२०८३ असोज ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने

बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने

व्यायाम र तौल नियन्त्रण सबैभन्दा प्रभावकारी उपाय : डा. कोइराला


ललितपुर—बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै स्क्रीनिङ कार्यक्रम विस्तार गर्ने बताएका छन् । शनिबार विश्व मुटु रोग दिवसका अवसरमा ललितपुरमा ‘हार्ट टु हार्ट सेन्टर’ले आयोजना गरेको कार्यक्रममा बोल्दैं मुख्यमन्त्री थापाले प्रदेश सरकारले केन्द्रीय कार्यक्रमसँगै स्क्रिनिङ, प्रारम्भिक पहिचान र जनचेतना सम्बन्धी थप कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

‘नसर्ने रोग तीब्र रुपमा बढिरहेको छ । प्रदेश सरकारले केन्द्रीय कार्यक्रमसँगै स्क्रिनिङ, प्रारम्भिक पहिचान र जनचेतना सम्बन्धी थप कार्यक्रमहरू सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘हामी स्क्रीनिङ कार्यक्रम थप विस्तार गर्छौ ।’

पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले पनि चिकित्सकहरूको व्यायाम र तौल घटाउने सल्लाह पालना गरेपछि स्वास्थ्यमा उल्लेखनीय सुधार अनुभव गरेको बताउँदै अधिक तौल भएका व्यक्तिलाई आजैदेखि जीवनशैली परिवर्तन गर्न आग्रह गरे । उनले नसर्ने रोग नियन्त्रणका लागि राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आफूले स्वास्थ्य क्षेत्रमा निजी तथा सामाजिक दुवै माध्यमबाट निरन्तर योगदान दिँदै आएको बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्वस्थ जीवनका लागि अब केवल के नखाने भन्ने सन्देशभन्दा पनि नियमित व्यायाम र तौल नियन्त्रण मा विशेष जोड दिनुपर्ने बताए । उनले तौल घटाउने र सक्रिय जीवनशैली अपनाउने बानीले उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगहरूको जोखिम घटाउन सहयोग पुग्ने तथा मानसिक कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

विश्व मुटुरोग दिवसको नारा ‘Don’t Miss a Beat’ को व्याख्या गर्दै उनले भने, ‘यसको अर्थ मुटुको एक धड्कन पनि रोकिन नदिनु मात्र होइन, जीवनका प्रत्येक धड्कनलाई अर्थपूर्ण, प्रभावकारी र समाजका लागि सम्झनलायक कार्यमा समर्पित गर्ने संकल्प पनि हो ।’

‘हार्ट टु हार्ट सेन्टर’का महासचिव केशव पुरीले सेन्टरले विभिन्न सामाजिक अभियान सञ्चालन गरेपनि आर्थिक स्रोतको अभावका कारण चाहेजति कार्यक्रम विस्तार गर्न नसकिएको बताए ।

अध्यक्ष रोशन कृष्ण न्याछ्योंले केही सामाजिक अभियन्ताबाट सुरु भएको संस्था आज सबैको सहकार्यमा २० वर्षसम्म निरन्तर सेवा गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि मुटुरोग सम्बन्धी जनचेतना र सामाजिक सेवालाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमपछि हाम्रो संवाददातासँग कुरा गर्दै संस्थाका उपाध्यक्ष डा. शंकर काफ्लेले स्वास्थ्य सेवा सरकारी संरचनामा मात्र सीमित नरही समुदायमा जनचेतना फैलाउने गैरनाफामूलक संस्थाहरूको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताए । उनले हार्ट टु हार्ट सेन्टरका संस्थापक तथा लामो समय अध्यक्षका रूपमा सेवा गरेका स्वर्गीय विपिन राईको २० वर्षको समर्पणलाई संस्थाका सबै सदस्य र समाजका लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने तथा मुटुरोगको समयमै परीक्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘हार्ट टु हार्ट सेन्टर’को २० वर्षे सेवा यात्रा, स्वस्थ जीवनशैलीमा जोड

सामाजिक तथा मुटुरोग सम्बन्धी जनचेतनामूलक क्षेत्रमा दुई दशकदेखि सक्रिय हार्ट टु हार्ट सेन्टरले आफ्नो स्थापना भएको २० वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री थापा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सहभागी थिए । कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष रोशन कृष्ण न्याछ्योंले गरेका थिए ।

कार्यक्रममा चिकित्सा सेवा आयोगका उपाध्यक्ष डा. देवेन्द्र खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीनमान सिंह प्रधान, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. आशिष गोविन्द अमात्य, संस्थाका सल्लाहकार, स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्ट टु हार्ट सेन्टरको २० वर्षे यात्रामा पुर्‍याएको अमूल्य योगदानको कदर गर्दै संस्थासँग आबद्ध विशिष्ट व्यक्तित्व तथा सल्लाहकारहरूलाई सम्मानित गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