२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल४४ हजार स्वाब परीक्षणको नेतृत्व गर्ने फ्रन्टलाइनर, जसले तीन महिनासम्म छोरी देख्न पाइनन्

४४ हजार स्वाब परीक्षणको नेतृत्व गर्ने फ्रन्टलाइनर, जसले तीन महिनासम्म छोरी देख्न पाइनन्


झण्डै एक वर्ष निरन्तर कोभिड—१९ हटस्पटमा फ्रन्टलाइनरका रुपमा सक्रिय । ४२ हजार पीसीआर परीक्षणको नेतृत्व । वीरगन्जमा बसेर रौटहट, बारा र पर्साका ग्रामीण क्षेत्रहरुमा पुगेर स्वाब संकलन । नारायणी अस्पतालको प्रयोगशाला व्यवस्थापन गर्न भूमिका । रातबिरात सयौं स्वाब परीक्षणको नेतृत्व । त्यसैले त ३३ वर्षीया डा. निरा पाठकको भूमिका ‘लिडर इन फ्रन्ट’मा झल्किन्छ ।

डा. निरा पाल्पाको मदनपोखराको आरुखर्कमा जन्मिएकी हुन् । उनी तीन दिदीबहिनीमध्ये माइली हुन् । मध्यवर्गीय परिवारमा जन्मिएकी उनको परिवार वि.सं. २०४४ सालतिर बुटवल झ¥यो । उनका बुवाआमा बुटवलको सामान्य घरेलु उधोगमा काम गर्न थाले । उनको प्रारम्भिक स्कुलिङ पनि बुटवलकै एभरेष्ट स्कुलमा सुरु भयो । त्यसपछि सिद्धार्थ स्कुल, दीप बोर्डिङ स्कुलमा पनि उनले अध्ययन गरिन् । डा. निराको स्कुले जीवन पनि निकै संघर्षमय थियो । उनी घरबाट बोर्डिङ स्कुल जाने पहिलो सदस्य हुन् ।

‘त्यतिबेला बुवाआमाले गर्नुभएको संघर्ष मैले नजिकबाट महसुस गर्न पाएँ,’ उनी स्मृतिका पानाहरु पल्टाउन थालिन्, ‘जिरोबाट सुरु गरेर अगाडि बढ्न उहाँहरु निकै मेहनत गरिरहनुभएको थियो ।’ त्यहीकारण उनले पढाइमा सधैं कडा मेहनत गरिन् । डा. निरा २ कक्षादेखि जहिल्यै प्रथम भइन् । नृत्य, वादविवाद, वक्तत्वकला, हाजिरीजवाफजस्ता अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि थियो । उनलाई नेपाली, सामाजिक र विज्ञानजस्ता विषय मन पर्थे ।

वि.सं. २०५९ सालमा उनले दीप बोर्डिङबाट एसएलसी उत्तीर्ण गरिन् । बुटवलकै अक्सफोर्ड स्कुलबाट उनले साइन्समा प्लस टु सकिन् । प्लस टु सकेर वि.सं. २०६२ सालपछि मात्रै उनी काठमाडौं उक्लिइन् । साइन्समा प्लस टु सकेका बेला करिअर ओरेन्टेसन नभएपछि केही समय कन्फ्युजनजस्तो भएको उनले बताइन् । त्यही बेला उनकी आमाकी दिदीका छोरा एमबीबीएसको इन्ट्रान्सको तयारी गर्दै थिए, उनीसँगै डा. निरा पनि काठमाडौं आइन् । एक वर्ष इन्ट्रान्स तयारी गरेपछि उनले शिक्षा मन्त्रालयअन्तर्गतमा एमबीबीएसको सरकारी छात्रवृत्तिमा नाम निकालिन् । त्यसपछि उनी एमबीबीएस अध्ययनका लागि सन् २००८ मा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भइन् । सन् २०१३ बाट उनले इन्टर्नसहित एमबीबीएस सकिन् ।

