२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसाहित्यमा डाक्टर अस्मिता

साहित्यमा डाक्टर अस्मिता


पेसाले चिकित्सक हुन्– डा. अस्मिता अर्याल । ‘कवियत्री’ उनको अर्को चिनारी हो । बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने अर्यालले ‘मनको तीरैतीर’ नामक कवितासंग्रह २ वर्ष अघि नै बजारमा ल्याएकी हुन् । स्याङ्जाको पुतलीबजारमा जन्मिएकी डा. अर्याल २ वर्षको उमेरदेखि नै काठमाडौं बस्दै आएकी छिन् । त्यसो त उनको बाल्यकाल, पढाई र साहित्यिक यात्रा यहिँबाट सुरु हुन्छ ।

काठमाडौंको तिनकुनेस्थित भिएस निकेतनबाट शिक्षा आरम्भ गरेकी उनी पढाईमा अब्बल थिइन् । साथै, अतिरिक्त क्रियाकलापमा पनि उनको राम्रो झुकाव थियो । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा उनले थुप्रै पुरस्कार जित्थिन् । अझै कविता, निबन्ध, वक्तृत्वकला जस्ता प्रतियोगिताका प्रथम पुरस्कार त उनकै हुन्थ्यो । पढाई र अतिरिक्त क्रियाकलाप दुवैमा अब्बल भएकाले उनी शिक्षकहरुको प्रिय विद्यार्थीमा पर्थिन् ।

उनको घरमा गोरखापत्र, कान्तिपुर, द काठमाडौं पोष्टलगायतका पत्रपत्रिका आउँथे । जसमा बाल साहित्यिक पत्रिकाहरु पनि हुन्थे । त्यसैले ४–५ कक्षामा पढ्दादेखि नै उनमा पत्रपत्रिका पढ्ने बानी बसिसकेको थियो । कान्तिपुरले प्रकाशन गर्ने कोपिला र गोरखापत्रको मुनामा छापिने बाल साहित्य सिर्जनाले उनलाई पत्रपत्रिका पढ्न थप आकर्षित ग¥यो । पत्रिकामा छापिएका सिर्जना पढ्दै गर्दा उनलाई पनि त्यस्तै सिर्जना लेख्ने इच्छा जाग्यो । सोही इच्छाअनुरुप उनले बाल कविता लेखिन् ।

उनको आमामा पनि साहित्यतर्फ रुची थियो । उनले आफ्ना सिर्जना आमालाई देखाउँथिन् । आमाबाट पाएको प्रतिक्रियाले उनी फरुङ्ग हुन्थिन् । जसले साहित्यतर्फ रुची बढाउन हौसला दिएको डा. अर्याल बताउँछिन् । ‘मेरो साहित्य यात्राको पहिलो जज् भनेकै मेरो बुबाममी हो,’ २६ वर्षीया डा. अर्याल भन्छिन्, ‘बुबाममीले दिएको प्रेरणाले नै मलाई साहित्यमा लाग्न उत्प्रेरित गरिरह्यो ।’

यहिक्रममा उनले कक्षा ६ मा अध्ययन गर्दा एउटा कविता लेखिन् । उनलाई आफ्नो सिर्जना पत्रिकामा छाप्न निकै रहर थियो । त्यसैले पत्रिकामा भएको ठेगानामा त्यो सिर्जना पठाइन् । पठाएको केहि दिनपछि उनको सिर्जना कान्तिपुरको कोपिलामा छापियो । पहिलोपटक पत्रिकामा कविता छापिँदा खुशीको सिमा रहेन । अझै त्यो लेखेबापतको पारिश्रमिक पनि पाइन् ।

त्यतिबेला कविता पत्रिकामा छापिएबापत कान्तिपुर पब्लिकेशनले दिएको १ सय ५० रुपैयाँ अझैसम्म सुरक्षित राखेको उनी बताउँछिन् । ‘मलाई मेरा सिर्जना पत्रिकामा छपाउने ठूलो धोको थियो त्यो पुरा हुँदा मेरो खुशीको सिमै रहेन,’ उनी भन्छिन्, ‘त्यतिबेला कान्तिपुरको कोपिलामा सिर्जना छापिएबापत पाएको १ सय ५० रुपैयाँ अझै पनि सुरक्षित राखेको छु ।’

सिर्जना पत्रिकामा छापिन थालेपछि उनलाई थप हौसला बढ्यो । यसपछि उनले थुप्रै बाल साहित्य सिर्जना गर्न थालिन् । कतिपय सिर्जनाले पत्रपत्रिकामा स्थान पाउँदै गए । यहिक्रममा कक्षा ७ मा पढ्दा विद्यालयमा पहिलोपटक कविता प्रतियोगितामा भाग लिइन् । उक्त प्रतियोगितामा उनी प्रथम भइन् । त्यसपछिका हरेक प्रतियोगिताहरुमा उनी नै विजेता हुन्थिन् । २०६६ सालमा भिएस निकेतनबाट विशिष्ट श्रेणीमा एसएलसी परीक्षा उत्तिर्ण गरेपछि उनले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट विज्ञान संकायमा कक्षा ११, १२ अध्ययन गरिन् । उनको डाक्टर बन्ने सपनासानैदेखिको हो । त्यसो त सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा एमबीबीएसका लागि भर्ना भइन् ।

चिकित्सा शास्त्रमा अध्ययन गर्ने भएतापनि उनमा साहित्यतर्फकोरुची भने ताजै थियो ।त्यसो त उनी अल्छीपना, तनाव, दिक्दारी हटाउनका लागि साहित्यकै सहारा लिन्थिन् । त्यसैले उनी साहित्य सिर्जनालाई आफ्नो तपस्या, ध्यान, र योगको रुपमा लिन्छिन् । ‘साहित्य मेरा लागि तपस्या, ध्यान, योग जस्तै हो,’ उनी भन्छिन्, ‘दिनभरको थकान र तनावबाट मुक्त हुनका लागि बेलुका कोठामा आएपछि दिनभर देखेका कुरालाई सिर्जनाको रुप दिन्थें ।’ उनी हरेक क्षणलाई सिर्जनासँग जोड्थिन् । कक्षा शिक्षकले पढाइरहँदा किताबमा होस् या कपिको बीचमा कविता, गजल र हाइकुका हरफहरु कोरिहाल्थिन् ।

एमबीबीएसको साढे ४ वर्षको अध्ययन पुरा भएपछि उनले केएमसी अस्पतालमै १ वर्षको इन्ट्रनसीप गरिन् । त्यसपछि उनले अझै मानवीय सम्वेदना, दुःख, पीडा, हाँसो, खुशीको संसारमा डुबुल्की मार्ने मौका पाइन् । जसले उनलाई साहित्य सिर्जना गर्न धेरै सहयोग गर्थ्याे । अस्पातालको शैयामा छटपटाइ रहेको बिरामी निको भएर घर फर्कँदाको खुशी, अनि त्यही बेडमा मृत्युवरण गरेको बिरामी र उसका आफन्तको पीडासँग उनी प्रत्यक्ष जोडिन्थिन् । यस्तो बेला उनको मनमा भावनाका बाढी नै आउँथे ।  ती भावनालाई उनी आफ्नो डायरीमा कोर्थिन् । यो क्रममा उनले नम्बर १५१ को बिरामीको बारेमा कविता लेखेकी छिन् । त्यो कविता उनले बेड नम्बर १५१ को बिरामीको मृत्यु भैसकेपछि लेखेकी हुन् । जुन कविता उनको मनको तिरैतिर कवितासंग्रहमा समावेश भएको छ ।

कतिपय अवस्थामा उनी बेलुका कोठामा आएर सिर्जना रच्थिन् । साहित्य सिर्जनाका लागि उनलाई एकान्त ठाउँ चाहिन्छ । त्यसो त उनी ढोका थुनेर सिर्जनामा तल्लीन हुन्छिन् । प्रायः राती १२ बजेबाट लेख्न सुरु गर्छिन् कहिले त रातीको ३, ४ नै बज्छ । उनले कोरेको सिर्जना वाचन गरेर मोवाइलमा रेकर्ड गरेर सुनेपछि चित्त बुझेपछि मात्र सुत्ने गरेको उनी बताउँछिन् ।

किताबसम्मको यात्रा

एमबीबीएस अध्ययन र एक वर्षको इन्ट्रनसीप सकिएपछि उनी होस्टलबाट घर सर्ने तयारी गर्न थालिन् । त्यतिबेला उनले आफूलाई चाहिने पुस्तक र कपिहरु छान्न थालिन् । त्यो क्रममा उनले कक्षामा बसेका बेलामा होस् या अस्पतालमा ड्युटीमा रहँदा कोरेका सिर्जनाका चिटहरु फेला पारिन् । त्यतिबेला उनलाई आफ्ना सिर्जनालाई धेरै हेंला गरेको रहेछु भन्ने लाग्यो । ‘जब म होस्टलबाट घरमा सर्ने तयारीमा थिएँ त्यतिबेला मैले मेरा सिर्जनाका चिटहरु देखेँ त्यहाँ मैले रचेका थुप्रै सिर्जना पाएँ,’ उनले भनिन्, ‘त्यो देखेपछि मैले सिर्जनालाई धेरै हेँला गरेको रहेछु भन्ने लाग्यो ।’

त्यसपछि उनले ती सिर्जनाहरुलाई संग्रह गरेर किताब निकाल्ने सोच बनाइन् । यहिक्रममा उनले नेपाल पर्यटन बोर्डमा एक समारोहका बीच २०७५ साल साउनमा मनको तिरैतिर नामको कवितासंग्रह सार्वजनिक गरिन् । उक्त कवितासंग्रहमा ५१ वटा कविता र १ सय १५ वटा हाइकु समावेश गरिएको छ । पहिलो कृतीबाटै राम्रो प्रतिक्रिया पाएपछि उनको अर्को कृती छिट्टै बजारमा ल्याउँदै छिन् । उक्त कृतिमा जीवनका भोगाईहरु समेटिएको उनी बताउँछिन् ।

डा.अस्मिता चिकित्सा र साहित्यलाई सँगसँगै अघि बढाउने मनस्थितीमा छिन् । त्यसो त उनी आफूलाई कवियत्री डाक्टर भन्न रुचाउँछिन् । एमबीबीएस अध्ययन सकिएपछि करिव २ वर्ष नर्भिक अस्पतालमा सेवा गरेकी उनी यतिबेला पिजी परीक्षाको तयारी गरिरहेकी छिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