चरिकोट—दोलखा अस्पताल (धुलिखेल अस्पताल)ले गर्भवती तथा सुत्केरी महिलाको लागि छुट्टै भवन निर्माण गरेको छ । अस्पतालले बालबालिकाको लागि पनि छुट्टै भवनमा विशेष सेवा सुरु गरेको छ ।
भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा रहेको दोलखा धुलिखेल अस्पतालमा मदर एण्ड चाइल्ड अस्पताल भवन निर्माण भएपछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु भएको अस्पतालका प्रशासन प्रमुख श्याम बुढाथोकीले बताए । रोटरी इन्टरनेसनल अस्ट्रेलिया र धुलिखेल अस्पतालको सहयोगमा भवन निर्माण भएको दोलखा अस्पताल (धुलिखेल अस्पताल)ले जनाएको छ ।
नवनिर्मित अस्पताल भवनको उद्घाटन भीमेश्वर नगरपालिका नगरप्रमुख ईण्श्वरनारायण मानन्धरले गरेका थिए । सो अवसरमा नगरप्रमुख मानन्धरले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा भौतिक, प्राविधिक र जनशक्तिको विकास भएपनि गाउँ, सहर सबैतिर जनसंख्या घट्दै गएको र युवाहरु विदेश पलायनको क्रम बढ्दै गएकोले सेवा उपभोग गर्ने मानिसको अभाव हुने खतरा देखिएको बताए । सेवा सुविधासहित जनसंख्या वृद्धि र युवा जनशक्तिलाई आफ्नै देशमा रहने वातावरण निर्माण गर्नेमा ध्यान दिनुपर्ने नगरप्रमुख मानन्धरको भनाइ छ ।
भवन निर्माणका सहयोगी अस्ट्रेलियाका डा. रे हटसनले आफ्नो पहलमा स्वास्थ्य लगायतको क्षेत्रमा धेरै ठाउँमा सहयोग गरिएको भएपनि आफूलाई दोलखा अस्पतालमा गरिएको सहयोगले सबैभन्दा बढी सन्तुष्टि मिलेको बताए । उनले भने, ‘दोलखा अस्पतालले भवन निर्माण भएपछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु गरेर सकारात्मक काम गरेको छ । ग्रामीण भेगका महिला र बालबालिकाको स्वास्थ्य सेवाको लागि महत्वपूर्ण छ, त्यसैले म सबैभन्दा बढी सन्तुष्ट छु ।’
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुको अध्यक्षतामा सम्पन्न अस्पताल भवन उद्घाटन कार्यक्रममा रोटरी क्लव नेपाल– भुटानका पूर्व गभर्नर विष्णुबहादुर कार्की, रोटरी क्लव अस्ट्रेलियाका पूर्व गभर्नर डेविट, दोलखा अस्पतालका डा. अञ्जना डङ्गोललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दोलखा अस्पतालमा मासिक ४०/५० जना गर्भवती तथा सुत्केरी महिलाहरु सेवाको लागि आउने गरेको अस्पतालका प्रशासन प्रमुख बुढाथोकीले बताए । स्वास्थ्य सेवाको लागि आउने बालबालिकाको संख्या पनि उल्लेख्य रहेको बुढाथोकीले बताए । छुट्टै मदर एण्ड चाइल्ड अस्पताल भवन निर्माण भएपछि सेवा लिन आउने गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको संख्या अझ बढ्ने बुढाथोकीले जानकारी दिए ।