एमबीबीएस सकेपछि छात्रवृत्ति करारअन्तर्गत डा. निरा पर्वतको कुस्मा जिल्ला अस्पतालमा सेवा दिन थालिन् । त्यसपछि उनले भैरहवाको भीम अस्पतालमा पनि काम गरिन् । त्यही बीचमा आमा बिरामी परेपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल आइन् । त्यहाँ डेढ वर्ष काम गरिन् । त्यही बीचमा वि.सं. २०७० सालमा उनले डा. बन्धुराम पंगेनीसँग विवाह गरिन् ।

करारसेवामै रहेका बेला उनकी छोरी जन्मिइन् । लगतै, एमडीका लागि तयारी सुरु भयो । ‘बच्चा हुर्काउनु र एमडीको तयारी सँगसँगै गरे,’ उनले भनिन्, ‘सन् २०१६ मा धरानमा एमडीका लागि नाम निस्कियो ।’ सन् २०१९ मा उनले प्याथोलोजीमा धरानबाट एमडी सकिन् । बच्चा र पढाइसँगसँगै भएकाले त्यो समय पनि उनका लागि निकै कठिन रह्यो । ‘धरानमा एमडी गर्दा सहयोगी बहिनीहरुसँग बच्चालाई विहान साढे ७ बजे छोडेर जान्थे,’ उनी भन्छिन्, ‘राति एक बजे आउथ्यो । बच्चालाई निकै दुःखका साथ हुर्काए ।’ उनकी दुई वर्षको छोरी विहान जाँदा सुतेकै हुन्थिन्, साँझ फर्कदा पनि सुतिसकेकी हुन्थिन् । पास आउटपछि धरानले पोष्टिङ एम्समा गर्छ । एम्समा जाँदा उनले बच्चालाई नेपालमै आमाबुवासँग छोडेर गइन् । ‘एकदमै दुःखलाग्दो तरिकाले हुर्काउँदा पनि अलिकति विश्राम लिउँजस्तो भइसकेको थियो,’ उनले भनिन्, ‘एम्सबाट फर्केपछि दुई महिना घरमा बसेपछि मात्रै मैले पोष्टिङ लिए ।’

१२ वर्षपछि वीरगन्जमा पहिलो प्याथोलोजिष्ट

छात्रवृत्ति करारअन्तर्गत उनको पोष्टिङ नारायणी अस्पताल वीरगन्जमा भयो । नयाँ ठाउँ, नयाँ भाषा, नयाँ परिवेश, नयाँ मान्छेमाझ ०७६ पुसमा ड्युटी सुरु गरिन् । एक महिना उनलाई त्यहाँको ठाउँ र अवस्था बुझ्नै लाग्यो । नारायणी अस्पतालको प्रयोगशालामा १२ वर्षमा पहिलो पटक डा. निरा प्याथोलोजिष्टका रुपमा पुगेकी थिइन् । त्यसबाहेक प्रयोगशाला पनि निम्नस्तरको थियो । त्यही कारण एक महिना उनले प्रयोगशाला र स्टाफहरुमा गर्न सकिने परिवर्तनहरु अध्ययन गरिन् ।

त्यहीबीच फागुनमा त चीन वुहानमा देखिएको कोभिड—१९ भाइरस फैलावटका खबरहरुले मिडियाहरु छाउन थालिहाले । त्यही बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)को पत्र उनको हात परिहाल्यो । कोभिड—१९ का लागि एनपिएचलमा तालिम छ को जाने भन्ने विषयमा छलफल चल्यो । छोरीलाई भेट्न बुटवल जाने तरखरमा रहेकी उनी अरु कसैले आँट नगरेपछि आफै काठमाडौं आएर कोभिड—१९ एकदिने अभिमुखीकरण तालिममा सहभागी भइन् । जसमा कोभिड—१९ टेष्टका लागि स्वाब संकलन कसरी गर्ने, कसरी पठाउने एवं सुरक्षा सामाग्रीलाई कसरी उपयोग गर्ने र डिस्पोज गर्ने भन्ने कुरा सिकाइएको उनी बताउँछिन् ।

