सहरका व्यस्त युवा अर्थोपेडिक्स तथा स्पाइन कन्सल्ट्यान्ट सर्जनमा पर्छन्— डा. प्रशान्त अधिकारी । महिनामा एक दर्जन स्पाइन सर्जरी उनको रुटिङमै पर्छन्, अर्थोपेडिक्सका अन्य सर्जरीसमेत गर्दा यो संख्या अझ धेरै बढ्छ । अहिलेसम्म डा. प्रशान्तले झण्डै ७००—८०० स्पाइन सर्जरी गरिसकेका छन्, त्यसबाहेक हाडजोर्नीका सर्जरीहरु जोड्दा झण्डै ४ हजार सर्जरीमार्फत उनले बिरामीको जीवन परिवर्तन गरिसकेका छन् ।
जीवन परिवर्तन गर्ने सर्जरी मानिने अर्थो र स्पाइन सर्जरीमा रमाइरहेका डा. प्रशान्त निजी क्षेत्रका दुई ठूला कर्पोरेट अस्पताल ह्याम्स अस्पातल र आरुष लाइफस्टाइल अस्पतालमा सेवा दिन्छन् । त्यहाँ उनले दैनिक १५—२० जना बिरामीहरुको ओपीडीमा उपचार गर्छन् । त्यसबाहेक बाँकी समय सर्जरी र अध्ययन—अनुसन्धानमा खर्चन्छन् । स्पाइन सर्जरीमा नयाँ सीप र प्रविधी भित्र्याउने योजना बनाएका डा. अधिकारीले जर्मनी, टर्की, फ्रान्स र अमेरिकाका प्रतिष्ठित संस्थानहरुबाट फेलोसीप गरेका छन् ।
काठमाडौंको बानेश्वरमा जन्मिएका हुन्—डा. प्रशान्त । माइनिङ इन्जिनियर डा. पुरुपोत्तम अधिकारी, पिएचडी र आमा स्व. सुस्मिता अधिकारीका दुई सन्तानमध्ये उनी जेठा हुन् । उनकी बहिनी डा. पुजा अधिकारी भक्तपुर क्यान्सर अस्पतालकी एनेस्थेसियोलोजिष्ट हुन् ।

उनको बाल्यकाल शंखमूलमा खाली फाँटहरुमा रमाउँदैं र बागमतीमा स्वीमिङ खेलेर बितेको हो । ‘शंखमूलमा काठको पुल भत्केको पनि सम्झन्छु,’ उनी बाल्यकाल स्मरण गर्छन्, ‘हामी साथीहरु मिलेर चंगा उडाउने र मंगल बजारमा पुगेर रमाउने गथ्र्यौ ।’ डा. प्रशान्तको प्रारम्भिक शिक्षादीक्षा लिटिल एन्जल स्कुलबाट अगाडि बढेको हो । सिचाइ विभागका सरकारी जागिरे बुवाको सरुवा विराटनगर भएपछि उनी पनि त्यतै गए । ‘कक्षा ७ सम्म लिटिल एन्जलमा पढे,’ उनले सुनाए, ‘त्यसपछि विराटनगर गए ।’
विराटनगर गएपछि त्यहाँको सेन्ट जोशेफ स्कुलबाट उनको थप शिक्षादीक्षा अगाडि बढ्यो । स्कुल जीवनमा साथीहरुसँग खेल्न, दौड्न, साइक्लिङ, स्वीमिङ, फुटबल खेल्न र पत्रपत्रिका पढ्नमा उनको रुचि थियो । स्कुलमा उनलाई सबैभन्दा मनपर्ने विषय गणित थियो । स्कुल पढ्दा उनी इन्जिनियर बन्ने सपना देख्थे । वि.सं. २०५३ सालमा उनले सेन्ट जोशेफ स्कुल विराटनगरबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी थप उच्च शिक्षाका लागि भारत गए । भारतको चेन्नईस्थित भिबीएसमा विज्ञान विषयमा प्लस टु को अध्ययन सुरु गरे । वि.सं. २०५५ सालमा उनी भीबीएसबाट प्लस टु सकेपछि स्वदेश फर्किए ।
स्नातक पढ्नका लागि घरबाट बुवाले उनलाई तीन वटा अप्सन दिएका थिए— सिभिल इन्जिनियरिङ, अंग्रेजी साहित्य र मेडिसिन । बुवाबाट तीन वटा अप्सन पाएका उनी अन्ततः स्कुल जीवनमा देखेको इन्जिनियर बन्ने सपनालाई बिट मार्दै एमबीबीएस पढ्न तयार भए । परिणाम, सन् १९९९ मा उनको डाक्टरी पढाइको यात्रा अगाडि बढ्यो ।

