२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएसएलसीका बोर्ड सेकेण्ड ३५ वर्षीय डा. पवन, जो एम्सबाट विशेषज्ञता हासिल गरेर बिरामी सेवामा तल्लीन छन्

एसएलसीका बोर्ड सेकेण्ड ३५ वर्षीय डा. पवन, जो एम्सबाट विशेषज्ञता हासिल गरेर बिरामी सेवामा तल्लीन छन्


डा. पवन शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ हुन् । उनले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट मानसिक रोगमा विशेषज्ञता हासिल गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको सेवासँगै उनी एसिस्टेन्ट प्रोफेसरका रुपमा अध्यापनमा पनि संलग्न छन् ।

३५ वर्षीय डा. पवन प्राध्यापन र बिरामी सेवासँगै उद्यममा पनि सक्रिय छन् । उनका काठमाडौंमा केही स्टार्टअपहरुमा लगानी समेत छ । नेपालमा बढ्दो मानसिक स्वास्थ्य समस्या निराकरणमा खटिरहेका उनी अधिकांश समय बिरामी सेवामा बिरामी खटिन्छन्, त्यसबाहेक केही समय आफूले सिकेको ज्ञान हस्तान्तरणमा पनि बित्छ ।

डा. पवन वि.सं. २०४३ सालमा पाल्पाको तानसेनमा जन्मिएका हुन् । बुवा खिमनाथ शर्मा र आमा पद्म देवी शर्माका तीन सन्तानमध्ये उनी जेठा हुन् । मध्यवर्गीय परिवारमा जन्मिएका पवनकी बहिनी डा. प्रमिता कम्युनिटी मेडसिनमा एमडी गरिसकेकी छन् भने अर्की बहिनी सुस्मिता कम्युनिटी नर्सिङमा माष्टर्स गरेर सेवामा सक्रिय छन् ।

परिवारको आर्थिक अवस्था राम्रै भएकाले डा. पवनको पढाइ राम्रो स्कुलबाटै अगाडि बढेको हो । उनले बिजु बोर्डिङ स्कुलबाट कक्षा ५ सम्मको अध्ययन सकाए । त्यसपछि तानसेनस्थित होराइजन बोर्डिङ स्कुलमा कक्षा ८ सम्म पढे । उनका बुवा बुटवल बहुमुखी क्याम्पसमा जागिरे भएकाले उनले कक्षा ९ र १० भने बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलमा पढे । स्कुल जीवनमा उनी पढाइमा अब्बल थिए । उनलाई सबैभन्दा बढी मनपर्ने विषय विज्ञान थियो, अझ त्यसमा पनि बायोलोजीप्रति उनको विशेष अभिरुचि थियो ।

होराइजन बोर्डिङ स्कुलबाटै  उनले वि.सं. २०५८ सालमा एसएलसी दिए । भनिन्छ, हुने बिरुवाको चिल्लो पात डा. पवनमा पनि स्कुल जीवनमै त्यो देखिन थालिसकेको थियो । उनी एसएलसीमा ९०.२५ प्रतिशत ल्याएर बोर्ड सेकेन्ड भएका थिए । बोर्ड सेकेन्ड नै भएपछि उनी थप उच्च शिग्क्षाका लागि काठमाडौं आए ।

काठमाडौंमा विज्ञान विषय लिएर प्लस टु पढ्न थाले । सन् २००४ मा उनले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजबाट प्लस टु सके । प्लस टु सकेपछि उनी केही समय एमबीबीएस इन्ट्रान्सको तयारीमा लागे । त्यसपछि उनले एमबीबीएस अध्ययनका लागि मदन पुरस्कार गुठीको छात्रवृत्ति हात पारे ।

छात्रवृत्ति पाएपछि उनी सन् २००५ मा एमबीबीएस अध्ययन गर्नका लागि कलकता मेडिकल कलेज गए । सन् २०११ मा उनले डाक्टरको पहिलो खुडकिलो एमबीबीएस उत्तीर्ण गरे । त्यसपछि केही समय त्यही इन्टर्न गरेपछि विशेषज्ञताको इन्ट्रान्स परीक्षाको तयारीमा लागे । ‘एम्सबाटै विशेषज्ञता हासिल गर्छु भनेर तयारीका लागि नयाँदिल्ली गए,’ उनले सुनाए, ‘त्यहाँ ३—४ महिना काम गर्दै तयारी गरे । तयारी नपुग्ला भनेर ४—५ महिना त पढेरै मात्र बसे ।’ उनको मेहनत परिणाम देखियो, उनले एम्समा साइक्रयाट्रिकमा विशेषज्ञता हासिल गर्ने अवसर पाए ।

