२०८२ मंसीर ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो याममा यसरी जोगाऔं बालबालिका

जाडो याममा यसरी जोगाऔं बालबालिका


जाडो यामको सुरुवातसँगै मौसममा चिसोपना बढेको छ । यो समय बालबालिकाको स्वास्थ्यका लागि निकै संवेदनशील मानिन्छ । चिसो मौसममा रुघाखोकी, निमोनिया, मौसमी फ्लू र श्वासप्रश्वाससम्बन्धी अन्य समस्याले बालबालिकालाई बढी सताउने गर्छन् ।

यस्ता समस्याबाट आफ्ना नानीबाबुलाई कसरी सुरक्षित राख्ने ? अभिभावकले के–कस्ता सावधानी अपनाउनुपर्छ ? मौसमी खोपको भूमिका कस्तो हुन्छ र नेपालको स्वास्थ्य संरचनाले दुर्गम क्षेत्रका बालबालिकालाई कसरी समेटिरहेको छ ?

जाडोयाम सुरु हुनासाथ बालबालिकामा रुघाखोकी, ज्वरो र निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याहरू बढ्नुका पछाडि केही प्रमुख कारणहरू छन् । पहिलो र सबैभन्दा मुख्य कारण हो—चिसो मौसममा भाइरसहरूको सक्रियता बढ्नु । विशेषगरी, रेसिपेरेटरी सिन्सियल भाइरस (आरएसभी), इन्फ्लुएन्जा भाइरस र राइनो भाइरसजस्ता भाइरसहरू चिसो र सुख्खा हावामा छिटो फैलिन्छन् । यिनीहरू एक बच्चाबाट अर्कोमा सजिलै सर्ने भएकाले विद्यालय वा घरपरिवारमा छिट्टै संक्रमण फैलिन पुग्छ ।

दोस्रो, हाम्रो जीवनशैली पनि यसको एक कारण हो । जाडोमा न्यानोका लागि हामी प्रायः घरभित्रै बस्छौं । कोठाका झ्याल ढोकाहरू बन्द गरेर गुम्स्याएर राख्दा स्वच्छ हावाको आवत—जावत (भेन्टिलेसन) हुन पाउँदैन् । यस्तो अवस्थामा यदि परिवारको एक सदस्यलाई संक्रमण भएको छ भने त्यो भाइरस कोठाको हावामा रहिरहन्छ र अन्य सदस्य विशेषगरी बालबालिकालाई सजिलै सर्छ ।

तेस्रो कारण, जाडोमा बालबालिकाहरूले पानी कम पिउने गर्छन्, जसले गर्दा उनीहरूको शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन सक्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ र उनीहरूलाई संक्रमणको जोखिममा पार्छ । साथै, घरभित्रको न्यानो र बाहिरको चिसो तापक्रमको तीव्र उतार—चढावले पनि बालबालिकाको शरीरमा असर गर्छ, जसले गर्दा एलर्जीजन्य रुघाखोकीको समस्या पनि बढ्छ ।

सामान्य देखिने तर गम्भीर बन्न सक्ने समस्याहरूबाट अभिभावकको सचेतनाले नै बालबालिकालाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ । केही आधारभूत कुराहरूमा ध्यान दिनु एकदमै जरुरी छ । सन्तुलित र पौष्टिक आहारदेखि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन उनीहरूलाई पोषिलो खानेकुरा खुवाउनुपर्छ । खानामा हरिया सागसब्जी, फलफूल, दाल, गेडागुडी र प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ । न्यानो र झोलिलो खाने कुरादेखि जाडोमा तातो र मनतातो झोल पदार्थ जस्तैः दालको रस, सुप, मनतातो पानी आदि नियमित रूपमा खुवाउनुपर्छ । यसले शरीरलाई न्यानो राख्नुका साथै पानीको कमी हुन दिँदैन ।

सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बालबालिकाको व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । बाहिरबाट आएपछि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुन–पानीले राम्ररी हात धुन लगाउने बानी बसाल्नुपर्छ । यसले धेरै प्रकारका कीटाणुहरूबाट बचाउँछ । बालबालिकालाई मौसमअनुसार पर्याप्त न्यानो कपडा लगाइदिनुपर्छ । तर, धेरै तह कपडा लगाएर पसिना आउने गरी गुम्साउनु पनि हुँदैन् । विशेषगरी, बिहान र साँझको चिसोमा छाती, घाँटी र कान छोप्ने कपडा लगाइदिनु जरुरी हुन्छ । बच्चालाई गुम्साएर एउटै कोठामा राख्नु हुँदैन् । दिनमा केही समय घरका झ्यालढोका खोलेर स्वच्छ हावा आवत—जावत गराउनु पर्दछ । सरकारले तोकेका सबै राष्ट्रिय खोपहरू समयमै र पूरा मात्रामा लगाउनु पर्दछ । यसले बालबालिकालाई धेरै गम्भीर रोगहरूबाट बचाउँछ ।