सन् २००५ मा डा. प्रशान्त डाक्टरीको पढाइ सके । इन्टर्न सकेपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरे । डाक्टर बनेपछिको उनको औपचारिक जागिर भने काठमाडौं मेडिकल कलेजबाट मेडिकल अधिकृतका रुपमा सुरु भयो । ‘पढ्दा—पढ्दैं अर्थोपेडिक्समा रुचि लागिसकेको थियो,’ उनी भन्छन्, ‘मैले केएमसीको अर्थोपेडिक्स विभागमा मेडिकल अधिकृतका रुपमा जागिर सुरु गरे ।’ एक डेढ वर्ष केएमसीको अर्थो विभागमा काम गरेपछि युएसएमएलई र पिजीको तयारी सँगसँगै अगाडि बढाए ।
काठमाडौं विश्वविद्यालयमा स्कुल अफ मेडिसिनमा उनले पिजीका लागि इन्ट्रान्स दिए । डा. प्रशान्तको इन्ट्रान्समा नाम निस्कियो । सन् २०१४ मा उनले काठमाडौंको विश्वविद्यालयको स्कुल अफ मेडिसिनबाट अर्थोपेडिक्स सर्जरीमा एमडी गरे । विशेषज्ञता हासिल गरेपछि डा. प्रशान्त ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अर्थो रजिष्ट्रारका रुपमा सेवा गर्न थाले ।
सन् २०१६ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिरहेका बेला डा. प्रशान्तलाई टर्कीबाट फेलोसीपको अवसर प्राप्त भयो । आर्टेस स्पाइन सेन्टर अंकारामा उनले एक वर्ष न्यूरो—अर्थो क्लिनिक स्पाइनमा फेलोसीप गरे । त्यहाँ उनले संसारकै प्रतिष्ठित स्पाइन सर्जन एम्रे अजारोग्नुसँग सिक्ने अवसर पाए । एक वर्ष टर्कीमा फेलोसीप सकेपछि उनी सन् २०१७ मा नेपाल फर्किए । त्यहाँबाट फर्केपछि केही समय उनले ग्राण्डीमा काम गरे ।

जुन २०१८ मा डा. प्रशान्त, डा. भाष्कर पन्त र डा. सन्दीप भण्डारी तीन जना अर्थो स्पेशलिष्टहरु ह्याम्स हस्पिटलमा गए । यहीबीच युरो स्पाइन सोसाइटीमार्फत उनले जर्मनी र फ्रान्समा क्लिनिकल स्पाइन फेलोसीप प्राप्त गरे । सन् २०१८ मा उनी उक्त फेलोसीप गर्नका लागि टेक्नीकल युनिभर्सिटी म्युनिख गए । त्यसपछि उनले फ्रान्समा फेलोसीप गरे । फेलोसीप सकेर फर्केपछि डा. प्रशान्त ह्याम्स अस्पतालमै सेवारत रहे । यहीबीच उनले आरुष लाइस्टाइल हस्पिटलमा पनि बिरामी हेर्न थाले ।
सन् २०२४ मा डा. प्रशान्तले अर्को फेलोसीप हात पारे । अमेरिकाको सिकागोमा उनले स्पाइन सर्जरी सम्बन्धी फेलोसीप गरे । बाङ्गा—टिङ्गा ढाड, कुप्रो ढाड, फ्रयाक्चर भएको ढाडको सर्जरीमा उनको सीप तिखारिएको छ । हाडजोर्नी विशेषज्ञका रुपमा पनि उनको बेग्लै पहिचान छ । अब केही समयमै इण्डोस्कोपिक स्पाइन सर्जरी सुरु गर्ने उनको टिमको तयारी छ । केही दिनभित्रै पुनः फेलोसीपका लागि डा. प्रशान्त अमेरिका उड्दैंछन् ।
इन्ट्रोभर्ट स्वभावका डा. प्रशान्त बोल्नुभन्दा लेख्न र पढ्न बढी रुचाउँछन् । हालसालै मात्रै ‘ट्युबरक्लोसिस’ले स्पाइनमा पार्ने प्रभावमाथि अनुसन्धानमूलक लेख प्रकाशित गरेका उनी अनुसन्धान कर्ममा सक्रिय चिकित्सकमा पर्छन् । हालसम्म उनका २० वटाभन्दा बढी अनुसन्धानमूलक लेखहरु विभिन्न जर्नलमा प्रकाशित भइसकेका छन् । ‘सामान्यतयाः बिरामीको उपचारसँगै रिसर्च, स्वदेश—विदेशमा रिसर्च प्रिजेन्टेसनका कामहरु पनि गरिरहेको हुन्छु,’ यी व्यस्त सर्जन भन्छन् ।