‘सन् २०१२ मा एम्समा साइक्रयाट्रिक विशेषज्ञता हासिल गर्न नाम निस्कियो,’ उनले भने । सन् २०१५ मा उनले विशेषज्ञता हासिल गरे । आखिर साइक्रयाट्रिक नै किन त ? ‘यो विषय एमबीबीएसको दोस्रो वर्षदेखि नै मन परेको हो । कि साइक्रयाट्रिक कि न्युरोलोजी गर्छु भन्ने थियो,’ उनले भने, ‘भारतको ठूलो अस्पताल जीबी पन्तमा ३ महिना हाउस अफिसर भएर मैले न्युरोलोजी काम गरेको थिए । त्यसक्रममा न्युरोलोजीमा निकाल्न, अन्य प्रोसेस लामो हुने भएकोले साइक्रयाटिकतिर लागे ।’ साइक्रयाट्रिकमा फङसनल कार्य बढी हुने भएकाले पनि उनको यसप्रति बढी अभिरुचि जागेको हो ।

डा. पवनलाई विशेषज्ञता हासिल गरेपछि उनका प्रोफेसरले भारतमासँगै काम गर्न र अनुसन्धान कर्ममा सक्रिय रहन आग्रह गरेका थिए । तर, झण्डै १० वर्ष पढाइकै सिलसिलामा भारतमा बिताइसकेकाले उनलाई अझै पनि त्यही बसिरहन मन थिएन । त्यही कारण उनी विशेषज्ञता हासिल गर्ने बितिकै नेपाल फर्किए ।

उनी जतिबेला नेपाल फर्किए, त्यहीबेला नेपाल महाभूकम्पको चपेटामा प¥यो । त्यहीकारण एम्सको प्रतिष्ठित डिग्री भएर पनि उनी केही समय बिना काम बसे । तर, विस्तारै मेन्टल हेल्थका प्रोजेक्टहरुमा जोडिए । टिपियो नेपाल नामक एनजीओमा प्रोजेक्ट म्यानेजरका रुपमा काम गरे । त्यही क्रममा रामेछाप, दोलखालगायतका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिए । १ वर्ष प्रोजेक्ट काम गरेपछि त्यो सकियो ।

डा. पवनले त्यही बेला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साइक्रयाट्रिक लेक्चररमा जागिरको भ्याकेन्सी देखे । त्यसमा आवेदन दिए । उनको नाम निस्किहाल्यो । उनी पाटनमा लेक्चररका रूपमा काम गर्न थालेको अहिले त ६ वर्ष भइसकेको छ । अहिले उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गराउनुका साथै अस्पतालमा बिरामी पनि हेर्छन् । त्यसबाहेक चिरायु नेशनल अस्पताल, एरोगिन हेल्थ केयर र एक्पर्ट क्लिनिकमा ४ बजेपछि काम गर्छन् । जसमध्ये एरोगिन र एक्स्पर्टमा उनको अलिकति लगानी पनि छ ।

साइक्रयाट्रिक विशेषज्ञ डा. पवनलाई के कुराले खुसी दिन्छ । ‘जब बिरामीले औषधिले गर्दा होइन्, तपाईंले गरेको उपचारले ठिक भयो भन्नुहुन्छ,’ उनी सुनाउँछन्, ‘त्यसले मलाई सबैभन्दा खुसी दिन्छ ।’ उनकाअनुसार अहिले पनि नेपालमा मानसिक स्वास्थ्य समस्यालाई रोगका रुपमा ट्रिट गर्नेहरुको कमी छ । मानसिक स्वास्थ्यका बारेमा सचेतना कार्यक्रमहरु पनि जरुरी रहेको उनी बताउँछन् ।

डा. पवन मानसिक स्वास्थ्यलाई कसरी डिजिटल प्लाटफर्ममा लिंक गर्न सकिन्छ भन्नेमा लागिरहेका छन् । ‘यसको भूमिका के हुन्छ भन्ने कुरामा जोड दिएका छौँ,’ उनले भने, ‘हामीले “एम वेल प्लस’ भन्ने एप पनि तयार गरेका छौँ ।’ ‘कसैले मानसिक स्वास्थ्य कस्तो छ भनेर जाँच्नसमेत मिल्छ,’ उनले थपे, ‘र, मानसिक स्वास्थ्यलाई फाइदा हुने शारीरिक व्यायाम पनि समाबेश गरेका छौँ ।’

अधिकांश समय बिरामी सेवामै रहने भएकाले डा. पवन खासै फुर्सद पाउँदैनन् । बिदाको दिन हुने भएकाले शनिबार पनि उनको धेरै समय रिसर्चमा बित्छ । त्यसबाहेकको बाँकी फुर्सदको समय भने सिनेमा, सिरिज हेर्ने तथा घुम्नमा खर्च गर्छन् ।

यी युवा चिकित्सकको खानपान पनि सामान्य छ । नेपाली खाना रुचाउने उनी मासुका परिकार बढी मन पराउँछन् । पहिरनमा पनि उनी खासै चुजी छैनन् । पहिला जिन्स, टिसर्ट लगाउँथे, अहिले कामको प्रकृतिअनुसार नै फर्मल हुनुपर्ने भएकोले सर्ट र पाइन्ट लगाउँछन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स), #कलकता मेडिकल कलेज, #डा. पवन शर्मा, #पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, #मदन पुरस्कार गुठी, #मानसिक रोग विशेषज्ञ, #हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