डा. निरा वीरगन्ज पुगेपछि त्यहाँका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बैठक डाँके । ४० वटा पीपीईको व्यवस्थापन गरिसकेको जानकारी दिदैं डा. उपाध्यायले आइसोलेसन बेड बनाउने कुरा बैठकमा राखे । साथै, थप कुराहरुको नेतृत्व प्रयोगशाला प्रमुखले गर्नुपर्ने धारणा राख्दैं डा. निरालाई सोधे, ‘सकिन्छ डा. साब ?’ डा. निराले जवाफ फर्काइन्, ‘सकिन्छ सर ।’ यतिबेलासम्म पनि उनलाई खासै डर लागेको थिएन् । किनभने टेष्ट गर्नेहरु लगभग सबैको रिपोर्ट कोभिड—१९ नेगेटिभ आइरहेको थियो ।

त्यही बेला भारतबाट इन्जिनियरिङ पढेर फर्किएका एक युवा कोरोनासँग एकदमै मिल्ने लक्षण लिएर नारायणी प्रादेशिक अस्पतालमा आए । मेसुले विहान ८ बजे नै भने, ‘डा. साब तपाईले आज एक जनाको स्वाब लिनुपर्नेछ है ?’ त्यसका लागि डा. निरा तयारी गर्न थालिन् । उनलाई अहिले पनि पहिलो स्वाब संकलन गर्दाको त्यो क्षण स्मरणीय लाग्छ । डा. निरा विहान ८ बजेदेखि माइण्ड मेकअप गरेर बसिन् । पहिलो स्वाब संकलनको चाँजोपाँजो मिलाउँदा—मिलाउँदैं समय लागेको उनी बताउँछिन् । एउटामात्रै पीपीई थियो । ‘स्वाब संकलनका लागि भिटिएम, आइसब्याग, मार्कर, डस्टिबन सबै कुरा अलग बनाउँदा दिउँसोको १ बज्यो,’ उनी भन्छिन् । १ बजे मेसु, नर्सिङ मेट्रोनको सहयोगमा डा. निराले छुट्टै कोठामा राखिएका ती व्यक्तिको स्वाब संकलन गरिन् । पहिलो स्वाब संकलन गर्दा उनलाई नियमित ड्युटी गरेजस्तै अनुभव भयो ।

तर, त्यसको प्रभाव अरुतिर पनि धेरै प¥यो । डा. निरा क्वार्टरमा बस्थिन् । शंकास्पद बिरामीको नमुना संकलन गरेको भनेपछि मानिसहरुको क्वार्टरको तर्फबाट हिड्न छोडे । पसल जान पनि गाह्रो हुन थाल्यो । ती व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आयो । डा. निराले झण्डै १५ सय हाराहारीमा स्वाब संकलन गरेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आइरहेको थियो । त्यही क्रममा धेरैतिरबाट स्वाब संकलन गरियो । त्यही क्रममा भारतीय आधार कार्ड मात्रै बोकेका केही भारतीयहरु स्वाब पनि ल्याइएको थियो । त्यो स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो । चार दिनपछि तीमध्ये तीन जनाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो । ‘त्यो बेला नेपालमा १० जनामा पनि कोरोना पोजेटिभ थिएन,’ उनले सम्झिइन्, ‘एकै पटक तीन जनामा पोजेटिभ आउँदा त वीरगन्जमा ज्वालामुखी आएजस्तो भयो ।’ सबैतिरका स्वास्थ्यका उच्च अधिकारीहरुको बैठक बस्यो ।

त्यो घटनाले धेरैलाई मानसिक रुपमै असन्तुलित बनाएको अनुभव उनी सुनाउँछिन् । ‘तीन जना बिरामीलाई हस्पिटलभित्र त ल्याइएको छ तर उनीहरुलाई कुनै कोठा दिनै सकिएको छैन्,’ डा. निरा भन्छिन्, ‘दुई महिनादेखि तयारीमा रहँदा पनि पहिलो पटक बिरामी नै आउँदा सबैमा अन्योल हुँदोरहेछ ।’ भौतिक रुपमा ४ वटा आइसोलेसन बेड पनि तयारी अवस्थामा छन्, तर बिरामी आइसकेपछि उनलाई नर्सिङ सुई कसले लगाउने ? डाक्टर कसले ड्युटी गर्ने ? फष्ट नर्सिङ ड्युटी कसले गर्नेजस्ता कुराहरुमा अन्योलनमा देखियो । ‘मानसिक रुपमा हामी तयार भएका रहेनछौं,’ उनले निष्कर्ष सुनाइन् । साँझपख ती बिरामीहरुलाई आइसोलेट गरियो, नर्सिङ सुपरभाइजरले ड्युटी सम्हाल्ने साहसिक निर्णय लिइन्, फिजिसियनहरु पनि तयार भए ।

