२०७९ असार १०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २डबल एमडी गरेकी उपमेयर डा. नमिता

डबल एमडी गरेकी उपमेयर डा. नमिता


डा. नमिता यादव डबल एमडी चिकित्सक हुन् । उनले जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा धरानबाट र गाइनोमा चीनबाट एमडी गरेकी छन् । डा. नमिताको अर्को परिचय पनि छ । उनी अहिले सिरहा जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकाकी उपमेयर पनि हुन् ।

चिकित्सा पेशाबाट राजनीतिमा आएकी डा. नमिता जनकपुरको वकिल टोलमा २०३५ सालमा जन्मिएकी हुन् । जुन अहिले जनकपुर उपमहानगरपालिका–०२ मा पर्छ । उनी बुवा काशीप्रसाद यादव र आमा जगतारनदेवीकी त्यस्ती भाग्यमानी छोरी हुन्, जसले महिलाले स्कुलको ढोकासम्म पुग्न नपाउने समयमा शिक्षा हासिल गर्न पाउने सुवर्ण अवसर पाइन् ।

उनलाई चिकित्सक बनाउनेमा सबैभन्दा दरिलो हात उनका बुवा काशीप्रसादको छ । अहिले पनि डा. नमितालाई लाग्छ बुवा नभैदिएको भए, उनको जीवनको सुर, ताल र भाकाहरु सबै फरक सुरमा बगिरहेका हुन्थे । ‘नेपालमा नै माइती भएको यादव जातको पहिलो महिला चिकित्सक पनि हुँ,’ उनले सुनाइन् ।

उनका बुवा काशीप्रसाद पढेलेखेका थिए । उनी सडक विभागका इन्जिनियर । त्यसैले जनकपुरमा जन्मेपनि डा. नमिताको बाल्यकाल बुवासँगै हेटौडा, दाङ, धनगढी, दाङलगायतका ठाउँमा बित्यो । ‘बुवा सरकारी जागिरे, उहाँको जताजता सरुवा हुन्थ्यो, म त्यही–त्यही पुग्थे,’ हालैको एक साक्षात्कारमा उनले सुनाइन्, ‘त्यसैले मैले त्यतिबेलै सम्पूर्ण देश हेर्ने अवसर पाएँ ।’

काशीप्रसादमा भरिएको शिक्षाको ज्योतीले छोरीको जीवनलाई पनि झलमल्ल बनाइदियो । त्यसैले उनले छोरीलाई पढाउनै बढी जोड दिए । छोराको पढाइमा समेत जोड नदिने त्यो बेलाको समयमा पनि नमिताले बोर्डिङ पढ्न पाइन् । डा. नमिता अहिले पनि आफ्ना पिताजीले आफूलाई बोर्डिङमा पढाउन घरभित्रै गरेको संघर्ष सम्झँदा पनि भावुक हुन्छिन् । त्यो बेला जनकपुरमा मधेशी समुदायसँगै पहाडी समुदायको समेत बोलवाला थियो । तर, बोर्डिङ पढ्दा उनी क्लासकी एक्लो केटी सदस्य थिइन्, अरु सबै केटा । ‘छोराहरुलाई मात्रै बोर्डिङ स्कुलमा पढाइन्थ्यो । छोरीले त स्कुल समेत देख्दैन्थे,’ उनले आफूलाई शिक्षा दिने क्रममा बुवाले गरेको संघर्ष सम्झिइन्, ‘उहाँले फ्यामिलीभित्रै संघर्ष गर्नुप¥यो । संयुक्त परिवारमा छोरीलाई पढाउन थाल्यो भनेर कुरा काट्न थाले ।’ तर, छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनाबाट उनका बुवा कहिल्यै पछि हटेनन् ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझैं डा. नमिताले बुवाको सपना साकार पार्ने बाटोको पहिलो खुड्किला पार गरिन्–वि.सं. २०५० सालमा । उनले जनकपुरको जानकी बोर्डिड स्कुलबाट ७६ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरिन् । २०५० सालमा एसएलसीमा यति राम्रो रिजल्ट थोरैले मात्रै हात पार्थे । डा. नमिता त्यतिखेर महिलातर्फबाट जनकपुर जिल्ला फष्ट भएकी थिइन । उनको जिल्ला टपरले ७८ प्रतिशत अंक ल्याएका थिए ।

