चरिकोट—पशुपति चौलागाई स्मृति अस्पतालले आर्थिक अभावकै बीचमा सेवालाई निरन्तरता दिइरहेको छ । सदरमुकाम चरिकोटमा सञ्चालित पशुपति चौलागाई स्मृति अस्पतालमा न्यून आन्तरिक स्रोत भएको अस्पतालमा लामो समयदेखि स्वास्थ्य बीमा बापतको रकम प्राप्त नभएको र सरकारले पठाउनुपर्ने निःशुल्क औषधी समेत उपलब्ध हुन नसक्दा अस्पतालले ठूलै आर्थिक अभाव झेलिरहेको छ ।
‘अस्पतालको बारेमा केही गुनासो सुनिएको छ,’ अस्पताल सञ्चालक समिति अध्यक्ष सुवास रिमालको भनाइ छ । अध्यक्ष रिमालले थपे, ‘सामाजिक सञ्जालमा आएजस्तो सबै कुरा ठप्प होइन् । तर, आर्थिक अभावका कारण स्वास्थ्य बीमा गरिएका बिरामीहरुलाई आवश्यक सबै प्रकारका औषधी भने उपलब्ध गराउन सकिएको छैन ।’
अस्पतालले उपलब्ध गराउने अन्य सबै प्रकारका सेवामा भने निरन्तरता रहेको रिमालले बताए । अस्पतालको तथ्याङकमा स्वास्थ्य बीमा बोर्डले १५ महिना अघिदेखि स्वास्थ्य बीमा बापतको ८४ लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी देखिन्छ । केही समयअघि बोर्डले १० हजार भुक्तानी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले गत वर्ष ४० लाखको औषधी खरिद गरेको तर यो वर्ष आर्थिक अभावकै कारण औषधी खरिद गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेट (मेसु) डा. लक्ष्मण खड्काले जानकारी दिए । ‘त्यसैले विगत छ महिनादेखि स्वास्थ्य बीमा भएका बिरामीहरुलाई सबै प्रकारको औषधी उपलब्ध गराउन सकिएको छैन्,’ मेसु डा. खड्काले भने ।
उनले बीमा बापतको रकम प्राप्त भएपछि औषधि खरिद गर्ने तयारीमा रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष रिमालले बताए । ‘तर, बीमा बोर्डले त ८४ लाख पठाउनुपर्नेमा १० हजार पो पठायो,’ उनले भने ।
अस्पतालको वार्षिक आन्तरिक स्रोत लगभग तीन करोड हुने तर त्यो रकम बिजुली शुल्क, कर्मचारी तलब लगायतमै खर्च गर्नुपर्ने अस्पताल स्रोतको भनाइ छ । अझ सरकारले निःशुल्क उपलब्ध गराउने आइरन, भिटामिन के, भिटामिन बी, कम्प्लेक्स, सिरिन्ज, ग्लोभसजस्ता ३२ प्रकारका औषधीमा कतिपय अतिआवश्यक औषधीसमेत प्राप्त हुन नसक्दा अस्पतालले थप सङ्कट ब्यहोर्नु परेको स्रोतको भनाइ छ ।
आवश्यक निःशुल्क औषधीका लागि पटक– पटक माग फारम भरेर पठाएको भएपनि सरकारले ती औषधीहरु उपलब्ध गराउन नसकेको सञ्चालक समिति अध्यक्ष रिमालले बताए ।
सङ्कटका बाबजुद अस्पतालले ओपिडीको अलावा एक्स– रे, भिडियो एक्स– रे, इसिजी, नर्मल डेलिभरी, सिएस डेलिभरी, दन्त सेवा, ओसिएमसी सेवा, खोप सेवा, परिवार नियोजन सेवा, जटिल शल्यक्रिया, अर्भवती जाँच, सुरक्षित गर्भपतन, हाडर्जोनी सेवा, डायलाइसिस सेवा, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोगलगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । यी सेवाहरुमा केही निःशुल्क र केही कम शुल्कमा सेवा उपलब्ध गराउँदैं आएको अस्पतालका मेसु डा. खड्काले बताए ।
मासिक सरदर छ हजार बिरामीले सेवा लिने पशुपति चौलागाई स्मृति अस्पतालमा एमडिजिपी, सर्जन र एमबीबीएस गरी १९ जना डाक्टर र ५१ बेड रहेको छ । अस्पतालबाट १२ सय जना स्वास्थ्य बीमामा आवद्ध बिरामीले सेवा लिदैं आएको र सात जनाले डायइलासिस सेवा लिने गरेको मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए । भर्ना हुने बिरामीहरुलाई अस्पतालले निःशुल्क बेड र खानाको व्यवस्था गरेको छ ।