस्पताल तथा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रतिनिधि, व्यवस्थापन टोली तथा सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै दुवै संस्थाका प्रतिनिधिहरूले विद्यार्थी तथा शैक्षिक संस्थासँग जोडिएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा सहज र समयमै उपलब्ध गराउने उद्देश्यले गरिएको यो सहकार्य महत्वपूर्ण रहेको बताएका छन् ।

‘सञ्जीवनी वाई फ्रन्टलाइन’मार्फत लर्ड बुद्ध एजुकेशन फाउण्डेसन परिसरमै आधारभूत स्वास्थ्य सहायता उपलब्ध हुनुका साथै आवश्यकताअनुसार फ्रन्टलाइन अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा, आकस्मिक सेवा, एम्बुलेन्स तथा अन्य स्वास्थ्य सेवासँग प्रत्यक्ष समन्वय हुने व्यवस्था गरिएको छ ।

फ्रन्टलाइन अस्पताल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीचको यो सहकार्यले ‘स्वस्थ विद्यार्थी, स्वस्थ कर्मचारी र स्वस्थ शैक्षिक वातावरण’ निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