उपचारमार्फत अरुको अनुहारमा खुसी फर्काउने यी सर्जनलाई के कुराले खुसी दिन्छ त भनेर सोध्दा ? उनी भन्छन्, ‘आफूले सोचेको कुरा गर्न पाएमा यसै पनि खुसी भइदोरहेछ । स्पाइनमा र अर्थोपेडिक्समा रुचि थियो, अहिले स्पाइन र अर्थोपेडिक्सका सर्जरी गर्नमै खुसी छु ।’ यही कर्म आउने भएकाले पनि उनी यसमै रमाइरहेका छन् । अझ आजभोलि उनी स्पाइनमा बढी फोकस हुँदैं गएका छन्, स्पाइनमा पनि नवीनतम कुराहरुले उनलाई बढी तानिरहेका छन् । ‘स्पाइनमा के गर्न सकिन्छ, के ल्याउन सकिन्छ भन्नेमै बढी केन्द्रीत छु,’ उनले भने ।
डा. प्रशान्त स्पाइनका क्षेत्रमा केही नयाँ गर्न चाहन्छन् । नेपालमा काइफोेप्लास्टी (बुढाबुढीको भाँचिएको हड्डीमा सिमेन्ट भर्ने), एडल्ट स्पाइन डिफरमेटीभ उनले नै सुरु गरेका हुन् । ‘यस्तै नयाँ—नयाँ कुराहरु नेपालमा ल्याउन पाइयो भने राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘नेपालमै विश्वमा आएका नयाँ—नयाँ कुराहरु ल्याएर बिरामीलाई दिन पाए हुन्थ्यो ।’ नेपालको अर्थोपेडिक्स सर्जरी सेवा अहिले विश्वस्तरीय रहेको उनी बताउँछन् । वीर, त्रिवि शिक्षण, नर्भिक, बीएण्डी, ह्याम्सलगातयका अस्पतालमा विश्वस्तरीय अर्थोपेडिक्स र स्पाइन सर्जरीहरु हुने गरेको छ । यतिमात्रै होइन् काठमाडौं बाहिर पनि अर्थोपेडिक्स सर्जरीमा गुणस्तरीय र विश्वस्तरीय सेवा उपलब्ध रहेको डा. प्रशान्त बताउँछन् ।

‘काठमाडौं बाहिर पनि धेरै ठाउँमा स्पाइन, अर्थो सर्जरीहरु निकै राम्रो भइरहेका छन्,’ उनी भन्छन्, ‘पहिला बीएण्डबीमा हामी काम गर्दा नेपालभरकै बिरामीहरु त्यहाँ आउँथे । औला फ्याक्चर हुँदा पनि मेचीदेखि महाकालीसम्मको बिरामी त्यही भर्ना हुन्थे ।’ केही दिन पहिले पाथीभरा जाने क्रममा पाँचथर अस्पताल पस्दा अस्पतालको पूर्वाधार विकास र दिइरहेको सेवाले नेपालको विकसित स्वास्थ्य सेवाको झल्को उनले पाए । ‘त्यहाँ एक बिरामीको फ्याक्चरको केसमा त्यहीका डाक्टर साबहरुले प्लेट हालिदिनु भएको थियो,’ उनले भने, ‘पाँचथरजस्तो ठाउँमा पनि यो सेवा पुगेछ । त्यहाँको मान्छे इलामसम्म पनि झर्नुपरेन, झापा त परै जाओस् ।’ कहिलेकाही जुनियर र साथीभाइका प्रिजेन्टेसन हेर्दा पनि अर्थो र स्पाइनमा सर्जरी सेवामा नेपालले छलाङ मारेको अनुभव उनले गर्ने गरेका छन् ।
अर्थो र स्पाइन सेवामा नेपालमा अझै केही नवीनतम प्रविधीहरु भित्र्याउनुपर्ने अवस्था भने छ । नेभिगेसन प्रविधी र न्यूरो मनिटर विदेशका हरेक हस्पिटलमा उपलब्ध हुन्छ । तर, नेपालमा यी प्रविधि भित्र्याउन ठूला अस्पतालका लागि मात्रै सम्भव रहेको उनी बताउँछन् । ‘यी प्रविधीको करोडौं रुपैयाँ पर्छ,’ डा. प्रशान्त भन्छन्, ‘सबै अस्पतालले अफोर्ड गर्न पनि सक्दैनन् ।’ यस्ता अन्य केही दुई—तीन करोड रुपैयाँ पर्ने उपकरणहरु छन्, जो नेपाल सहजै ल्याउन सहज छैन ।

अर्कोतर्फ पहिलो विश्वका देशहरुमा सबैजसो सर्जरीहरु बीमामार्फत निःशुल्क गरिएका छन्, नेपालमा त्यो अवस्था अझै बनिसकेको छैन । ‘हामी बिरामी भयौं भने पैसा कहाँ खोज्ने भन्ने तनाव हुन्छ,’ उनी भन्छन्, ‘विदेशमा त्यो हुँदैन् । म जाँदा देखिरहेको हुन्छु, स्पाइन सर्जरी नै चार—पाँच पटक रिभिजन गरिरहेका हुन्छन् ।’ सरकारले निःशुल्क गरेकाले पनि त्यहाँका बिरामीहरु यसलाई नियमित प्रक्रियाका रुपमा सजिलै लिइरहेका हुन्छन् । नेपालमा सरकारी अस्पताल लामो पालो कुर्नुपर्ने अवस्था छ भने निजी अस्पतालहरुमा खर्च जुटाउन बिरामीलाई हम्मे पर्छ ।
सरल जीवनशैली
सन् २०१० मा डा. प्रशान्त बन्दना पोखरेलसँग विवाह बन्धनमा बाँधिएका हुन् । अहिले उनीहरुको एक छोरा प्रज्ञान छन् । श्रीमती बन्दना भने डेभलपमेन्ट स्टडिजमा पिएचडी गर्दैछिन् । उनको जीवनशैली पनि सामान्य छ ।
फुर्सदको समयमा डा. प्रशान्त फुटबल हेर्छन् । त्यसबाहेक उनको धेरैजसो समय भिडियो गेममा बित्छ । बाँकी समयमा पढ्न र अनुसन्धानमूलक लेखहरु लेख्छन् । ‘मन लाग्दा पढ्छु र रिसर्चहरु गर्छु,’ उनी भन्छन्, ‘मुडअनुसार कहिलेकाहीँ तीन महिनासम्म पनि रिसर्च पेपर लेख्दिनँ, कहिलेकाहीँ लगातार दुई—तीन महिनासम्म पनि लेख्छु ।’

घुमघाममा पनि उनको रुचि छ । वर्षमा दुई—तीन पटक देश—विदेश घुमेकै हुन्छन् । अहिलेसम्म गएकामा उनलाई सबैभन्दा बढी मन परेको ठाउँ इस्तानबुल हो । नेपालमा भने उनलाई काठमाडौं बढी मन पर्छ । खानपानमा पनि उनको विशेष लगाव छैन । बाहिरको भन्दा घरमै बनेको खाना रुचाउँछन् । उनलाई सबैभन्दा मनपर्ने खाना मासुभात हो । खानपिन गर्नका लागि कहिलेकाही साथीभाइहरुसँग घरमै जमघट गरिरहेका हुन्छन् ।
पहिरनमा उनलाई पहिले जिन्स मन पथ्र्यो, अहिले फर्मल पोशाक रुचाउँछन् । गीत संगीत पनि सुनिरहेका हुन्छन् । उनका छोरा प्रज्ञान गितार बजाउने र गीत गाउने भएकाले पनि सँगै बसेर रमाउँछन् । पहिले—पहिले हलकै गएर फिल्म हेर्ने उनको आजकल त्यो बानी भने फेरिएको छ, घरमै टिभीमा सिनेमा हेर्छन् । अहिलेसम्मकै उनलाई मन परेको सिनेमा भने ‘गड फादर’ हो ।
फिक्सन, हिस्ट्री र नोबल उनलाई बढी पर्छन् । महिनामा उनी एक पटक किताब किन्न गइरहेका हुन्छन् । ‘छोराले पनि पढोस जस्तो लाग्छ, उसलाई पनि लिएर जान्छु । किताब छान्न लगाउँछु’ उनी भन्छन्, ‘मेरो बुवाले पनि मलाई त्यस्तै गर्नुभएको थियो ।’