छोरीलाई स्कुल पढाउन हुँदैन भन्ने रुढीवादी धारणा बोकेको समाजबाट डा. नमितासम्मको यात्रा निकै प्रेरणादायी छ । डा. नमिता दाङमा रहँदा बेला–बेलामा बिरामी भैरहन्थिन् । उनको उपचारका लागि कहिले उनका बुवाआमा नेपालगन्ज पुग्थे, कहिले लखनउसम्म पनि । बिरामी पर्दा उपचारका लागि त्यति टाढा जानुपरेको दृश्यले नमितामा भविष्यमा डाक्टर बन्छु भन्ने सपनाको बिउ रोपेको थियो । यो बाध्यताबाट बाल मस्तिष्कमा रोपिएको सुनौलो सपना थियो । ‘दाङमा बस्दा विरामी भैरहन्थे, उपचारका लागि कहिले लखनउ पुग्नुपथ्र्यो, कहिले नेपालगन्ज,’ उनले आफ्नो चिकित्सक सपनाको विउ रोपिएको प्रसंग उप्काइन्, ‘त्यति बेला म सानै थिएँ, तर त्यो बाध्यता देखेपछि मलाई भविष्यमा जसरी पनि डाक्टर बन्छुजस्तो लाग्थ्यो ।’

उच्च शिक्षा बुलिङका कारण भारतमा

एसएलसीमा डा. नमिताले उत्कृष्ट नतिजा हात पारिन् । आफ्नो भविष्यको सपना पछ्याउनका लागि उनलाई राम्रो ठाउँबाट उच्च शिक्षा हासिल गर्नु थियो । त्यो बेला काठमाडौंमा कलेज त थिएँ, तर जनकपुरको घरपरिवारबाट अलग रहेर बस्ने सुविधासम्पन्न होस्टेलहरु थिएनन् । जनकपुरतिरको वातावरण पनि केटीहरुका लागि राम्रो थिएन् । केटाहरु पछ्याउने, जिस्काउने तथा बुलिङ गरेर सताउने गर्थे । पढ्न जाँदा अनेकन हन्डरहरु पार गर्नुपथ्र्यो । ‘एकदमै दुःख थियो । काठमाडौंमा होस्टेलको ब्यवस्थामा पनि थिएन,’ उनले भनिन् ।

छोरीका लागि सुरक्षित र उपयुक्त पढ्ने वातावरणको खोज्ने क्रममा उनका बुवा भारत पुगे । भारतको आन्द्र प्रदेशस्थित श्री विवेकानन्द जुनियर कलेजमा उनको भर्ना गरियो । नमिताले विवेकानन्द जुनियर कलेजबाट साइन्समा ८९ अंक ल्याएर आइएस्सी उत्तीर्ण गरिन् । त्यहाँ पनि उनले टप गरिन् । यो सन् १९९४ देखि १९९६ सम्मको समय थियो ।

आइएस्सी सकेर नेपाल फर्किइन् । नेपालमा त्यतिबेला चिकित्सा शिक्षा पढाउने कलेजहरु यति धेरै थिएनन् । एकदमै थोरै विद्यार्थीहरुले मात्रै चिकित्सा अध्ययनमा अवसर पाउँथे । त्यसपछि उनलाई चिकित्सा शिक्षा पढ्न बंगलादेश पठाइयो । सन् १९९८ मा उनी बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा एमबीबीएस भर्ना भइन् । ‘हामी त्यहाँको ११ औं ब्याच हो,’ उनले भनिन् ।

पुरानो कलेज, राम्रो अनुभव बटुल्ने पाइने भनेर उनका बुवाले एमबीबीएस पढ्न बंगलादेश पठाएका थिए । अर्कोतर्फ, नेपालमा एमबीबीएका लागि पालो पाउन निकै समय पर्खनुपर्ने अवस्था थियो । केटी मान्छे भएकाले विवाहका कुराहरु पनि अगाडि बढाउनुपर्ने भएकाले परिवारले उनलाई बंगलादेश पढाएर छिटो पढाइ सकाउने अप्सन रोजेको थियो । त्यहाँबाट उनले सन् २००३ मा एमबीबीएसको पढाइ पूरा गरिन् ।

