विराटनगर—विराटनगर–९ मा रहेको श्री हस्पिटलमा घर बहालसम्बन्धी विवाद चुलिँदै गएको छ । शुक्रबार भाडा नबुझाएको भन्दै घरधनी सुष्मा सिंहले अस्पतालको मुख्य भवनमा ताला लगाएकी छन् ।
अस्पताल सञ्चालक भने आफूहरुले सम्झौताभन्दा पनि बढी रकम बुझाइसकेको दाबी गर्दै आएका छन् । अस्पताल सञ्चालक र घरधनीबीच पछिल्लो एक वर्षदेखि चलिरहेको विवाद शुक्रबार चरम बिन्दुमा पुग्यो, जब घरधनी सिंहले अस्पतालको मुख्य प्रवेशद्वारमा ताला लगाइन् ।
उनका अनुसार पछिल्लो पाँच महिनाको ९ लाख रुपैयाँ बराबरको भाडा नपाएको कारण आफू बाध्य भएर यस्तो कदम चाल्नुपरेको हो ।
श्री हस्पिटल २०७८ सालदेखि सुष्मा सिंहको घरमा मासिक २ लाख २५ हजार रुपैयाँ तिर्ने शर्तमा सञ्चालनमा आएको हो । यसअघि सो घरमा औषधि व्यवसायी राजेश अग्रवालको समूहले पनि अस्पताल सञ्चालन गरेको थियो । घरका पूर्वमालिक रामप्रसाद मेहताको निधनपछि सम्पत्ति उनकी श्रीमती सुष्मा सिंहको नाममा आएको थियो ।
सञ्चालक सुनिलकुमार यादवले सिंहसँग घर बहाल सम्झौता नवीकरण गर्दै अस्पताल सञ्चालन गर्दै आएका थिए । तर, पछिल्लो समयमा भाडा बुझाउने प्रक्रिया अव्यवस्थित भएको र सम्झौताको पालना नभएको घरधनीको आरोप छ ।
घरधनी सुष्मा सिंहले पटक–पटक भाडा माग्दा नपाएपछि विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायिक समितिमा उजुरी दिएकी थिइन् । समितिले हस्पिटल सञ्चालक यादवलाई तोकिएको भाडा रकम बुझाउन निर्णय पनि गरेको थियो ।
यसो हुँदाहुँदै पनि यादवले सिंहलाई १० लाख रुपैयाँ र अर्का पूर्व साझेदार अशोक यादवलाई १३ लाख रुपैयाँको चेक दिएका थिए । तर, दुवै चेक बाउन्स भएपछि प्रहरीले सुनिल यादवलाई बैंकिङ कसुरअन्तर्गत १ असारमा पक्राउ गरेको थियो ।
पक्राउपछि यादवले सुष्मा सिंहलाई १५ लाख रुपैयाँ बुझाएपछि केही दिनअघि प्रहरी हिरासतबाट रिहा भएका थिए । यद्यपि, पछिल्लो पाँच महिनाको भाडा भने अझै बाँकी रहेको घरधनीको भनाइ छ ।
घरधनीले यादवविरुद्ध महानगरपालिकाको न्यायिक समितिमा पुनः उजुरी दिइन् । न्यायिक समितिले २२ बैशाखमा घरधनीको पक्षमा निर्णय गरेको थियो । त्यसपछि हस्पिटल संचालक न्यायिक समितिले गरेको निर्णय विरुद्धमा जिल्ला अदालत गएको छ । यो मुद्दा अहिले अदालतमा विचाराधीन छ । महानगरपालिकाले समेत बिहीबार अस्पतालको मूल प्रवेशद्वारमा ‘घर खाली गर्नु’ भन्ने सूचना टाँसेको थियो । तर, अस्पताल पक्षले यसलाई बेवास्ता गरेपछि सुष्मा सिंहले शुक्रबार अस्पतालमा ताला लगाएकी हुन् ।
सम्झौताभन्दा बढी भाडा बुझाएका छौं
विवाद चुलिएपछि अस्पताल प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफूहरुले घरधनीलाई सम्झौतामा भएको भन्दा बढी रकम बुझाइसकेको दाबी गरेको छ । श्री हस्पिटलका अध्यक्ष सुनिल कुमार यादवका अनुसार साउन २०८१ देखि जेठ २०८२ सम्म ११ महिनामा ५१ लाख ७५ हजार रुपैयाँ अस्पताल सञ्चालन खर्च तथा भाडाको रूपमा तिरेको दाबी छ ।
उनका अनुसार मासिक २ लाख २५ हजार रुपैयाँका दरले २५ शैय्याको अस्पतालको भाडा रहेपनि भवनको मर्मत तथा पूर्वाधार सुधारमा मात्रै १९ लाख २४ हजार ३६५ रुपैयाँ खर्च गरिएको छ ।
‘हामीले मर्मत सम्भार खर्चसमेत समेटेर हेर्दा अहिलेसम्म घरधनीलाई करिब २१ लाख रुपैयाँ बढी रकम तिरिसकेका छौं । फेरि पनि हामीलाई अन्यायपूर्वक दबाब दिइएको छ,’ उनले भने ।
अस्पताल सञ्चालक यादवले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको र कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । अर्कोतर्फ, घरधनी सिंहले भने कानुनले दिएको अधिकारअनुसार आफूले अस्पतालमा ताला लगाएको बताइन् ।