 

गाउँ—गाउँ पुगेर स्वाब संकलन

हुनत उनले एनपिएचएलको तालिम लिएकै भोलिपल्ट नै आफूले सिकेको सीप स्टाफलाई सिकाइन् । तर, आँट गरेर काममा खटिन् कोही तयार भएनन् । त्यसकारण दुई महिना डा. निराले एक्लैं स्वाब संकलन गरिन् । चैतको बीचबाट तीन चार वटा ठाउँमा स्वाब संकलन गर्नुपर्ने भएपछि सम्भव भएन् । त्यसपछि उनले ल्याब इन्चार्जलाई आफूसँग हिड्नका लागि मनाइन् । उनले आनाकानी गरेनन् । डकुमेन्टेसनमा तत्कालीन मेसु डा. उपाध्याय र नर्सिङ सुपरभाइजरले सघाए ।

चैतको अन्तिम हप्तामा ल्याबका अन्य कर्मचारीहरु पनि स्वाब संकलनका लागि तयार भए । अन्य स्टाफ रोष्टरमा राखेर काम गर्न सुरु गरियो । एक हप्ता काम गरेपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने प्रबन्ध गरियो । त्यतिबेला ६ जनाको टिम स्वाब संकलनमा खटियो । वीरगन्ज क्रमसः कोरोना हटस्पटमा बदलिन थाल्यो ।

डा. निरा यो अवधिमा बारा, पर्सा र रौतहटका गाउँ—गाउँमा पुगेर स्वाब संकलनमा सक्रिय रहिन् । उनकै अगुवाईमा २४ बैशाख २०७७ बाट पीसीआर प्रयोगशाला सञ्चालन आउनुपूर्व नै ६ हजार स्वाब संकलन गरेर परीक्षण भए । पीसीआर प्रयोगशाला स्थापनापूर्व उनी आफै स्वाब संकलनमा हिडिन् । प्रयोगशाला नै सञ्चालनमा ल्याउने भएपछि उनी त्यसको व्यवस्थापनमा जुटिन् । सरकारले संघबाट पीसीआर मेसिन र २ जना जनशक्ति दिएको थियो, अन्य सामाग्री वीरगन्ज प्रयोगशालामा केही थिएन् । प्रयोगशाला स्थापनाका लागि ठाउँ, जनशक्ति, कसरी, कहाँ, कहिले, कोसँग जस्ता प्रश्नहरु उत्तर खोज्न नै निकै समय लागेको उनी सुनाउँछिन् । ‘चैतमा मेसिन आएपनि हामीलाई सुरु गर्न झण्डै एक महिना लाग्यो,’ उनले भनिन्, ‘सबै सामानहरुको व्यवस्थापन गर्नमै समय लाग्यो ।’ पुनः तालिम र एनपिएचलका २ जनासँगै गएर काम गरे । जिल्ला जनस्वास्थ्यको टिमलाई पनि स्वाब संकलनको तालिम दिइयो । पछि गाउँपालिकास्तरमै स्वाब संकलनको कार्य हुन थाल्यो ।

वीरगन्जबाटै ११ जेठमा पहिलो पोजेटिभ रिपोर्ट

२४ बैशाखबाट परीक्षण सुरु गरेपनि नारायणी अस्पताल प्रयोगशाला उक्त रिपोर्ट पुनः परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपथ्र्यो । केही साता जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण रिपोर्ट पनि समान आएपछि नारायणी अस्पताल प्रयोगशालाले पहिलो पटक ११ जेठमा पहिलो पोजेटिभ रिपोर्ट दियो । डा. निराको नेतृत्वमा दैनिक ७० स्वाबदेखि दैनिक ७ सय स्वाबसम्म परीक्षण भयो । ‘असार र साउनमा दिनको ६ सय ७ सय गर्दा पनि २/३ हजार स्वाब पेन्डिङ हुने अवस्था आयो,’ उनले भनिन्, ‘अहिले त अटोमेटिक मेसिनहरु आयो, त्यो बेला त हातैले गर्नुपर्ने अवस्था थियो ।’