त्यसपछि डा. नमिता नेपाली यादव समुदायकी पहिलो डाक्टर छोरी बनेर नेपाल फर्किइन् । सन् २००४ देखि सन् २००५ सम्म उनले तीन अस्पताल वीर, कान्ति र प्रसुती गृहमा इन्टर्नसीप गरिन् । इन्टर्न सकिएपछि नेपाल मेडिकल काउन्सिल (एनएमसी)को लाइसेन्स परीक्षा उतीर्ण गरिन् । त्यसपछि उनी सबै औपचारिकताहरु पूरा गरेर लाइसेन्सवाला चिकित्सक बनिन् ।

मेडिकल अफिसर हुँदै इमर्जेन्सी इन्चार्जसम्म

सन् २००५ मा लाइसेन्स लिएपछि उनले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मेडिकल अफिसरको जागिर सुरु गरिन् । मेडिकल अफिसर हुँदा शिक्षणमा उनले आईसीयु र सीसीयुमा काम गरिन् । एक वर्ष त्यहाँ जागिर गरेपछि उनलाई आफ्नो अध्ययनको दायरा अझ बढाउने अभिरुची पैदा भयो ।

Dr. Namita

‘त्यसपछि, मैले एमडी गरे, एक वर्ष मेडिकल अफिसर काम गरेपछि मात्र एमडी गर्न पाउने क्राइटेरिया थियो,’ उनले सुनाइन्, । सन् २००६ मा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा एमडीका लागि भर्ना भइन् । सन् २००९ को धरानबाट जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा एमडी पूरा गरिन् ।

एमडी पूरा गरिसकेपछि उनले केही समय सिरहामा प्राइभेटमा काम गरिन्, किनभने उनका श्रीमान पनि सिरहा जिल्ला अस्पतालमा कार्यरत थिए । त्यसपछि उनी भक्तपुरको नागरिक हस्पिटलमा इमर्जेन्सी इन्चार्ज र जिपी कन्सल्टेन्टका रुपमा कार्यरत रहिन् । त्यसपछि दमकको अम्दा ओमिट हस्पिटल र फिदिममा पनि काम गरिन् ।

उनी जानकी मेडिकल कलेजमा इमर्जेन्सीको इन्चार्जका रुपका काम गर्न थालिन् । जानकीमा काम गर्दा उनी जनकपुर बस्थिन् । त्यहाँ उनका धेरै प्यासेन्टहरु थिए, तीमध्ये धेरैजसो महिलाहरु हुन्थे । कतिपय विरामी त यस्ता पनि थिए, जो अस्पतालमा हेर्न नभ्याउँदा घरैसम्मै आइपुग्थे । त्यहीबेला उनले प्राइभेट प्रायक्टिस पनि सुरु गरिन् । जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा हासिल गरेको विशेषज्ञताले उनलाई गाइनोको पनि अनुभव थियो । त्यसैले गाइनो सम्बन्धी केसहरु पनि उनी हेर्थिन् । तर, आफूले विशेषता हासिल नगरेका कारण उनी स्वयंमलाई भने त्यो आफ्नो फिल्ड होइन् भन्ने लागिरहन्थ्यो । गाइनो आफ्नो दायरा होजस्तो नलागेपछि उनले अर्को एमडीको आवश्यकता महसुस गरिन् ।

यही क्रममा सन् २०१५ मा उनी गाइनोमा एमडी गर्न चीन पुगिन् । चीनको सिन्स्याङथित सिन्स्याङ मेडिकल युनिभर्सिटीबाट सन् २०१७ मा गाइनोमा एमडीको अध्ययन पूरा गरिन् । त्यसलगतै उनी पुनः नेपाल फर्किइन् र नेपाल फर्केर एनएमसीको स्पेशलिष्ट परीक्षा उतीर्ण गरिन् ।

चिकित्सकको राजनीतिक यात्रा

चीनमा एमडी सकेर नेपाल फर्किदा नेपालमा स्थानीय निर्वाचनको चटारो सुरु भैसकेको थियो । कहाँ कसलाई टिकट दिने, कहाँ कुन उम्मेदवार उठाउँदा जित्छ भन्ने गणितीय आँकडा निकाल्न दलहरु तल्लीन थिए । समाजका विभिन्न क्षेत्र, पेशा, ब्यवसायका लोकप्रिय मानिसहरुमा पनि दलहरुले आँखा लगाएका थिए ।

