२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशविहेकै कारण कोभिड–१९ संक्रमण बढ्दो

विहेकै कारण कोभिड–१९ संक्रमण बढ्दो


चरिकोट–दोलखा भीमेश्वर नगरपालिकाका एक युवकको विवाह गरेको २२ दिनपछि कोभिड–१९ संक्रमणका कारण मृत्यु भयो । भीमेश्वर नगरपालिका–८ बोचमा १७ बैशाखमा विवाह गरेका ती युवकमा केही दिनपछि नै कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
उनको विवाहमा सहभागी अन्यलाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीमा पनि विवाहमा सहभागी एक जनाको मृत्यु भएको छ भने २१ जना संक्रमित भएका छन् । विवाहमा सहभागी ३३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताए ।

दोलखाकै कालिञ्चोक गाँउपालिका–२ बाबरे र ५ लापिलाङमा पनि विवाहमा सहभागी भएका ६० भन्दा बढीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उक्त गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठकाअनुसार लापिलाङमा भीमेश्वर नगरपालिका–१ को सुष्पाक्षमावतीबाट २४ बैशाखमा विवाह लगिएको थियो । लापिलाङ र बाबरेमा २४ र २५ बैशाखमा भएको विवाहका सहभागीहरु मध्येका ६० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाइ छ ।

तामाकोसी गाँउपालिका–५ सहरेमा एक सय चार जना कोभिड–१९ संक्रमित भएका छन् । मेलुङ–१ पवटी र वडा नम्बर ७ मेलुङमा मात्र ३२ जनाभन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी जिरी नगरपालिका–६ यार्सामा ३१ जना, बैतेश्वर गाँउपालिका–८ क्षेत्रपामा ५९ जना, गौरीशङ्कर गाँउपालिका– १ र २ जुँगुमा २८ जना संक्रमित भएका छन् ।

त्यस्तै भीमेश्वर नगरपालिका–४ स्थित सर्व मावि जिलुको भवन निर्माणका मजदुरहरु ४८ जना संक्रमित भएका छन् । उनीहरु भवन निर्माणको लागि एकै स्थानमा बस्दै आएका थिए ।

जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहाल ठूलो समूहमा संक्रमित देखिएको ठाउँमा संक्रमणको मुख्य कारण मानिसहरुको भीड हुने विवाह, पूजा, घेवा, खेलकुद जस्ता कार्यक्रमनै हुने गरेको बताउँछन् ।

स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्कअनुसार हालसम्म जिल्लामा कोभिड–१९ को दोस्रो भेरियन्टबाट ११ सय १३ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुने अधिकांशले आफूहरु विवाह, पूजा, खेलकुद, व्रतबन्ध, घेवाजस्ता कार्यक्रममा सहभागी भएको जानकारी दिएका छन् । दोलखामा संक्रमण फैलनुको मुख्य कारण मानिसहरुको जमघट हुने कार्यक्रमनै देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेल बताउँछन् । जिल्लामा अहिले पनि कोभिड–१९ को दोस्रो भेरियन्टका कारण सात सय ८८ जना संक्रिय संक्रमित रहेका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जिल्लामा काठमाडौंमा लकडाउन भएको एक हप्तापछि अर्थात २३ बैशाखबाट मात्र लकडाउन गरिएकोले राजधानीलगायतका ठाँउबाट धेरै मानिस घर फर्किएको र उनीहरु घरमा सुरक्षित नबसिदिएको कारण संक्रमण धेरै फैलिएको बताउँछन् ।

दोलखामा लकडाउनपछि पनि बैशाख महिनाभरी स्वास्थ्य सुरक्षा पालना गरेर विवाह, व्रतबन्ध, घेवा जस्ता सामाजिक कार्य गर्न छुट दिइएकोले पनि संक्रमण धेरै फैलन गएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । १ जेठबाट भने काठमाडौंबाट आउनेहरुलाई पनि अनिवार्य क्वारेन्टिनमा राखिएको र विवाह, व्रतबन्ध, घेवाजस्ता सामाजिक कार्यक्रमहरु समेत पूर्ण रुपमा बन्द गरिएकोले संक्रमण दर घट्दै गएको घिमिरेको भनाइ छ । अहिले देखिएका अधिकांश संक्रमितहरु १ जेठ अघिनै संक्रमित भैसकेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