डा. निरालाई कोरोना हटस्पटमा स्वाब संकलनदेखि परीक्षणसम्मका काममा खटिदा डर लागेन ? भन्छिन्, ‘डर अवश्य थियो किनभने त्यो विषयमा म परिपक्व नै थिइन् । न म म्यानेजरियल क्षेत्रमा विज्ञ थिए, न नयाँ रोग कोरोनाबारे नै । ४—५ दिनको तालिममा सिकेको कुराले कतै मिस्टेक त हुँदैन भन्ने डरले मलाई पाइला—पाइलामा झस्काउँथ्यो ।’ यही कारण उनले टिमवर्कमा बढी ध्यान दिइन् भने अप्ठ्यारो पर्ने बितिकै मेसुसँग अन्तक्रिया गरिन् ।

वीरगन्जमा कोभिड—१९ को पहिलो पीक जेठमा भएको थियो । जेठमा मात्रै ५ हजारभन्दा बढी टेष्ट आफूहरुले गरेको डा. निरा सुनाउँछिन् । असारमा अझ बढ्दैं गयो । किनभने, वीरगंजका मेयर विजय सरावगीले त्यतिबेला ‘एक घर, एक परीक्षण’ अभियान सुरु गरे । साउनमा महिनामा त नारायणी अस्पताल प्रयोगशालाले झण्डै ११ हजार हाराहारीमा पीसीआर परीक्षण ग¥यो । ‘साउनको चाप सम्झँदा अहिले पनि जीवनमा फेरि कहिल्यै त्यस्तो गर्न सकिन्छजस्तो लाग्दैन्,’ उनी भन्छिन्, ‘त्यतिबेला १—२ बजेसम्म काम गथ्र्यौ ।’ राति अबेर घर गएर खाना पकाउने, खाने गर्दैमा उज्यालो भइसक्थ्यो । फेरि फोन बज्न सुरु हाल्थ्यो । त्यतिबेला व्यक्तिगत जीवन, परिवारजस्ता कुराहरु समेत ख्याल गर्न नसकेको उनी बताउँछिन् ।

वीरगन्जको महामारी कसरी नियन्त्रणमा आयो ? डा. निरा तत्कालीन समयमा त्यहाँ जनस्वास्थ्य विज्ञ मेडिकल सुपरिटेन्डेन्ट भएकै कारणले सजिलो भएको बताउँछिन् । ‘लिडर इन फ्रन्ट भएर उहाँले स्टेप चाल्नुभयो । फागुनमै पीपीईको व्यवस्था गर्नुभयो, टोली बनाउनुभयो, आइसोलेसन बेड समयमै तयार पार्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि स्क्रीनिङ गतिका साथ अगाडि बढायो ।’ स्क्रीनिङमा संघ, प्रदेश कोही पनि अगाडि नआएका बेला संघीय अस्पतालका मेसु डा. उपाध्यायले त्यो सुरु गरेको उनी बताउँछिन् । मेसुले टिमलाई आँट भर्ने, जनशक्ति व्यवस्थापनमा देखाएको कुशलता र प्रयोगशाला बनाउँदाको सक्रियता महत्वपूर्ण रहेको डा. निराको भनाइ छ ।

आमा डाक्टरका दुःख

डा. निरा वीरगन्ज पुगेको एक दुई महिनापछि ६ वर्षीया छोरीलाई पनि सँगै लैजाने तयारीमा थिइन् । तर, लगतै कोभिड—१९ देखिएपछि उनले छोरीलाई आफूसँग राख्ने आँट गर्न सकिनन् । बुटवलमा रहेका बुवाआमासँगै राखिन् । कोभिड—१९ हटस्पटल वीरगन्जमा बिताएका ६—७ महिनासम्म त उनले छोरीलाई भेटनै पाइनन् ।

