२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुरक्षण उपकरण नहुँदा कोरोना संक्रमण पूर्वतयारी फितलो

सुरक्षण उपकरण नहुँदा कोरोना संक्रमण पूर्वतयारी फितलो


बुटवल—प्रदेश ५ मा स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण नहुँदा पूर्व तयारी फितलो बनेको पाइएको छ । सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकदेखि सामान्य कर्मचारीलाई आवश्यक सुरक्षण उपकरण नहुँदा सेवा प्रवाह फितलो बनेको हो । अधिकांश स्वास्थ्यकर्मीले मेडिकल मास्कसमेत पाउन सकेका छन् ।

सामान्य सुरक्षण नहुँदा स्वास्थ्यकर्मीले बिरामीलाई राम्ररी नहेरेको गुनासो छ । बिरामीलाई एउटा अस्पतालहरुले अर्को अस्पतालमा रेफर गर्ने क्रम बढेको छ । सरकारी स्वास्थ्य चौकीदेखि ठूला अस्पतालले समेत आवश्यक सुरक्षण उपकरणको जोहो गर्न सकेका छन् । क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेयले खरिद गर्न चाहे पनि त्यस्ता उपकरणहरु प्राप्त गर्न नसकिएको बताए । सरकारले कोरोनाको उपचारका लागि भनेर तोकेका अस्पतालमा समेत पर्याप्त सुरक्षण उपकरणको व्यवस्था छैन ।

केही हप्ताभित्रै ३ सय ७० बेडसहित आइसोलेसन कक्ष तथा अस्पतालहरु सञ्चालनमा ल्याउने तयारीमा रहेको प्रदेश सरकारसँग जम्मा २५ वटा मात्रै व्यक्तिगत सुरक्षण उपकरण अर्थात् पीपीई छन् । मन्त्रालयका अनुसार प्रदेश सरकारले तयार गरेको आइसोलेसन बेडहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ५ सय वटा पीपीईको आवश्यक पर्छ ।

प्रदेश सरकारले हालसम्म १९ वटा निजी र सरकारी अस्पताल गरेर १ सय १० वटा आइसोलेसन बेडहरु तयारी अवस्थामा राखेको छ । तीबाहेक रुपन्देहीको भीम अस्पतालमा ५ आईसीयुसहितको ३० बेड, दाङको बेलझुण्डीको आयुर्वेदिक अस्पतालमा एक सय बेड, बाँकेको सुशील कोइराला क्यान्सर हस्पिटलमा ३० बेडको तयारी थालेको छ । भीम अस्पतालमा आइसोलेसन बेडहरु सञ्चालनको प्रक्रियामा रहेका छन् । बुटवल उप—महानगरपालिकाको समन्वयमा बुटवलकै धागो कारखानामा सय बेडको कोरोना (विशेष) अस्थायी अस्पताल निर्माण गरिएको छ ।

स्वास्थ्य निर्देशनालय रुपन्देहीका प्रवक्ता रोशनलाल चौधरीका अनुसार तयार रहेका आइसोलेसन कक्षमा एक सिफ्टमा कम्तीमा दुई–दुई जनाको दरले मेडिकल अफिसर, स्टाफ नर्स, वार्ड ऐटेन्डेन्ट र सरसफाई गर्ने कर्मचारी रहने छन् । त्यस्तै आईसीयुमा प्रति कक्ष एक सिफ्टमा एक कन्सल्टेन्ट चिकित्सक, दुई जना मेडिकल अफिसर, दुई जना स्टाफ नर्स, एक जना वार्ड एटेन्डेन्ट र सरसफाई गर्ने कर्मचारी एक जना रहने छन् । यसरी हेर्दा हालसम्म तयार रहेका आईसोलेसन कक्षामा एक हजारभन्दा धरै स्वास्थ्यकर्मी तथा प्राविधिक टोली खटिनुपर्ने देखिन्छ ।

तर, सरकारसँग रहेको २५ वटा पीपीईले चिकित्सकहरुको सुरक्षामा नै चुनौती देखिने निश्चित छ । सरकारसँग रहेका पीपीईमा २५ वटा इन्फ्रारेड थर्मोगन (ज्वरो नाप्ने मेसिन), १ हजार पञ्जा, ४० वटा एन–९५ मास्क र २ वटा मात्रै भाइरस ट्रान्सपोर्ट मिडियम अर्थात् भाइरसलाई ल्यावसम्म पु¥याउने माध्यम रहेको छ ।

हाललाई उपकरहणहरुको कमी देखिएको भएपनि उपकरणको जोहोमा सरकार जुटिरहेको स्वास्थ्य निर्देशनालयको तर्क छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र आवश्यक उपकरणहरुको जोहो गरिरहेको बताउँदैं चौधरीले कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश सरकारको योजना सक्षम रहेको बताउँछ । ‘हामीसँग उपकरणहरु निकै कम छन् । तर, अहिले कोरोना संक्रमित पनि देखिएका पनि छैनन्,’ उनी भन्छन्, ‘संक्रमित भेटिनुभन्दा अगावै उपकरणहरुको व्यवस्थापन भइसकेको हुनेछ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