२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यडा. अनिशा अग्रवालको सल्लाह: बाँझोपन समस्या के हो ? कसरी समाधान गर्ने ?

डा. अनिशा अग्रवालको सल्लाह: बाँझोपन समस्या के हो ? कसरी समाधान गर्ने ?


बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ ।

बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ । यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन् । जबकी बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ । बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ ।

विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निछ । लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतीमा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना रहन्छ । बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिन्छ ।

बाँझोपनका कारण

– महिलाको महिनावारी गडबड हुनु : महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।
– डिम्बवाहिनी नली बन्द हुनु : जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।
– पाठेघरको संक्रमण : यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।

– पाठेघरको ट्युमर : पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ ।

– महिलाको बढ्दो उमेर : ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।

– जन्मजात पाठेघरको विकास नहुनु

– गर्भपतन : पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।

– पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) ।

– पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा ।
– पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।

पुरुषमा सन्तान नहुने कारण

– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।
– वीर्यमा शुक्रकीट उत्पादन नहुनु  ।
– वीर्यमा संक्रमण ।
– शुक्राणुको बनावटमा खराबी ।
– हार्मोनमा गडबडी ।
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।
– शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।

महिलामा सन्तान नहुने कारण

– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै्र स–साना डिम्ब बने पनि नबढ्ने ।
– पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।
– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।
– हार्मोनमा गडबडी ।
– पाठेघरको झिल्लीमा मासु बढ्नु ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

बाँझोपनको उपचार

– उपयुक्त परामर्श र काउन्सिल्लिङ : निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सिलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतीको घर–परिवारसहितलाई पनि काउन्सिल्लिङ गर्नुपर्ने हुन्छ ।

–औषधी पद्धतिद्वारा उपचार र मेडिकल थेरापी : महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन clomipnene औषधी प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्याउँछ ।

– आइयुआई र आइभिएफ प्रविधि : आइयुआई भन्नाले पुरुषको वीर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिशतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ । यो साधारणतयाः ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ ।

– शल्यक्रिया, ल्याप्रोस्कोपिक : यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ ।

– हिस्टेरोस्कोपिक : यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली यौनांगको बाटोबाट निकालिन्छ ।

बाँझोपन समाधानको उपायहरु

– विवाह समयमा गर्ने
–समयमा बच्चा जन्माउने
– असुरक्षित गर्भपतन नगर्ने
– इन्फेक्सनको समयमा नै उपचार गर्ने
– गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषज्ञहरुसँग परामर्श लिने
–समय समयमा पाठेघरको चेकजाँच गर्ने ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