बैशाखसम्म त कहिलेकाही उनी छोरीसँग फोनमा कुरा गर्थिन् । तर, जेठ, असार र साउनको पीकमा त उनले कामको व्यवस्ताका कारण छोरीसँग फोनमा समेत कुरा गर्ने मौका पाइनन् । ‘विहानै ७ बजे हिडिसक्नुपर्ने अनि राति कोठामा पुग्दा १—२ बजिसक्ने । अनि दिउँसो कामको भ्याइ—नभ्याइ,’ उनले सुनाइन्, ‘आमा पनि दीर्घ रोगको बिरामी भएकाले पनि निकै गाह्रो अवस्था भयो ।’

साउनको अन्तिममा ५ महिनाको अन्तरालमा उनी छोरी भेट्नका लागि बुटवल गइन् । त्यो बेला पनि उनकी छोरीको खुट्टा पोलिएर बर्न इन्ज्युरी भएपछि मात्रै उनी छोरीलाई भेट्नका लागि बुटवल पुगेकी थिइन् । त्यो कुरा उनका आमाबुवाले त उनलाई भनेनन्, तर उनकी छोरी नै आफ्नो खुट्टा पोलिएको भनेपछि आमाको मन थामिएन् । मेसुलाई यो कुरा सुनाएपछि उनले पनि जिल्ला प्रशासन कार्यलयबाट पास बनाइदिए । गाडी भाडामा लिएर उनी बुटवल पुगिन् ।

छोरीले भनिन्, ‘मेरो खुट्टा पोल्यो भने मात्रै मम्मी आउनुहुँदोरहेछ, अब म कहिले खुट्टा पोल्छु, कहिले हात ।’ नाबालक छोरीले खोजिरहेको आमाको आँचल र डाक्टर आमाले फैलाउन नसकेको आँचलबीचको दुःख । शब्दमा बुन्न पर्याप्त छैन् । बुटवलमा केही दिन बसेर उनी पनि कोभिड—१९ विरुद्धको फ्रन्टलाइनमा काम गर्न वीरगन्ज फर्किइन् । भदौंमा पनि उतिकै रफ्तारमा काम भयो । असोजमा बल्ल अलिकति केसहरु कम देखिन थाल्यो ।

व्यक्तिगत रुपमा डा. निरालाई कोभिड महामारीले के दियो ? ‘जुनसुकै परिस्थितीमा पनि डगमगाउनु हुँदोरहेनछ भन्ने सिकायो,’ उनी दह्रो हुँदै बोलिन्, ‘डराउनु हुँदैन्, अगाडि चाहिँ बढ्नुपर्छ । जति सकिन्छ परेको बेलामा आफ्नो तर्फबाट बेस्ट दिनुपर्छ ।’ उनलाई धेरैले भनेका थिए तँ किन मरिहत्ते गरेको ? नेपालभरिका कुनै पनि प्याथालोजिष्टले यसरी लिड गरेको छैन् । स्वाब संकलन त ल्याब असिष्टेन्ट र कार्यलय सहयोगीले पनि गर्न सक्छ । तर, डा. निराले सोचिन्—अहिले वीरगन्जको यस्तो अवस्थामा खटिएन् भने यसले हामी कसैलाई बाँकी राख्दैन् । त्यहीकारण महामारीविरुद्ध हटस्पटमा खटिनका लागि उनी सदैव उत्प्रेरित रहिन् ।

डा. निरा झण्डै दुई हप्ताअघि सरुवा भएर परोपकार प्रसुति गृहमा आइन् । उनी काठमाडौं फर्किदा वीरगन्जले लगभग कोरोनामाथि नियन्त्रण पाइसकेको छ । अहिले एक दिनमा परीक्षण गर्ने स्वाब नपुग्दा नारायणी प्रयोगशालामा दुई दिनमा कोरोना परीक्षण हुन्छ । डा. निरा फर्किएपनि त्यहाँको ल्याब राम्रोसँग चलिरहेको छ । जिन एक्सपर्ट सेवा पनि ल्याबले दिइरहेको छ । जुन प्रयोगशालाको जग बसाउन उनले नेतृत्वदायी भूमिका खेलिन्, अहिले अन्य जनशक्तिले सजिलै प्रयोगशाला हाँकिरहेका छन् । यसैमा उनी खुसी छन् । यी फ्रन्टलाइनर चिकित्सकको अनुभव भन्छ-हरेक महामारीका लागि हामी सदैव तयार रहनुपर्छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