दुई नम्बर प्रदेशमा डा. नमिताको पनि लोकप्रिय छवि थियो । उनले २ नं. प्रदेशका धेरै ठाउँमा पुगेर विरामी हेरेकी थिइन् । धेरैको उपचारमा आफ्नो सीप खर्चेर बिरामीको अनुहारमा मुस्कान फर्काइदिएकी थिइन् । चिकित्सकका रुपमा जनकपुरमा कार्यरत रहँदा पनि उनी बेला–बेलामा अन्य जिल्लाहरुमा पनि गैरहेकी हुन्थिन् । त्यसमध्ये सिरहा जिल्लाको सिरहा नगरपालिका—७, थानाचोकमा त उनको श्रीमानको घर भैहाल्यो । त्यहाँ पनि उनको सीपको जादूले मानिसहरुलाई निरोगी बनाउन सहयोगी भूमिका खेलेको थियो ।

यसक्रममा उनी स्वयंम पनि मधेशका महिलाहरुका समस्याका विषयमा अवगत थिइन् । ‘बिरामी भनेर आउने झण्डैं ८० प्रतिशत महिलाको रोग नै हुँदैन्थ्यो । तर, मानसिक तनाव झेल्नुपर्दा शारिरीक समस्या बढी भएको देखे,’ उनले थपिन्, ‘त्यसको कारक घरायसी समस्या बढी देखिने, कुरीति, परम्परागत रुढीवादी विश्वास, बालविवाह, दाइजोजस्ता समस्या हुन्थे ।’ डा. नमितालाई लाग्यो, चिकित्सकका रुपमा त २० प्रतिशत बिरामीहरुलाई मात्रै निको पार्न सकिन्छ । ८० प्रतिशत महिलाहरु निको पार्न चिकित्सक पेशामात्रै अंगालेर सम्भव छैन् । यी कुराहरुले उनमा ८० प्रतिशत समस्या हटाउन सक्ने फोरमको खोजी गर्ने हुटहुटी उनमा हुन थाल्यो ।

‘मलाई केही बिरामीले खोज्दैं आउने हो, तर, त्यहाँ धेरै मान्छे बिरामी छन्, जसले कही गएर बोल्न सक्दैन् । तिनीहरु कहाँ आफै जानुपर्छ, कसैले कुरितीलाई हटाउन पहल गर्नैपर्छ महिला र बालबालिका लागि केही गर्नैपर्छ भन्ने लाग्यो,’ उनले दृढता मिश्रित श्वरमा भनिन् । त्यही बेला उनलाई तत्कालीन एमालेले सिरहा नगरपालिकाको उपमेयरमा उठाउने निर्णय ग¥यो । सामाजिक रुपान्तरणका लागि कुनै उचित फोरम खोजिरहेकी उनका लागि यो उपयुक्त अवसर थियो । उनले एमालेको त्यो निर्णय स्वीकार गरेर चुनावी मैदानमा उत्रिइन् ।

भोलि नोमिनेस बुझाउनुपर्ने, आजमात्रै उनको उम्मेदवारी फिक्स भयो । ‘कति दिन नेतालाई मात्रै गाली गर्ने भन्ने भयो,’ उनले उम्मेदवार बन्दाको अनुभव सुनाइन्, ‘एमालेको कमजोर ठाउँ भएपनि मैले हिम्मत गरेर चुनावी मैदानमा ओर्लिए ।’ सिरहा नगरपालिका एमालेको राम्रो मतदाता भएको ठाउँ होइन् । स्थानीय निर्वाचनमा पनि सिरहाको नगरपालिका ३२ सदस्सीय कार्यपालिकामामा ६ जनामात्रै एमालेका छन् । त्यस्तो कमजोर जनमत भएको क्षेत्रमा पनि चिकित्सकको लोकप्रियताको जादू चल्यो । उनले उपमेयरमा जितिन् । जनकपुर बस्दा सिरहाबाट गएका बिरामीलाई पनि उनले उपचार गरेकी थिइन् भने सिरहामै श्रीमानको घर भएकाले त्यहाँ रहेर पनि उनले थुप्रै बिरामीको उपचार गरेकी थिइन् ।

