काठमाडौं-कम्युनिटी इनिसिएटिभ सोसाइटी (सीआईएस), एसिया प्यासिफिक एलायन्स फर डिजास्टर म्यानेजमेन्ट (ए–प्याड) र ढाका कम्युनिटी हस्पिटल ट्रस्ट (डीसीएच ट्रस्ट) ले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायलाई लक्षित गरी मानवीय सहायता उपलब्ध गराएका छन् । जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा सञ्चालित ‘नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायका लागि शीघ्र मानवीय प्रतिकार्य’ कार्यक्रमअन्तर्गत बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग प्रदान गरिएको हो ।
बाढीका कारण घरायसी सामग्री गुमाएका तथा विस्थापन, सेवा अवरुद्ध र अनिश्चितताको सामना गरिरहेका परिवारलाई लक्षित गरी स्वास्थ्य, मानसिक स्वास्थ्य तथा घरायसी आवश्यकतासँग सम्बन्धित सहायता प्रदान गरिएको टोलीका एक सदस्य डा. एमडी नाजमुल हुसेनले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत प्रभावित समुदायलाई मनोसामाजिक सहयोग, अत्यावश्यक औषधि वितरण, सौर्य बत्ती तथा कपडा सहयोग उपलब्ध गराइएको थियो । यसबाट बाढीका कारण प्रभावित तथा जोखिममा रहेका परिवारलाई दैनिक जीवनमा आवश्यक आधारभूत सहयोग पुर्याउने उद्देश्य रहेको डा. एमडी नाजमुल हुसेनले बताए ।

बाढी तथा विपद्का समयमा भौतिक राहतसँगै मानसिक स्वास्थ्य, संरक्षण, सम्मानजनक जीवनयापन तथा घरायसी आवश्यकतालाई पनि समेटेर एकीकृत सहायता प्रदान गर्नु आवश्यक रहेको उनले बताए ।
सेवा तथा पहुँचका संरचना प्रभावित भएका अवस्थामा स्थानीय समुदायसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिने मानवीय सहायता प्रभावकारी हुने भन्दै कार्यक्रमले समुदायमा आधारित तथा समन्वयात्मक विपद् प्रतिकार्यको महत्त्वसमेत उजागर गरेको छ ।
नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो पहलले तत्काल राहतसँगै प्रभावित परिवारलाई संकटपछिको अवस्थामा पुनः सामान्य जीवनतर्फ फर्किन आवश्यक आधारभूत सहयोग पुर्याउने लक्ष्य राखेको थियो ।