मौसमी फ्लूबाट बच्न खोपको भूमिका अत्यन्तै महत्वपूर्ण छ । इन्फ्लुएन्जा (फ्लू) खोपले जाडोमा नाक बग्ने, गम्भीर खोकी लाग्ने, शरीर दुख्ने र घ्यार–घ्यार हुनेजस्ता समस्याबाट धेरै हदसम्म सुरक्षा प्रदान गर्छ । यो खोप ६ महिनाभन्दा माथिका सबै बालबालिकालाई लगाउन सकिन्छ ।

पहिलो पटक यो खोप लगाउँदा एक महिनाको फरकमा दुई डोज दिनुपर्छ । त्यसपछि, प्रत्येक वर्ष जाडो मौसम सुरु हुनुअघि एक डोज लगाउनु राम्रो हुन्छ । यो खोपले इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट मात्र नभई यसका कारण हुन सक्ने गम्भीर जटिलताहरू जस्तैः निमोनिया, कानको संक्रमण र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट पनि जोगाउँछ । अहिले त कतिपय स्वास्थ्य बिमा कार्यक्रमहरूमा पनि यो खोप उपलब्ध छ । त्यसैले, आर्थिक रूपमा सम्भव हुने अभिभावकहरूले यो खोप आफ्ना बालबालिकालाई लगाइदिनु अत्यन्तै बुद्धिमानी हुन्छ ।

संक्रमण रोकथाममा व्यक्तिगत र वातावरणीय स्वच्छताको भूमिका आधारभूत र अपरिहार्य छ । स्वच्छताको सुरुवात आफ्नै हातबाट हुन्छ । साबुन–पानीले मिचिमिची हात धुने बानीले मात्रै पनि झाडापखालादेखि श्वास—प्रश्वाससम्बन्धी धेरै रोगहरूलाई रोक्न सकिन्छ । दोस्रो, घरबाहिर भीडभाडमा जाँदा वा घरमा कसैलाई रुघाखोकी लागेको छ भने मास्कको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यसले आफूबाट अरूलाई र अरूबाट आफूलाई संक्रमण सर्नबाट रोक्छ ।

त्यस्तै, घरवरपरको वातावरण सफा राख्दा स्वच्छ हावा पाइन्छ, जसले दम, एलर्जी र अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबाट बालबालिकालाई जोगाउन मद्दत गर्छ । बालबालिकाको नियमित सरसफाइ, जस्तै– नुहाइदिने र सफा कपडा लगाइदिनेजस्ता सामान्य कुराले पनि उनीहरूलाई स्वस्थ र स्फूर्त राख्न ठूलो भूमिका खेल्छ ।

दुर्गम र ग्रामीण भेग कसरी जोगाउने बालबालिका

दुर्गम तथा ग्रामीण क्षेत्रमा अहिले पनि सामान्य रोगबाट हुने बाल मृत्युदर उच्च छ । यो एउटा गम्भीर र महत्वपूर्ण प्रश्न हो । हाम्रो देशमा स्रोत–साधनको सिमितताका कारण दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण छ । विशेषज्ञ डाक्टरहरू, विशेषगरी बालरोग विशेषज्ञहरू, दुर्गम ठाउँमा पठाउने दर निकै कम छ । यद्यपि, पछिल्लो समय सरकारले मेडिकल अधिकृतस्तरका डाक्टरहरूलाई दुर्गम क्षेत्रमा खटाउने नीति लिएको छ, जुन सकारात्मक कदम हो ।

तर, दुर्गममा सामान्य निमोनिया, झाडापखाला वा कुपोषणले गर्दा पनि बालबालिकाले ज्यान गुमाइरहेको दुःखद यथार्थ हामी सामु छ । यदि समयमै सही निदान, उपचार र परामर्श उपलब्ध गराउन सकियो भने यो बाल मृत्युदरलाई उल्लेख्य रूपमा घटाउन सकिन्छ ।

यसका लागि सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरका लागि विशेष दरबन्दी सिर्जना गर्ने, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरूलाई उचित प्रोत्साहन भत्ता, आवास र सुरक्षाको व्यवस्था गर्ने र काम गर्ने राम्रो वातावरण बनाइदिनु अपरिहार्य छ । जबसम्म विशेषज्ञ सेवाको पहुँच गाउँ–गाउँसम्म पुग्दैन, तबसम्म हामीले चाहेजस्तो परिणाम हासिल गर्न कठिन हुन्छ ।

अन्तमा, सम्पूर्ण अभिभावकहरूलाई यो भन्न चाहन्छु कि बालबालिकाहरू तपाईंको खुसीको स्रोत मात्र होइनन्, उनीहरू हाम्रो देशको भविष्य पनि हुन् । उनीहरूको स्वास्थ्य र शिक्षामा हामीले आज जति सचेत भएर लगानी गर्छौं, त्यति नै हाम्रो समाज र देशको भविष्य उज्ज्वल हुन्छ । बालबालिकाको स्वास्थ्यमा सानोभन्दा सानो समस्या देखिनासाथ हेलचेक्र्याइँ नगरौँ, नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सल्लाह लिऔँ । सानो सावधानीले ठूलो जोखिमबाट बचाउन सक्छ । सबै स्वस्थ र सुरक्षित रहनुहोस् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