उनले जाँचेका बिरामीहरुले उनलाई मत दिए, समाजका धेरै मानिसहरुले पार्टी भनेर हेरेनन्, पढेलेखेको महिला भएकाले उनलाई नै भोट हाले । उनी आफ्नो विजयको कारण सुनाउँछिन्, ‘मबाट विशेष गरी महिला र अरुलाई पनि धेरै आशा थियो । संगठनका मानिसहरुले भोट दिने नै भए, पढेलेखेकी भएकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्छजस्तो सबैलाई लागेको थियो ।’ उपमेयर निर्वाचित भएपछि पनि उनले स्वास्थ्य र शिक्षामा बढी जोड दिइरहेकी छन् । अहिले विपन्न, जेष्ठ नागरिक, स्वास्थ्य, छात्रवृत्ति, दलितलगायतका क्षेत्रमा उनले काम गरिरहेको बताइन् । लिंग पहिचान गरेर गर्भपत्तन गराउने समस्यामा पनि नगरपालिकाले सक्रियताका साथ काम गरिरहेको छ । उनको विशेष चासोको क्षेत्र शिक्षा, स्वास्थ्य, महिला र बालबालिका हो । त्यसमा केही फरक गरौं भन्ने हिसाबले उनी अगाडि बढिरहेकी छन् ।

उनकै अग्रसरतामा हालैमात्र सिरहा अस्पतालमा एआईसीयु कक्ष सञ्चालनमा आएको छ । यससँगै सिरहा अस्पताल जिल्लामै एनआईसीयु कक्ष सञ्चालन गर्ने पहिलो अस्पताल भएको छ । अस्पतालबाट अहिले सिरहा सदरमुकाम, विष्णुपुर गाउँपालिका, कल्याणपुर नगरपालिका, औरहीदेखि पूर्वी धनुषा र भारतसम्मका विरामीले उपचार पाइरहेका छन् ।

डा. नमिता सिरहा जिल्लाको लैंगिक विभेद र हिंसा न्यूनीकरणको जिल्ला सल्लाहकार पनि छन् । जसमार्फत उनी सामुदाय—प्रहरी साझेदारी र जिल्लाको महिला, बालबालिका सेलमार्फत जिल्लाभरि नै लैगिक विभेद र हिंसा न्युनीकरणमा काम गरिरहेकी छिन् ।

राजनीतिक र चिकित्सासँगसँगै

डा. नमिता उपमयेर भएपछि पनि चिकित्सा पेशामा पनि सक्रिय नै छन् । उनलाई अहिले पनि कार्यक्रममा जाँदा समेत बिरामीहरु हेरिदिनुप¥यो भन्दैं आइपुग्छन् । उनी आफूले सकेसम्म बिरामी हेर्ने र औषधि लेखिदिने गर्छिन् । सिरहाबाहेकका वरिपरीका नगरपालिकाहरुले पनि उनकै नेतृत्वमा स्वास्थ्य शिविरहरु चलाउँछन् । उपमेयर चिकित्सक बिरामी हेरेको पैसा पनि लिदिनन्, गत वर्षमात्रै आफूले पाठेघर खसेको १८ वटा अप्रेसन निःशुल्क गरेको उनले सुनाइन् ।

‘अब मेरो सीप जनताको हो, सबैको लागि मैले त गर्नैपर्छ,’ उनी भन्छिन्, ‘म कसैबाट चार्ज लिन्न, निःशुल्क स्वास्थ्य जाँच गरिदिन्छु ।’ डा. नमिता भविष्यमा पनि चिकित्सा पेशालाई पनि सँगसँगै लिएर राजनीतिमा अझै अगाडि बढ्ने योजनामा छिन् । नीति निर्माण तहमा पुगेर जनताको धरातलीय यथार्थसँग सुहाउँदो नीति निर्माणमा टेवा पु¥याउने उनको चाहना छ ।

‘बीचमा ८–९ महिनामा काम नगरेपछि सबैले काममा फर्किन आग्रह गरे । वुद्धिजीविहरु, सिरहाका जनताहरुले पनि  फर्किन आग्रह गर्नुभयो,’ उनले थपिन्, ‘अहिले चिकित्सकका रुपमा र उपमेयरका रुपमा दुवै तरिकाले जनताको सेवा गर्न पाउँदा राम्रै भैरहेको छ ।’ यसले आफूलाई राजनीतिसँगसँगै अप्रेसन गर्न सकिएकाले प्रयाक्टिस पनि चलिरहेको उनले बताइन् । ‘उहाँहरु पनि खुशी हुनुहुन्छ । र, मलाई पनि राति मिठो निन्द्रा लाग्छ,’ उनले कुराको बिट मार्दै भनिन् ।


क्याटेगोरी : प्रदेश २, प्रोफाइल, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)