२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगशरीर गन्हाउने समस्या, कारण र उपचार

शरीर गन्हाउने समस्या, कारण र उपचार


हामीमध्ये कतिपयको शरीरबाट नमिठो गन्ध आउने समस्या हुनसक्छ । यसलाई कसैले शारीरिक बनोटलाई कारणको रुपमा देखाउँछन् भने धेरैजसोले खास खाद्य पदार्थको उपभोगलाई औँल्याउँछन् । मानव शरीरबाट अप्रिय गन्ध निस्किरहने विभिन्न कारण र समस्याको रुपलाई आधुनिक चिकित्सा विज्ञान वा चिकित्सकीय दृष्टिकोणका साथ हेरौँ ।
शरीरबाट अप्रिय गन्ध निस्किने, ब्यवहारगतदेखि जीवनरक्षा रणनीतिसम्मका अनेक कारण हुन्छन् । कसैको शरीर गन्हाउने आनुवंशिक कारण हुनसक्छ भने कसैलाई रोगको कारणले । यहाँसम्म कि मनोवैज्ञानिक र मिर्गौला (किड्नी) को खराबीको लक्ष्यणदेखि पेट तथा कब्जियतका समस्यासमेत यसमा पर्नसक्छ । दन्तहर्सा वा पाइरिया भएको मानिसको सास गन्हाउँछ ।

पिसना

मानब शरीरबाट गन्ध आउने कारण जेसुकै होस् तर प्रक्रियाचाहिँ हाम्रो छालाभित्र रहेका ग्रन्थीबाट आउने फोहोरतत्व र कीटाणुका गतिविधि मूख्य हुन् । ‘एपोक्राइन’ (शिखरस्राबी) पसिना ग्रन्थी, जो हाम्रा शरीरका रौँसँग सम्बन्धित (रोमकूप) हुन्छन्, बाट निस्कने पसिना नै हो, जुन काखी, मलमुत्र द्वारक्षेत्र र मोजा–जुत्ता लगाएका मानिसका खुट्टाबाट आउने पसिना धेरै गनाउनसक्छ भने अन्य पसिना पनि सुक्न नपाएर गुम्सियो भने ब्याक्टेरिया पैदा भएर गन्ध निस्कन्छ । यसमा पनि मुख, काखी र खुट्टाबाट निस्कने गन्ध, सबभन्दा मूख्य समस्या हुनेगर्छ । शरीरमा एक किसिमको एसिड (अम्ल) हुन्छ, जसलाई काखीमा गुम्सिएका रौँहरूले गन्ध फैलाउने गर्छन्, भने खुट्टामा मोजा र जुत्ता लगाएको कारणले गुम्सिएको अवस्थामा पसिना गन्हाउने भएर गन्ध फैलन्छ । यसले गर्दा लगाएका जुत्ता पनि गन्हाउने हुन्छ ।

खानपान

यसका अतिरिक्त खानपान, शारीरिक समस्या, रोगब्याध, अनुवंशीय समस्या र औषधी सेवनको कारणले पनि शरीर गन्हाउन सक्छ भनी माथि उल्लेख गरियो । खानपानमा ७ खालका खानेकुराले शरीर गन्हाउन सक्छ भने ती ७ थरि खाना केके हुन्, विचार गरौँ ।

मसालादार

पहिलो कारण हो, मसालादार खानेकुरा । धेरै मसलादार खानेकुरामा सल्फर नामक तत्व शरीरमा धेरै जान्छ । लसुन, प्याज, मेथी, हिङ्जस्ता धेरै गन्ध आउने मसलाहरूले पसिना, सास गन्हाउने समस्या उत्पन्न गर्छन्, यद्यपि यी कतिपय मसलाको औषधीय महत्व होस् ।

रातो मासु

दोस्रो, रातो मासु (खसी, राँगा आदिको मासु) पचाउन शरीरलाई निकै प्रयत्न चाहिन्छ । धेरै रातो मासु खाएको छ भने गन्हाउने पसिना निस्कन सक्छ, जुन समस्या साकाहारीहरूलाई प्राय आइलाग्दैन ।

रक्सी, बियर

तेस्रो, रक्सी, बियर आदिको धेरै सेवनले शरीरबाट गन्हाउने पसिना निस्कन सक्छ । अत्यधिक रक्सीको सेवनले यस्तो पसिनाको गन्ध १० प्रतिशतभन्दा बढी थप्नसक्छ भने अघिल्लो साँझ पिएको रक्सीको गन्ध स्वाससँग भोलीपल्ट पनि आइरहन्छ ।

जंक फूड

चौथो कारण, ‘कवाडी खाना’ (जंक फूड) ले शरीरभित्र बोसिलो कोशिकाहरू पैदा गर्छ, जसले शारीरिक ब्यायामको बानी नभएकाहरूलाई थप समस्या उत्पन्न गर्छ ।

नून चिनी

पाचौँ, वनस्पती घ्यु वा तेल, नून, चिनी आदि पनि अत्यधिक उपभोग गर्नु स्वास्थ्य र शरीर गन्हाउने समस्याको दृष्टिले उपयुक्त मानिन्न । कार्बोहाइड्रेट्स् नभएको वा नगण्य भएको तर प्रोटिनजस्ता तत्व धेरै भएको खानाले धेरै पसिना फाल्ने कारक बन्ने र ‘कीटोन्स्’ नामक रसायनिक तत्व उत्सर्जन गर्ने हुनाले त्यसबाट पनि शरीरमा गन्ध उत्पन्न हुनजान्छ ।

अत्याधिक प्राेटिन

छैठौँ, दुग्ध पदार्थमा धेरै प्रोटिन हुने कारणले पचाउनका लागि धेरै समय लाग्ने हुँदा दुग्ध पदार्थहरूको अत्यधिक सेवन गर्दैरहेमा हाइड्रोजन सल्फाइड र मेथिल मर्काप्टन जस्ता तत्व बढ्दछन् जो नमिठो गन्ध पैदा गर्ने कारक हुन्छन् ।

सूर्तीजन्य पदार्थ

सातौँ कारण, चुरोट, खैनी लगायतका सूर्तीजन्य पदार्थको सेवन शरीर गन्हाउने मूख्य कारण हो । पसिनाका ग्रन्थीमा सूर्तीजन्य पदार्थ घुलमिल भएपछि त्यस्तो अम्मलीको लुगा, सास, कपाल आदि गन्हाउने हुन्छ ।

उपचार
अत्यधिक पसिना निस्कने (हाइपरहाइड्रोसिस) र पसिना गन्हाउने समस्याको कुनै छुट्टै औषधी छैन । त्यसैले यसलाई लक्ष्यण र कारणका आधारमा उपचार गर्नुपर्ने हुन्छ । जस्तै कब्जियतका कारणले सास गन्हाउने गर्छ भने कब्जियतलाई ठीक गर्ने, दन्तहर्सा वा पाइरिया भएको छ भने गिजा र दाँतको उपचार गर्ने, त्यसको लागि सम्बन्धित विशेषज्ञ वा डाक्टरलाई जँचाएर उपयुक्त सल्लाहअनुरुप गर्ने । सास गन्हाउने समस्यामा च्युइङ् गम चपाइरहँदा पनि कम हुन्छ । खानाको कारणले पसिना धेरै आउने र गन्हाउने शंका लागेको छ भने आहारविज्ञ (डाइटिसियन) र चिकित्सकको सल्लाहमा खाना परिवर्तन गर्न सकिन्छ । यसमा चिल्लो अत्यधिक हुने, मसलादार, धेरै गन्ध आउने लसुन प्याजजस्ता मसला हालिएका खानालाई नियन्त्रण गर्न सकिन्छ ।

दिनहुँ नुहाउने, शारीरिक परिश्रम वा खेल्दा पसिना आउने हुनाले त्यस बेला अर्कै लुगा लगाउने यी सामान्य उपाय भए । अत्यधिक पसिना आइरहन्छ भने सुत्ने बेलामा पसिना प्रतिरोधी (एन्टी–पस्र्पीरेन्ट) दल्ने । बिहान नुहाएपछि लगाइएको एन्टीपस्र्पीरेन्टलाई काम गर्नै नपाई एकछिन पछि फेरि आउने पसिनाले बगाइदिनसक्छ र उपाय निरर्थक हुनसक्छ । गन्ध प्रतिरोधक (डियोडोरेन्ट) ले पसिना आउनबाट रोक्न सक्दैन यसले गन्धलाई छोप्नमात्र सक्दछ । कतिपय राम्रा एन्टीपस्र्पीरेन्टमा डियोडोरेन्ट पनि मिलाइएको हुन्छ । त्यसैले त्यस्तो चिजबाट पसिना नियन्त्रण र गन्ध निरोध दुवै काम लिन सकिन्छ । यस्तो दोहोरो फाइदा लिन सकिने चिज किन्नुअघि राम्रोसँग हेर्नु आवश्यक छ । आजकाल पसिना नियन्त्रक चक्की पनि बनेका छन् ।

काखीलाई सुख्खा राख्ने, त्यहाँका रौँ खौरिरहने, साथै मलमुत्र द्वार वा गुप्ताङ्ग क्षेत्रमा पनि यो कार्य नियमित रुपमा गर्ने ता कि ब्याक्टेरिया सुख्खा ठाउँमा जागृत हुन नसक्ने हुनाले ती स्थानहरूलाई सुख्खा र सफा राखिरहनु पर्छ । काखीमा डियोडोरेन्ट लगाउने गर्नु राम्रो हुन्छ । नुहाइसके पछि काखीमा नियमित रुपले फिटकिरी (एलुम) दल्ने गर्दा गन्ध पूरै हराउँछ ।

एक चम्चा ‘हाइड्रोजिन पेरोक्साइड’ भनिने ब्याक्टेरियानासक तरललाई १ गिलास पानीमा घोलेर तौलीयाले शरीरका गन्ध आउने भागमा दल्यो भने गन्ध पैदा गर्ने ब्याक्टेरिया नष्ट भई गन्ध हराउँछ । खुट्टा गन्हाउने समस्याका लागि पनि फिट्किरी दल्नु उपयुक्त मानिएको छ । यस्तो समस्यामा जुत्तालाई घाममा सुकाइरहने, लगाउने बेलामा स्प्रे गर्ने, सुतीको मात्र मोजा लगाउने र एकपटक लगाएको मोजा अर्कोपटक नधोई नलगाउने बानी ग¥यो भने गन्हाउने समस्या राम्रैसँग नियन्त्रित हुन्छ । गुणस्तरीय अत्तर वा सुगन्ध (परफ्युम) लगाउनु खिसी वा हँसीमजाक गर्ने कुरा होइन । पुरुषले लगाउने परफ्युमबाट चर्को गन्ध आउँदैन । त्यसले शरीरको अनावश्यक गन्धलाई मारेर एकप्रकारको पौरुष गन्ध दिन्छ जो अरुका नाकमा पुग्दा सकारात्मक प्रभाव पार्दछ ।

अत्यधिक पसिना आउँछ र धेरै गन्हाउने गर्छ भने त्यो अकारण हुँदैन भन्ने बुझ्नुपर्छ । यस्तोमा मिर्गाैला र कलेजो (लिभर) को जाँच गर्नु उचित हुन्छ । मिर्गौलाको बिमारीको लक्ष्यणका रुपमा गन्धले पनि संकेत गरिरहेको हुनसक्छ । तर यो पनि हेक्का राखौँ कि शरीर गन्हाउनु भनेको मिर्गौलामा समस्या भएको अनिवार्य कारण भन्ने होइन ।

पसिना गन्हाउनु भनेको केवल निस्केको पसिना गन्हाएर अरुलाई नमज्जा बनाएको मात्र होइन, यसले जीवन तत्वमा शरीरका रासायनिक प्रक्रिया (मेटाबोलिज्म्) को अवस्थालाई पनि जनाइरहेको हुन्छ । यसमा डराउनुपर्ने कुनै कारण छैन, तर होशियारी अपनाउनु पर्छ । माथि उल्लेखित उपचारात्मक सावधानी अपनाए यो समस्या करिब हराएर जान्छ ।

(स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देक डा. विष्ट “स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्य र डाक्टरको सल्लाह” पुस्तकका लेखक हुन् ।)


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